अमेरिकामा सोमबारदेखि फाइजरको कोरोना खोप प्रयोग सुरु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा सोमबारदेखि फाइजरको कोरोना खोप प्रयोग सुरु

एजेन्सी

वासिङ्टन — कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गरेको छ ।

तस्बिर : रोयटर्स

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सोमबारदेखि प्रयोगमा आएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो ।

अमेरिकामा कोरोनाको पहिलो खोप लङ्ग आइल्यान्डको एक अस्पतालमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेलाई लगाइएको हो । सोमबार करिब १५० अस्पतालमा कोरोना खोप वितरण गरिएको बताइएको छ । अमेरिकाले आउँदो वर्षको अप्रिल महिनासम्ममा १० करोड नागरिकलांई कोरोना खोप लगाइसक्ने बताएको छ ।

अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहका नागरिकलाई खोप दिइनेछ ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण हालसम्म १६ लाखभन्दा मानिसको मृत्यु भइसकेको छ । तीमध्ये अमेरिकामा मात्रै ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विशेष अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।

पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप कोभिड–१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो । यो खोप लिएको तीन सातामा दोस्रो डोज दिनुपर्छ । तर माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले फाइजरको खोप ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद्हरुको भनाइ छ ।

प्रकाशित : मंसिर ३०, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा नजाने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले बोलाएको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नहुने भएका हुन् ।

'परिषद्को बैठकका लागि आवश्यक समन्वयको अभाव भयो । पूर्वतयारी पुगेन र गृहकार्य पनि गरिएन भनेर सभामुख नजानुहुने भएको छ,' सभामुखको सचिवालय स्रोतले भन्यो । संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकटका व्यक्तिहरूले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।

प्रकाशित : मंसिर ३०, २०७७ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×