३२ हजार स्वयंसेवकमा गरिएको परीक्षणको नतिजापछि युरोपेली देशले खोप अभियानलाई निरन्तरता दिने
वासिङ्टन — कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ । अमेरिका, चिली र पेरुका ३२ हजार जनाभन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित रहेको पुष्टि भएको अमेरिकी अधिकारीहरूले जनाएका हुन् ।
परीक्षणको नतिजाअनुसार खोप कोरोना भाइरस रोक्न ७९ प्रतिशत प्रभावकारी देखिएको तथा गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको हो । त्यसका साथै उक्त खोपका कारण मानिसमा रगत जम्ने समस्या पनि नदेखिने नतिजामा पाइएको छ ।
पछिल्लो नतिजापछि युरोपेली देशहरूले खोप कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । केही युरोपेली देशले अस्ट्राजेनेका खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै खोप लगाउने काम रोकेका थिए । तर युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुनः सुरु गरिसकेका छन् । अन्य देशहरूले पनि आफ्नो खोप अभियानलाई निरन्तरता दिने जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्यांकले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा प्रयोग गर्न सकिने देखाएको छ । केही देशहरूले सुरुमा प्रमाण नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप नदिइएको जनाएका छन् । तर अमेरिकी परीक्षणमा २० प्रतिशत सहभागी ६५ वर्षमाथिका मानिस थिए । उनीहरूलाई चार साताको फरकमा दिइएको दुई मात्रा खोपले युवा वर्गलाई जस्तै सुरक्षा दिएको थियो । अन्य देशहरूमा लाखौं मानिसले खोप लगाइसकेकाले परीक्षणमा सहभागी गराइएका मानिसको संख्या निकै कम हो । परीक्षणको नतिजासँगै अमेरिकाले अस्ट्राजेनेका खोपलाई सार्वजनिक प्रयोगका लागि अनुमति दिने अनुमान गरिएको छ । त्यस्तो अनुमति एक महिनाभित्र दिन सक्ने बीबीसीले उल्लेख गरेको छ । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रिउ पोलार्डले भने, ‘यी नतिजाले नयाँ जनसंख्यामा खोपको प्रभावकारिता सिद्ध गरेको छ र यो हाम्रो परीक्षणको नतिजासँग मिल्दो प्रकृतिको छ ।’
भ्याक्सिन निर्माणमा संलग्न प्राध्यापक सराह गिलबर्टले भनिन्, ‘विभिन्न देशका विभिन्न उमेर समूहका मानिसमा खोपले कोरोना भाइरसविरुद्ध उच्च तहको सुरक्षा प्रदान गरेको छ । हामीलाई आशा छ, यसले खोपको विश्वव्यापी प्रयोग बढ्ने र महामारी अन्त्य गर्न सघाउनेछ ।’ आफूहरूले बढीभन्दा बढी मानिसको ज्यान जोगाउने मौका पाउने अपेक्षा गर्दै गिलबर्टले ‘अस्ट्राजेनेका खोपले मानिसको ज्यान बचाउने’ बताइन् ।
विश्व बजारमा सबैभन्दा सस्तो अस्ट्राजेनेका खोप अर्थतन्त्र कमजोर भएका देशले प्रयोगमा ल्याउने सम्भावना छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप हालसम्म युरोपका १ करोड ७० लाख जनाले लगाइसकेका छन् ।
भाइरसको महामारी नियन्त्रणका लागि खोप प्रभावकारी हुने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो । तर निर्यातमा गरिएको नियन्त्रण, कूटनीतिक असमझदारी, राजनीतिक तथा आर्थिक स्वार्थ र उत्पादनसँग सम्बन्धित विभिन्न मामिलाका कारण यसअघि कतिपय युरोपेली देशले अस्ट्राजेनेका खोप प्रयोग स्थगन गरेको कतिपयको विश्लेषण छ ।
