काठमाडौँ — सन् १९३१ मा आजकै दिन (फेब्रुअरी १) मा रुसका पूर्वराष्ट्रपति बोरिस यल्तसिनको जन्म भएको थियो । यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । १९९१ जुन १२ मा राष्ट्रपतिमा निर्वाचित भएका यल्तसिनले १९९९ सम्म पदभार सम्हालेका थिए ।
यल्तसिन रूसमा लोकतन्त्रको जग बसाल्ने महान् नेताका रूपमा परिचित छन् । सोभियत संघको विघटनसँगै रुसमा १९९१ को मार्च १७ मा भएको जनमतसंग्रहले राष्ट्रपति पदको व्यवस्था गरेको थियो । त्यसपछि भएको पहिलो निर्वाचनमा उनी विजयी भएका थिए । यल्तसिनले आफ्नो दोस्रो कार्यकाल बाँकी छँदै १९९९ को डिसेम्बर ३१ मा राजीनामा दिएका थिए ।
दोस्रो कार्यकाल निर्वाचित भएपछि क्रमशः लोकप्रियता गुमाउँदै गएका यल्तसिनको राजीनामाले अधिकांश रुसी नागरिकहरू खुसी भएको सर्वेक्षणहरूले उल्लेख गरेका थिए । टेलिभिजनमार्फत सम्बोधन गर्दै यल्तसिनले आफ्नो प्रशासनले रुसमा सांस्कृतिक, राजनीतिक र आर्थिक स्वतन्त्रताको प्रत्याभूति गरेको दाबी गरेका थिए । उनको २००७ अप्रिल २३ मा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो ।
