कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आङ सान सुचीलाई म्यानमारको सेनाले हिरासतमा लियो

राष्ट्रपति विन मिन्टलगायत अन्य नेतालाई पनि गिरफ्तार गरिएकाले ‘कु’ को आशंका
एजेन्सी

काठमाडौँ — म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी)की सर्वोच्च नेता आङ सान सुचीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ ।

आङ सान सुचीलाई म्यानमारको सेनाले हिरासतमा लियो

सुचीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सुचीलाई गिरफ्तार गरिएको हो ।

गत नोभेम्बर महिनामा भएको चुनावमा सुचीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ । एनएलडीका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सुचीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको छ ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारका सेना प्रमुख मिन आङ फाइल तस्बिर : रोयटर्स

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा 'आङ सान सुची' हुनुपर्नेमा अन्यथा भएकोमा भुलसुधार गरिएको छ ।

प्रकाशित : माघ १९, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?