कोभिड-१९ विरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी- विश्व - कान्तिपुर समाचार

कोभिड-१९ विरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी

निकै छिटो तयार भएको भन्दै विज्ञहरुले प्रकट गरे संशय
कान्तिपुर संवाददाता

काठमाडौँ — रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब 'मास भ्याक्सिनेसन' सुरु गर्ने बताएको थियो । डब्लुएचओकी प्रवक्ताले भने अगस्ट ४ मा पत्रकार सम्मेलनमा 'कसैले केही नयाँ चिज पत्ता लगायो भन्ने खबर राम्रो हो तर, काम गर्नसक्ने भ्याक्सिन बनाउने कुनै उपाय पत्ता लगाउनु र सबै चरणका परीक्षण पार गर्नुमा ठूलो भिन्नता छ' भनेकी थिइन् ।

रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ ।

कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमश: अमेरिका, ब्राजिल र भारतमा रहेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।


प्रकाशित : श्रावण २७, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

४ वर्षदेखि इलाका प्रशासन प्रमुखविहीन 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय ४ वर्षदेखि प्रमुखविहीन बनेको छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दाको सरकारी सेवाप्रवाह सहज बनाउन सोरुकोटमा इलाका प्रशासन स्थापना गरिएको थियो । 

इलाका प्रशासन लामो समयदेखि प्रमुखविहीन भएपछि नाथर्पु, फोतु, जिमा, भीइ, धैनकोट, सोरुकोट, पुरुमुरु, सिपलगायत गाउँका बासिन्दा २ दिन हिँडेर सदरमुकाम आएर सरकारी कामकाज गर्न बाध्य छन् । कार्यालय स्थापना भएको एक वर्षसम्म इलाकामा सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर पौडेल कार्यरत थिए । उनी सरुवा भएर गएपछि गृह मन्त्रालयले अर्को व्यवस्था नगर्दा कार्यालय प्रमुखविहीन बनेको हो । अहिले कार्यालयमा कार्यालय सहयोगीहरु गोर्ख मल्ल र जनक कार्की मात्र कार्यरत छन् । उनीहरुले दैनिक कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र गरिरहेका छन् ।

इलाका प्रशासनबाट सेवा प्रवाह नभए पनि घर भाडाको नाममा सरकारी बजेट खर्च भइरहेको छ । कार्यालयका कुर्सी, टेब्ल, दराजलगायत फर्निचर पनि प्रयोगविहीन छन् । नाम मात्रको इलाका प्रशासनका कारण जनताले सास्ती भोग्नु परेको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको उनको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उनले भने, ‘कार्यालय खोलेर सरकारी रकमको दुरुपयोग मात्र भएको छ ।’

उनका अनुसार विकास निर्माणलगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् । जिल्ला प्रशासनमै कर्मचारी अभाव हुँदा सोरुकोटमा पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×