वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) भ्याक्सिनबिनै निर्मूल हुने दाबी गरेका छन् । शुक्रबार रिपब्लिकन सांसदहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस भ्याक्सिनबिनै निर्मूल हुने र अमेरिकामा करिब ९५ हजार जनाको मृत्यु हुने बताएका हुन् ।
त्यस्तै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस छिट्टै निर्मूल हुने बताए पनि अर्को वर्ष फेरि दोहोरिने चेतावनी दिएका छन् । तर उनले यसको कुनै वैज्ञानिक आधार भने प्रस्तुत गरेका छैनन् ।
कोरोना महामारीका कारण अमेरिकामा बेरोजगारी दर १४ प्रतिशतभन्दा बढी भएको र अर्थतन्त्र डामाडोल भएका बेला राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।
शुक्रबार मात्रै अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव केटी मिलरमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि बिहीबार राष्ट्रपति ट्रम्पका एक जना सहयोगीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस्तै शुक्रबार नै राष्ट्रपति ट्रम्पकी सल्लाहकार समेत रहेकी छोरी इभान्का ट्रम्पका एक जना सहयोगीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ८० पुगेको छ । त्यस्तै १२ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब एक लाख ९९ हजार जना निको भएका छन् ।
शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ७४ हजार ९ सय ३२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३९ लाख ३९ हजार २ सय ८१ जना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये १३ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।
