काठमाडौँ — सन् १९४१ मा आजकै दिन (जनवरी १३) मा प्रसिद्ध साहित्यकार जेम्स जोएसको निधन भएको थियो । आयरल्यान्डका महान् लेखकका रूपमा परिचित जोएसको स्विट्जरल्यान्डको जुरिचमा ५८ वर्षको उमेरमा निधन भएको थियो ।
प्रथम विश्वयुद्धमा इटालीको प्रवेशपछि उनी परिवारसहित स्विट्जरल्यान्ड सरेका थिए । २०औं शताब्दीका ‘प्रतिभाशाली र साहसी’ लेखकका रूपमा परिचित जोएसको ‘मास्टरपिस’ कृतिका रूपमा रहेको छ उपन्यास– ‘युलिसस ।’ जोएसले ‘युलिसस’ लेख्दा युरोपको धनाढ्य वर्गले भनेको थियो, ‘युलिसस एलिटका लागि लेखिएको हो ।’ जोएसले उक्त उपन्यास चेतना प्रवाह शिल्प (स्ट्रिम अफ कन्ससनेन्स) को प्रयोग गरी लेखेका थिए । ‘अश्लील’ भन्दै उक्त उपन्यासमाथि सुरुवाती समयमा अमेरिकामा प्रतिबन्धसमेत लगाइएको थियो ।
सन् १८८२ मा आयरल्यान्डको डब्लिनमा जन्मिएका जोएसका अधिकांश कृति र कथाको परिवेश डब्लिनमै आधारित थिए । सन् १९०२ मा पेरिस गएका जोएस आमा बिरामी भएपछि अर्को वर्ष नै डब्लिन फर्किए । त्यसपछि उनले आफ्नै जीवनीमा आधारित प्रयोगात्मक उपन्यास ‘स्टिफन हिरो’ लेख्न थालेका थिए । उक्त उपन्यास जोएसको मृत्युपछि सन् १९४४ मा प्रकाशित भएको थियो ।
