भारतमा कालो ढुसीको संक्रमणबाट ४३०० भन्दा बढीको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा कालो ढुसीको संक्रमणबाट ४३०० भन्दा बढीको मृत्यु

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतमा कालो ढुसी(ब्ल्याक फंगस) को संक्रमणबाट ४ हजार ३ सयभन्दा बढीको मउत्यु भएको छ ।  विशेषगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् ।

स्रोत : स्वास्थ्य मन्त्रालय

कालो ढुसीले नाक, आंखा र मस्तिष्कमा असर पुऱ्याउने चिकित्सकको भनाइ छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त भएको १२ देखि १८ दिनपछि कालो ढुसीको संक्रमण देखिने सम्भावना हुन्छ ।

बीबीसीका अनुसार अहिले पनि भारतमा झन्डै २२ हजार कालो ढुसीका संक्रमित उपचाररत रहेका छन् ।कालो ढुसीको संक्रमणबाट महाराष्ट्र र गुजरात सबैभन्दा बढी प्रभावित राज्य हुन् । यी दुई राज्यमा १७८५ को कालो ढुसीको संक्रमणबाट मृत्यु भएको छ।

कालो ढुसीबारे जान्नैपर्ने कुरा

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ ।

त्यस्तै यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि गर्छ । आँखाको ढकनी सुनिने, र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।

घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सकहरुको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा ‘एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।

संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरु

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुन: प्रयोग नगर्ने
  • नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • व्यक्तिगत स्वच्छतामा ध्यान दिने
  • घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
  • जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने
  • सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

प्रकाशित : श्रावण ७, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

अपांगतामैत्री छैनन् फुटपाथ

सर्वसाधारणका लागि हिँडडुल गर्न गाह्रो हुने काठमाडौंका फुटपाथ अपांगता भएका व्यक्तिहरुका लागि झनै कष्टकर  
कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाका फुटपाथ (सडकपेटी) कतै साँघुरा त कतै हिँड्दा हिँड्दै टुंगिन्छन् । फुटपाथकै बीचमा खाल्डाखुल्डी, रूख बिरुवा र पोलहरू पनि प्रशस्त छन् । फुटपाथमा सिँढीजस्तै गरी उबडखाबड पारिएको छ । सामान्य मानिसकै लागि हिँडडुल गर्न गाह्रो हुने फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि त झनै कष्टकर छन् । 

ह्वीलचियर प्रयोगकर्ताका लागि अधिकांश स्थानका फुटपाथ साँघुरा हुन्छन् । उनीहरूले फुटपाथ छाडेर सडक किनारबाटै यात्रा गर्नुपर्छ । जसका कारण दुर्घटनाको जोखिम बढ्दो छ । यस्तै समस्याका भुक्तभोगी हुन्, कैलाली घर भई शान्तिनगर बस्दै आएकी कृष्णा चौधरी पनि ।

‘घर बाहिर निस्केपछि हाम्रा लागि केही पनि सरल र सहज छैन,’ उनले भनिन्, ‘सडक, फुटपाथ, अस्पताल, सार्वजनिक वन, शौचालय केही पनि अपांगमैत्री छैनन् ।’ फुटपाथमा हुनुपर्ने मापदण्ड नअपनाईकन निर्माण गरिएकाले समस्या भइरहेको उनको भनाइ छ । ‘फुटपाथमा ह्वीलचियर चढ्नका लागि स्लोप नै हुँदैन, कतै चढ्ने ठाउँमा हुन्छ तर अर्कोतिर हुँदैन,’ उनले भनिन्, ‘न त ह्वीलचियर घुमाउनका लागि पर्याप्त ठाउँ नै हुन्छ ।’

जोरपाटीका रामकाजी कार्की ११ वर्षदेखि ह्वीलचियर प्रयोग गर्छन् । उनका अनुसार ह्वीलचियर प्रयोगकर्तालाई लक्षित गरी कुनै संरचना नै बनेको छैन । सार्वजनिक बसले चढाउन मान्दैनन्, सडकमा आफैं ह्वीलचियर गुडाएर जान सक्ने अवस्था पनि नहुँदा समस्या परेको उनले बताए । ‘जहाँ फराकिला सडक हुन्छन्, त्यहाँ पसल राखेका हुन्छन्,’ उनले भने, ‘फुटपाथ साँघुरो भएको ठाउँमा सडकबाटै हिँड्नुपर्ने हुन्छ, त्यहाँ पार्किङ गरेको हुन्छ ।’ अपांगमैत्री र ह्वीलचियरमैत्री फुटपाथ निर्माणका लागि पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

‘साँघुरा फुटपाथमा ह्वीलचियर अटाउँदैनन् । फराकिला फुटपाथमा पसल हुन्छन् । सडकको किनारमा पार्किङ गरिएको हुन्छ, हामी सडकको बीचमा हिँड्नुपर्छ,’ २२ वर्षदेखि ह्वीलचियर प्रयोग गरिरहेकी जोरपाटीकै सानु श्रेष्ठले भनिन् । फुटपाथकै दुरवस्थाले बाहिर निस्कनुपरे सधैं साथी बोकेर हिँड्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । जोरपाटी, माकलबारी, जावलाखेल, बागबजार, छाउनी क्षेत्रमा ह्वीलचियर प्रयोगकर्ताको अधिक बसोबास छ ।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ अनुसार सडकपेटीको चौडाइ कम्तीमा ७१ इन्च (१८०० मिमि) हुनुपर्छ । सडकपेटीमा ह्वीलचियर गुडाउँदा सडकमा हिँड्ने अन्य व्यक्तिबाट वा अन्य व्यक्तिलाई ह्वीलचियर प्रयोगकर्ताबाट कुनै अवरोध हुन नहुने उक्त निर्देशिकामा उल्लेख छ । त्यस्तै, सडक पार गरिसकेपछि फुटपाथमा उक्लिनुपर्ने ठाउँमा ‘कर्भ र्‍याम्प’ को व्यवस्था गर्नुपर्छ । सडकपेटीमा पार्किङलगायत विभिन्न किसिमका पसल राख्न नहुने पनि निर्देशिकामा स्पष्ट लेखिएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर बौद्धिक अपांगता, शारीरिक अपांगता, दृष्टिविहीन, श्रवणविहीन, स्वरबोलाइसम्बन्धी अपांगता, मनोसामाजिक अपांगता, अटिजम, हेमोफोलिया र बहुअपांगतालगायत अपांगता भएका व्यक्तिको संख्या ५ लाख १३ हजार ३ सय २१ छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार राजधानीमा हालसम्म ३.५ किलोमिटर फुटपाथ पुनर्निर्माण गरिसकिएको छ । करिब १२ वर्षअघि बिछ्याइएको ब्लक टुट्ने, फुट्ने र पुरानो भएकाले नयाँ आकर्षक ब्लक बिछ्याइएको डिभिजनका प्रमुख कुवेर नेपालीले बताए । ‘खाल्डाखुल्डी पुर्ने, पिच गर्नेलगायत सबै काम सडकमै सीमित हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष हामीले फुटपाथको खाल्डाखुल्डी पुर्ने, नयाँ फुटपाथ बनाउने काम गर्‍यौं ।’

झन्डै १० करोड रुपैयाँ खर्चेर फुटपाथको स्वरूप फेर्ने र भएकै फुटपाथलाई अपांगमैत्री बनाइरहेको उनले बताए । फरक क्षमता भएका दृष्टिविहीनका लागि गाइडिङ ब्लक, ह्वीलचियरका लागि उक्लन र ओर्लन मिल्ने स्लोप र्‍याम्प राखिएको उनले दाबी गरे । डिभिजनले थापाथली, सिंहदरबार, दरबारमार्ग, पुतलीसडकलगायत स्थानमा सडकपेटी बनाएको जनाएको छ । एयरपोर्ट सडक खण्डका फुटपाथमा भएकै ब्लकलाई मिलाउने र हिँड्न सहज हुने बनाइएको नेपालीले बताए । त्यस्तै, ललितपुर महानगरपालिकाको पुल्चोकदेखि कुपन्डोलसम्म एकतर्फी फुटपाथ निर्माण गरिएको छ ।

यसैबीच, उपत्यकाका अधिकांश सार्वजनिक शौचालयमा महिला र पुरुष जस्तै अपांगता भएका व्यक्तिका लागि पनि एउटा कोठा छुट्याइएको हुन्छ । तर अधिकांशमा गोदाम घर बनाइएका छन् । ती शौचालय मापदण्डअनुसार पनि बनाइएको हुँदैन । बजार निस्केपछि शौचालयका लागि घरमै पुग्नुपर्ने बाध्यता रहेको जावलाखेलकी नम्रता श्रेष्ठले बताइन् । हालसालै बनेका मंगलबजार र स्वयम्भूका शौचालय ह्वीलचियरमैत्री छन् । अपांगतामैत्री बनाइए पनि मापदण्डअनुसार नबनाइएको चौधरीको भनाइ छ ।

प्रकाशित : श्रावण ७, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×