१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आजकै दिन : सिंह बनेका थिए भारतको प्रधानमन्त्री

काठमाडौँ — सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । सिंह भारतको १३ औं प्रधानमन्त्री हुन् । उनी २०१४ को मे २६ सम्म प्रधानमन्त्री थिए । 

आजकै दिन : सिंह बनेका थिए भारतको प्रधानमन्त्री

भारतीय राष्ट्रिय कंग्रेसका नेता सिंह भारतमा शिख समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । सिंह जवाहारलाल नेहरू र इन्दिरा गान्धीपछि लामो समय प्रधानमन्त्रीको पद सम्हालेका थिए । सिंह नेहरूपछि प्रधानमन्त्रीको पहिलो कार्यकाल पूरा गरी पुनः पदमा पुग्ने पहिलो नेतासमेत हुन् । सिंह १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाव (हालको पाकिस्तान) मा जन्मिएका थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सिंहले १९६६ देखि १९६९ सम्म संयुक्त राष्ट्रसंघमा काम गरेका थिए । त्यसलगत्तै सिंहले उद्योग तथा वाणिज्य मन्त्रालयको सल्लाहकार रहेका सिंहले १९७० र ८० को दशकमा भारत सरकारअन्तर्गतका विभिन्न प्रमुख पदको जिम्मेवारी सम्हालेका थिए ।

उनी भारत सरकारको प्रमुख आर्थिक सल्लाहकार, केन्द्रीय बैंकको गभर्नर तथा योजना आयोगको प्रमुख भएका थिए ।

१९९१ मा भारत आर्थिक संकटमा फसेपछि प्रधानमन्त्री पीभी नरसिंहा रावले सिंहलाई अप्रत्याशित रूपमा अर्थमन्त्रीमा नियुक्त गरेका थिए । त्यतिबेला भारतलाई आर्थिक संकटबाट उकास्न उनले पुर्‍याएको योगदानको विश्वव्यापी चर्चा भएको थियो । १९९६ मा भएको चुनावपछि उनी राज्य सभामा प्रतिपक्ष दलका नेता (१९९८ देखि २००४) भएका थिए ।

२००४ मा कंग्रेस नेतृत्वको यूपीए गठबन्धन सत्तामा आएपछि कंग्रेस नेतृ सोनिया गान्धीले अप्रत्याशित रूपमा उनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेकी थिइन् । २००९ को आमनिर्वाचनमा यूपीए गठबन्धन विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका थिए ।


प्रकाशित : जेष्ठ ८, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?