म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा

राजधानी याङ्‍गूनका सडकमा सेना, टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवा बन्द
इकान्तिपुर डेस्क

काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुचीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।

याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स

सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सुचीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।

आङ सान सुचीलाई म्यानमारको सेनाले हिरासतमा लियो

सेनाप्रमुख ह्लाइङ २०७४ साल मंसिरमा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका थिए । भ्रमणका क्रममा उनी लुम्बिनी पुग्नुका साथै माउन्टेन फ्लाइटमा पनि गएका थिए ।

म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ तस्बिर : रोयटर्स

सोमबार बिहान एनएलडीका प्रवक्ता म्यो न्युन्तले सुची, राष्ट्रपति मिन्टलगायतका नेताहरुलाई प्रहरीले हिरासतमा लिएको जानकारी दिएका थिए । उनले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा भनेका थिए, ‘म नागरिकहरुलाई तत्काल कुनै पनि प्रतिक्रिया नदिन अनुरोध गर्दछु । उनीहरुलाई कानुनबमोजिम अगाडि बढ्न आग्रह गर्छु ।’

उनले केही समयमा आफूलाई पनि गिरफ्तार गरिन सक्ने जनाएका थिए । त्यसको केही समयपछि उनीसँग सम्पर्क हुन नसकेको पनि रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार सुचीको गिरफ्तारीबारे ह्वाटहाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ गरिसकेको छ ।

म्यानमारको सरकारी टेलिभिजन कार्यालयमा गरिएको सेनाको तैनाथी तस्बिर : रोयटर्स

गत नोभेम्बर महिनामा भएको चुनावमा सुचीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । तर म्यानमारको निर्वाचन आयोगले भने सेनाको दाबीको खण्डन आधारहीन भएको बताएको छ । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सिटी हल र बाहिरको दृश्य तस्बिर : रोयटर्स

सन् २००८ को संविधानअनुसार म्यानमारको संसद्मा सेनालाई २५ प्रतिशत सिट छुट्याइएको छ । सुची प्रशासनमै पनि सेनाले तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको थियो ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा 'आङ सान सुची' हुनुपर्नेमा अन्यथा भएकोमा भुलसुधार गरिएको छ ।

प्रकाशित : माघ १९, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

धनगढी र ओसिस विजयी

कान्तिपुर संवाददाता

तिलोत्तमा — तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओसिस क्रिकेट एकेडेमीले रूपन्देही–११ लाई ९ विकेटले पराजित गरे ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २ सय २१ रन बनायो । कप्तान नरेन भट्टले ५० बल खेल्दै ९९ र सन्दीप विष्टले ४५ बलमा ५८ रन बनाए । साई ग्लोबलका ताहिर खान र सैजाद आलमले २/२ विकेट लिए ।

साई ग्लोबल २३ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो । ओसिस रोकाले ४१ र सचिन अर्यालले १६ रन बनाए । धनगढीका रजत राना ३ र भूपेश जोशीले ३/३ विकेट लिए । नरेश भट्ट म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेको रूपन्देही ४६ रनमै अलआउट भयो । समीर अली खानले ११ रन बनाए । ओसिसका सार्थक धितालले ४ तथा निश्चल श्रेष्ठले २ विकेट लिए । ओसिसले ८.३ ओभरमा १ विकेट गुमाई ५० रन बनायो । सम्राट भुसालले १९ रन बनाए । ८ टिम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेस्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ ।

प्रकाशित : माघ १९, २०७७ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×