फक्स न्युजकी रेचल डफीको प्रश्नमा ट्रम्पले एप्स्टिन फाइल सार्वजनिक गर्ने वाचा गरे पनि अहिले त्यस्तो कुनै फाइल नभएको बताउन थालेका छन् । यौन दुराचारमा संलग्न एप्स्टिनका ग्राहकको सूचीमा ट्रम्पकै नाम पनि समावेश रहेको आकलन गरिएको छ । के हो एप्स्टिन फाइल विवाद ? जान्नुहोस् विस्तृतमा ।
What you should know
काठमाडौँ — सन् २०२४ मा चुनावको तयारी चलिरहेका बेला फक्स न्युज च्यानलकी रेचल डफीले डोनाल्ड ट्रम्पलाई सोधेकी थिइन्, ‘तपाईंले जित्नुभयो भने एप्स्टिन फाइलहरू सार्वजनिक गरिदिनुहुन्छ त ?’ ट्रम्पले तत्काल उत्तर दिए, ‘पक्कै पनि, सबै सार्वजनिक गरिदिन्छु, मेरो शासनमा लुकाउने काम हुने छैन ।’ त्यस्तो दाबी गरेर निर्वाचित भएका ट्रम्प अहिले ‘मेरो बेइज्जत गर्न ओबामा, हिलारी र अरू डेमोक्र्याटले एप्स्टिन फाइल नामक षड्यन्त्रमूलक फाइलबारे अफवाह फैलाएका हुन्’ भन्न थालेका छन् ।
चुनावअघिसम्म एप्स्टिनको मृत्यु रहस्यमय भएको ट्रम्प बताउँथे । उनी ‘एप्स्टिन आइल्यान्ड’ भनिने टापुमा को-को जान्थे भन्नेबारे सार्वजनिक हुनुपर्ने माग राखेर सञ्चारमाध्यम र सामाजिक सञ्जालको केन्द्रमा रहने गरेका थिए । यसरी आफैँले उचालेको विषय अहिले ट्रम्पका लागि घाँडो बनेको छ । बाल तथा यौन दूराचारको आरोप लागेका जेफ्री एप्स्टिनको रहस्यमयी मृत्यु र उनीसँग उठबस रहेका भनिएका हाई प्रोफाइल व्यक्तिहरूबारेको उत्सुकताले ट्रम्प सरकारका हरेक सार्वजनिक उपस्थितिमा प्रश्न थप्दै लगेको छ ।
ट्रम्प मात्र होइन, एप्स्टिनसँग सम्बन्धित सबै विषयहरू सार्वजनिक हुनुपर्ने अभिव्यक्ति दिँदै आएका उनका उपराष्ट्रपति जेडी भान्स, संघीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक काश पटेल लगायतले पनि एप्स्टिनसँग सम्बन्धित हल्लामा खासै दम नरहेको भन्दै कुरा फेर्न थालेका छन् । यस विवादबाट राष्ट्रपतिलाई सकेसम्म अलग्याउने न्याय मन्त्रालयका प्रयासले भने यस प्रकरणप्रति थप उत्सुकता थप्ने काम गरेको छ ।
विश्वकै धनाढ्य अर्बपति इलन मस्कसँगै उनका कतिपय विवादास्पद मुद्दामा समेत डटेर साथ दिने कट्टरपन्थी टकर कार्लसन, जो रोगन, रब स्नाइडर, क्यान्डस रोवेन्ससँगै सभामुख माइक जोन्सनले एप्स्टिन फाइलसँग सम्बन्धित विषमा ट्रम्प सरकारको रबैयाप्रति आलोचना गरेका छन् । मस्कले त एप्स्टिनको ग्राहक सूचीमा ट्रम्पसमेत हुन सक्ने र त्यही कारण ट्रम्पले सो सार्वजनिक गर्न आनाकानी गरिरहेको व्यहोराका पोस्टहरू सार्वजनिक गरेका छन् ।
अमेरिकी सदनमा एप्स्टिनसम्बन्धी गोप्य राखिएका फाइल सार्वजनिक गर्नुपर्ने माग उत्कर्षमा पुगेको छ । बुधबार मात्रै सांसद्हरूले ‘रुल अफ फाइभ’ भनिने अमेरिकी सदनको दुर्लभै प्रयोग हुने कानुनी प्रावधान प्रयोग गरेर एप्स्टिनसम्बन्धी सबै आपराधिक अनुसन्धानका कागजातहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई बाध्य पारेका थिए । डेमोक्र्याट नेता चक शुमरले एप्स्टिन फाइलका मामिलामा ट्रम्पले पारदर्शी हुने वाचा गरेकोमा त्यो पूरा नभएको भन्दै आलोचना गरेको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ ।
एप्स्टिन फाइलहरू भन्नाले लगानीकर्ता जेफ्री एप्स्टिनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरूको एउटा संग्रह हो । यी फाइलहरूमा उनले कसरी बालिकाहरूलाई दुर्व्यवहार गरे र यसमा अरू को-को संलग्न थिए भन्ने विवरण समावेश रहेको अनुमान गरिएको छ । उनले आफ्ना ग्राहकको सूची बनाएका थिए भन्ने ठानिएको छ । नाबालिगहरूलाई यौन तस्करीमा संलग्न गरेको आरोपमा संघीय अपराधअन्तर्गत सन् २०१९ मा एप्स्टिनलाई पक्राउ गरिएको थियो । उनको सञ्जालमा राजनीतिकर्मी, सेलेब्रेटी, प्राज्ञिक तथा व्यावसायिक नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको मानिनुले यसप्रतिको उत्सुकता सदैव बढाउने गरेको छ ।
पक्राउ परेको एक महिनामै उनी कारागारभित्र मृत भेटिएपछि उनको ‘क्लाइन्ट लिस्ट’ भनिने सम्भावित ग्राहक सूचीको व्यापक चर्चा हुन थाल्यो । सन् २०१५ मा भर्जिनिया जिउफ्रेले एप्स्टिनकी सहयोगी गिलेन म्याक्सवेलविरुद्ध मुद्दा दायर गरेपछि यो फाइलबारे बाक्लै चर्चा हुन थालेको हो । जिउफ्रेले आफू बालिका छँदा एप्स्टिनको यौन तस्करी सञ्जालमा परेको र आफूलाई धनी तथा प्रभावशाली व्यक्तिहरूको ‘सेवामा’ लगाएको आरोप लगाएकी थिइन् । उनले बेलायती राजकुमार प्रिन्स एन्ड्रुलेसमेत आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् । यसपछि एपस्टिनको यौन अपराध र बाल यौन दूराचारजस्ता क्रियाकलापमा को-को सामेल थिए भन्ने अड्कल बढेर गयो ।
ट्रम्पसहित विभिन्न प्रभावशाली व्यक्तिहरूले एप्स्टिनसँग संगत गर्नुका साथै उनको टापुको भ्रमण गरेका तस्बिर, आरोप र अड्कलहरू सार्वजनिक हुँदै आएका छन् । कतिपय पीडित र न्यायिक प्रक्रियामा पेस भएका दस्तावेजहरूका आधारमा ट्रम्पसँगै पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्वउपराष्ट्रपति अल गोर, पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, बेलायती राजकुमार एन्ड्रु, सेलेब्रिटीहरू लियानार्दो डिक्याप्रियो, माइकल ज्याक्सन, क्यामरून डायज, केभिन स्पेसी, चर्चित वैज्ञानिक स्टेफन हकिङ र दर्जनौं व्यापारीहरूको नाम सो सूचीमा रहेको अड्कल गरिएको छ । त्यसमा १ हजारभन्दा धेरै नामहरू रहेको अनुमान गरिएको छ । केही समयअघि मात्रै महान्यायाधिवक्ता पाम बोन्डीले ट्रम्पको नाम सो सूचीमा रहेको जानकारी दिएपछि ट्रम्पले एप्स्टिन फाइल सार्वजनिक गर्न अनिच्छा प्रकट गरेको अमेरिकी सञ्चारमाध्यमहरूको विश्लेषण छ । बोन्डीले फेब्रुअरीमा ‘मेरै टेबलमा छ’ भनेको फाइल अहिले ‘छैन’ भन्ने गरेकी छन् ।
फाइल खोल्ने दबाब बढेपछि आक्रोश र आत्मप्रशंसा मिसाएर ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, ‘अरू कुनै राष्ट्रपतिले अनुभव नगरेको इतिहासकै सबैभन्दा शानदार ६ महिना अहिले बितेका छन् तर यी झुटा खबर दिने मिडियाहरू जेफ्री एप्स्टिनको झुट मात्रै च्यापेर बस्छन् ।’ यस मुद्दाले ट्रम्पको राष्ट्रपति पद ‘निल्न सक्ने’ चरम दक्षिणपन्थी नेता लरा लूमरले चेतावनी नै दिएकी छन् । तर ट्रम्पले यस्तो कुनै फाइल नभएको अडान लिन थालेका छन् । ‘म यसमा त्यति चासो राख्दिनँ, यो विषयमा साह्रै बढाइचढाइ गरिएको छ,’ ट्रम्पले भनेका छन् ।
सन् १९५३ मा न्युयोर्कको एक मध्यमवर्गीय, यहुदी परिवारमा जन्मिएका जेफ्री एडवार्ड एप्स्टिन असाध्यै महत्वाकांक्षी थिए । विद्यालय शिक्षापछि न्युयोर्क विश्वविद्यालयमा भर्ना भए पनि उनले पढाइ पूरा गरेनन् । बरु सहरकै एक विद्यालयमा गणित विषय पढाउन थाले । त्यहाँ उनका एक विद्यार्थीका बुबा, अमेरिकी अर्बपति एलेन ग्रिनबर्गसँग एप्स्टिनको चिनजान भयो । ग्रिनबर्ग त्यो बेला चर्चित इन्भेष्टमेन्ट फर्म ‘बियर स्टर्नन्स’ का प्रमुख कार्यकारी अधिकृत भएकाले एप्स्टिनलाई जागिर दिए । एप्स्टिनले त्यहाँ छँदा धनाढ्यहरूको सोच र पैसा कमाउने तरिकाबारे बुझेपछि सन् १९८१ मा आफ्नै लगानीमा फर्म खोले ।
एप्स्टिनको फर्मले अर्बपतिलाई मात्रै सेवा दिने रणनीति लिएको थियो । उनी अर्बपतिहरूका वित्तीय सल्लाहकार बने । तर, उनका ग्राहक को, को थिए भन्ने गोप्य रह्यो । सन् १९९० को दशकमा उनीसँग कयौँ निजी विमान, पानी जहाज र अनेकौँ विलासी साधान थिए । उनले अमेरिकी भर्जिन आइल्यान्डमा ‘लिटल सेन्ट जेम्स’ नामक आफ्नै रिसोर्ट पनि खोले । यसै रिसोर्टबाट उनले नाबालिग बालिकाहरूको शोषण र तस्करी सुरु गरेको बताइन्छ । त्यही समय उनको भेट बेलायती मिडिया उद्यमी रोबर्ट म्याक्सवेलकी छोरी गिलेन म्याक्सवेलसँग भएको मानिन्छ । गिलेन असाध्यै टाठी भएकाले दुई मिलेर थप योजनाबद्ध ढंगले बालिकाहरूलाई ‘ग्रुमिङ’ गर्दै रिसोर्टमा लगेर मसाजको नाममा उनीहरूको शोषण गर्ने व्यवसाय अघि बढाएको मानिन्छ ।
एप्स्टिन सामाजिक सम्बन्धहरू मजबुत बनाउन आफ्ना पाहुनाहरूका लागि ठूल्ठूला पार्टी आयोजना गर्थे । त्यसका लागि आफ्नो निजी जेट, जसलाई ‘लोलिता एक्सप्रेस’ भनिन्थ्यो, त्यसमा पाहुनाहरूलाई ल्याउने-पुर्याउने गर्थे । न्युयोर्क, पाम बिच तथा अमेरिकी भर्जिन आइल्यान्डस्थित घरहरूमा पाहुनाको सत्कार गर्थे ।
सन् २००५ मा फ्लोरिडाको पाम बिचकी १४ वर्षीया एक किशोरीले एप्स्टिनविरुद्ध प्रहरीमा उजुरी दिएपछि एप्स्टिनमाथिको लामो कानुनी लडाइँ सुरू भएको थियो । एप्स्टिनले 'सेक्सको बदलामा पैसा लिएको' भन्दै ती बालिकाले आरोप लगाएकी थिइन् । उनीमाथि प्रहरीले अनुसन्धान सुरु गर्यो, उनी पक्राउ परे । त्यो बेला उनले १३ महिना जेलमा बिताए । पछि त्यो मुद्दा दर्जनौं पीडितहरूसम्म फैलियो । तर, २००८ मा एप्स्टिनले विवादास्पद सम्झौतामार्फत सजाय घटाए । आफ्नो राजनीतिक पहुँच प्रयोग गर्दै उनले काममा फर्कने छुट पाए भने संघीय अभियोगबाट समेत जोगिए । उक्त सम्झौता त्यतिबेला अमेरिकी महान्यायाधिवक्ता रहेका अलेकजेन्डर एकोस्टाले गरेका थिए ।
उनीमाथिका यौन दुराचार र यौन तस्करीका आरोप र उजुरी नरोकिएपछि सन् २०१९ को जुलाईमा एप्स्टिन फेरि पक्राउ परे । यसपटक उनलाई धरौटीको सुविधा नदिई जेलमा राखियो । त्यसको एक महिनापछि शंकास्पद अवस्थामा मृत फेला परे । उनले झुन्डिएर आत्महत्या गरेको भनिए पनि बिग्रिएका क्यामेरा, झुटा रेकर्ड, हराएका सुरक्षागार्डजस्ता कारणहरूले धेरै शंका उत्पन्न गर्यो । तत्कालीन अमेरिकी न्यायमन्त्री विलियम बारले यसलाई ‘गल्तीहरूले भरिएको आँधी’ भन्ने टिप्पणी गरेका थिए ।
एप्स्टिनको मृत्युपछि अनुसन्धानकर्ताहरूको ध्यान उनकी सहयोगी र साझेदार मानिएकी गिस्लेन म्याक्सवेलतर्फ गयो । उनलाई सन् २०२० मा पक्राउ गरियो र सन् २०२१ मा नाबालिग केटीहरूलाई एप्स्टिन र उनका पाहुनाहरूका लागि तयार पार्ने अभियोगमा दोषी ठहर गरियो । अहिले उनी २० वर्षको जेल सजाय भोगिरहेकी छिन् । गत हप्ता मात्र उनले न्याय मन्त्रालयका विभिन्न अधिकारीहरूसँग भेटेको र झन्डै १०० जना व्यक्तिहरूबारे जवाफ दिएको उनका वकिलले दाबी गरेका छन् ।
एप्स्टिनसँग जोडिएका हल्ला साधारण राजनीतिक र कानुनी दाउपेच वरिपरि मात्रै सीमित छैनन् । कतिपयले उनलाई इजरायली जासुसी संस्था, मोसादको एजेन्ट भएको शंका गर्ने गरेका छन् । पहिले सामाजिक सञ्जालमा मात्रै सीमित हल्लालाई दक्षिणपन्थी मिडियाकर्मी टकर कार्लसनले दुई साताअघि प्रसारित आफ्नो कार्यक्रममा एप्स्टिनजस्तो अति साधारण व्यक्ति एक्कासि त्यतिको शक्तिशाली हुनै नसक्ने टिप्पणी गरे । ‘सन् १९७० को दशकसम्म कुनै कलेज डिग्रीबेगर, एक साधारण गणित शिक्षक रहेको व्यक्ति कसरी एकाएक कयौँ व्यक्तिगत हवाई जहाज, पानीजहाज, आफ्नै टापुसमेत किन्न सफल भयो ? कसरी न्युयोर्कको म्यानह्याटनमा सबैभन्दा ठूलो निवासको मालिक बन्यो ? ऊसँग यत्तिका सम्पत्ति आयो कसरी ?’
कार्लसनले आफ्ना प्रश्नहरू यहुदीविरूद्ध नरहेको र जवाफदेहिताका लागि महत्त्वपूर्ण रहेको स्पष्ट पारेका छन् । एप्स्टिनको यस्तो अनपेक्षित प्रगति र शक्तिका पछि सम्भवतः अदृ्श्य शक्ति, मोसाद वा इजरायलको हात रहेको हुन सक्ने उनले संकेत गरेका थिए । तर, इजरायली पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले जेफ्री इजरायलका लागि जासुसको काम गर्ने कुरा अफवाह मात्रै भएको प्रतिक्रिया दिएका छन् । यो इजरायलप्रति अमेरिकी मिडियाले प्रचार गरेको झुट र बदनामीको श्रृंखला भएको उनको दाबी छ ।
कतिपय मानिसहरू इजरायलले विश्वका विभिन्न शक्तिशाली र धनाढ्य व्यक्तिहरूलाई धम्क्याउन एप्स्टिनको प्रयोग गरेको हुन सक्ने आकलन गर्छन् । सन् २००८ मा दुराचारको आरोप लागिसकेका बेला एप्स्टिनको जहाजमा बसेर तत्कालीन इजरायली प्रधानमन्त्री इहुद बाराकले उनको निवास र रिसोर्टहरू भ्रमण गरेका थिए । सन् २०१९ मा एप्स्टिनको मृत्युपछि लेखिएको ‘डेड मेन टेल नो टेल्स’ नामक पुस्तकमा पनि आफूलाई पूर्वइजरायली जासुसी कर्मचारी बताउने अरि बेन मेन्सले एप्स्टिनले इजरायली जासुसी संस्थाका लागि काम गरेको दाबी गरेका छन् ।
वर्षौँसम्म खुला रूपमा एप्स्टिनसँगै पार्टी र सार्वजनिक समारोहहरूमा देखिएका र एप्स्टिनको प्रसंशा गर्न भ्याएका ट्रम्पले जति पन्छाउन खोजे पनि यो विवाद तत्काल समाधान हुने देखिँदैन । वालस्ट्रिट जर्नल, न्युयोर्क टाइम्स, टाइम, पोलिटिको लगायत सञ्चारमाध्यमले यी दुईबीचको मित्रताका बारेमा एकपछि अर्को समाचार प्रकाशित गर्दै आएका छन् । यसले गर्दा ट्रम्प दबाबमा परेको कुरा, ट्रुथ सोसलमा पोस्ट हुने उनका प्रतिक्रियाले पनि देखाउँछन् ।
यो विवादलाई चर्काउने अर्का पात्र धनाढ्य इलन मस्क पनि हुन् । केही अघिमात्रै ट्रम्पका बेस्ट फ्रेन्ड बनेर सरकार चलाउने गरेका मस्क ह्वाइट हाउसबाट बाहिरिनु परेपछि ट्रम्प एप्स्टिनको सूचीमा भएको भन्दै सो सार्वजनिक हुनुपर्ने दबाब बढाइरहेका छन् । पछिल्ला दिनमा अलिक शान्त बसे पनि बेलाबखत मस्कले आफ्नो सामाजिक सञ्जाल, एक्समार्फत ट्रम्प पारदर्शी नभएको र आफ्नो वाचा पूरा नगरेको भन्दै उक्त विवादलाई उछाल्ने गरेका छन् । डेमोक्र्याटिक पार्टीका बर्नी स्यान्डर्स, अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, चक सुमर, ग्यारी पिटर्स, रिचर्ड ब्लमेन्थल, समर ली, ग्याभिन न्युसमले एप्स्टिन फाइलबारेमा ट्रम्प र न्याय मन्त्रालयको रवैयाको आलोचना गर्दै सोसम्बन्धी फाइलहरू सार्वजनिक हुनुपर्ने माग गर्दै आएका छन् ।
रिपबलिकन पार्टीका न्यान्सी मेस, स्कट पेरी, ब्रायन ज्याक, जेम्स कोमर, मर्जरी टेलर ग्रीनजस्ता नेताले पनि एप्स्टिन प्रकरणमा थप पारदर्शिता माग गर्दै ट्रम्पको आलोचना गरेका छन् । यसअघि संसद्मा विभिन्न समयमा ट्रम्पलाई एप्स्टिन प्रकरणमा उद्धार गरेका सभामुख जोनसनले समेत दुवै दलबाट बढ्दो दबाबीच यस प्रकरणसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक हुनुपर्नेतिर ढल्किन थालेका छन् ।
स्कटल्यान्डमा समेत एप्स्टिनसम्बन्धी प्रश्नले घेरिएका ट्रम्प आफ्ना परस्पर विरोधी भनाई र दाबीहरू जारी राखेका छन् । एप्स्टिनले आफ्नो होटेल र स्पाका कर्मचारीहरू चोरेर लगेको ट्रम्पको आरोप छ । सन् २०२० मा भने ट्रम्पले मायामी हेराल्डलाई दिएको अन्तर्वार्तामा एप्स्टिनले आफ्नो रिसोर्ट मार-ए-लागोमा एक ग्राहककी किशोर छोरीसँग अभद्र व्यवहार गरेपछि प्रतिबन्धित गर्नुपरेको दाबी गरेका थिए । ट्रम्पका पछिल्ला ढुलमुले जवाफले उनका विरोधी र आलोचक मात्र नभएर उनका ठूला समर्थकहरूलाई समेत आश्वस्त पार्न सकिरहेको छैन ।
सन् १९९८ मा आफ्नै कार्यालयमा कार्यरत मोनिका लेविन्स्कीसँग अनैतिक सम्बन्ध सार्वजनिक भएपछि तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले ठूलो दबाबबीच कानुनी र संसदीय अभियोजन झेल्नुपरेको थियो । क्लिन्टनलाई संसद्को तल्लो सदनले महाभियोग लगाए पनि माथिल्लो सदनमा दुई तिहाई पुग्न नसक्दा उनको पद जोगिएको थियो । सामाजिक सञ्जाल र इन्टरनेटको बोलवाला नरहेको र सहमतिमा सम्बन्ध भएका कारण क्लिन्टनको राजनीतिक करियर जोगिएको थियो । अहिले एप्स्टिन फाइलमा भने ट्रम्पको संलग्नता प्रमाणित भएमा आपराधिक अनुसन्धानतर्फ मोडिने देखिन्छ । रिपब्लिकनको बाहुल्य रहेका संसद्का दुवै
सदनबाट ट्रम्पलाई महाभियोग लगाउन र हटाउन सजिलो छैन तर यो प्रकरणले उनका यसअघि नै जारी रहेका अनेकौँ राजनीतिक र नैतिक प्रकृतिका कानुनी मुद्दाको सूचीमा अझै अप्ठ्यारो थपिने विश्लेषण भइरहेको छ ।
२०२१ को जनवरी ५ मा ट्रम्पलाई राष्ट्रपति बनाउनुपर्ने माग गर्दै अमेरिकाको संसद् भवन नै तोडफोड गर्न पुगेका र कतिपय अमेरिकी राष्ट्रपतिका कट्टर समर्थकहरूबीच पनि यस प्रकरणले नैतिक र व्यवहारिक प्रश्न भने थपेको छ । डेमोक्र्याटहरू यो अवसरको उपयोग गर्ने दाउमा देखिन्छन् । आगामी वर्षको नोभेम्बरमा हुने ४६८ अमेरिकी संसद्का दुवै सदनको चुनावमा यो मुद्दा पेचिलो बन्न सक्ने सम्भावना छ । यस कारण सुरूमा ट्रम्पको कट्टर आलोचना गरेका उनका कतिपय समर्थकहरू अहिले आफ्नो आलोचनामा नरम देखिन थालेका छन् । कुनै औपचारिक वा अनौपचारिक माध्यमबाट एप्स्टिनका ग्राहकको सूची बाहिरिने र ट्रम्पको संलग्नता प्रमाणित हुने हो भने उनका समर्थक र कट्टरपन्थी सहकर्मीहरूले उनलाई बिस्तारै छोड्दै जान सक्ने पूर्वसंकेत भने देखिएका छन् ।
यद्यपि, यसअघि नै अश्लील सिनेमाकी कलाकारलाई पैसा दिएको, चुनावलाई प्रभावित पार्ने प्रयास गरेको, संसद् भवनमा दंगा मच्चाएको, अतिगोप्य कागजातहरूमा लापरबाही गरेको, न्युयोर्कमा विभिन्न वित्तीय अपराधमा दोषीसमेत भइसकेका ट्रम्पलाई जस्तोसुकै अवस्थामा समर्थन गर्नेहरूको जमात अमेरिकामा बाक्लो रहेको छ । एप्स्टिन मामिलामा पनि उनका कटु आलोचक रहँदै आएका समर्थकहरूको फेरिएको स्वरले पछिल्लो झमेलामा पनि कट्टरपन्थीहरूको ठूलो जमात उनकै पक्षमा रहने अनुमान पीबीएस र न्युजवीकले गरेका छन् ।
आफ्नो व्यावसायिक र राजनीतिक जीवनमा निरन्तर मिडियाको केन्द्रमा रहन रूचाउने ट्रम्पले सन् ९० को दशकयता पैसा खर्च गरेरै भए पनि म्यागेजिन र मिडियाको कभरमा छाउने रहर पूरा गर्दै आएका थिए । तर, पछिल्लो मिडिया चर्चाबाट भने जति टाढिन खोज्दा पनि एप्स्टिन फाइल र त्यसमा संलग्न व्यक्तिहरूसम्बन्धी कौतुहल झनै बढेको छ ।
ट्रम्पले ‘जाने सौभाग्य नपाएको’ भनेको एप्स्टिन टापुको चर्चा, ट्रम्प र एप्स्टिनका तस्बिर र भिडियोसँगै नयाँ-नयाँ खुलासाले ट्रम्पलाई रन्थन्याएको देख्न सकिन्छ । मार्टिन लुथर किङ, जोन एफ केनेडीजस्ता चर्चित अमेरिकी प्रकरणका विभिन्न गोप्य फाइल सार्वजनिक गरिसक्दा पनि एप्स्टिन फाइलले हत्तपत्त ट्रम्पको पिछा छोड्ने देखिन्नँ ।
-एजेन्सीको सहयोगमा
