भारतमा संक्रमित र मृतकको संख्या बढ्दै

चैत्र १०, २०७७

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४७ हजार जना संक्रमित भएका छन् ।

२४ घण्टामा संक्रमित हुनेको संख्या सन् २०२१ मा सबैभन्दा बढी हो । यस अवधिमा संक्रमणका कारण २ सय १२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ लाख ५९ हजार ९ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । 

भारतमा सोमबार साँझसम्म संक्रमितको संख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३ लाख ३४ हजार ६ सय ४६ जना संक्रमणकै अवस्थामा छन् । १ करोड ११ लाख ५१ हजार ४ सय ६८ जना संक्रमणमुक्त भएका जनाइएको छ । 

भारतको राजधानी नयाँदिल्लीमा गत २४ घण्टामा ८ सय २३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँदिल्लीमा कोरोना सुरु भएयता हालसम्म १० हजार ९ सय ५६ जनाको मृत्यु भइसकेको छ । 

त्यसैगरी, कोरोना परीक्षण गर्नेक्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख जनाभन्दा बढीमा भाइरस परीक्षण गरिसकिएको छ ।

आइतबार एकै दिनमा १० लाख ६३ हजारभन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । भारतले जनवरी १६ बाट सुरु गरेको खोप अभियानमा हालसम्म ४ करोड ५० लाख ६५ हजार जनाभन्दा बढीले खोप लगाइसकेका छन् ।

एजेन्सी

Link copied successfully