सिड्नी — ओस्कार विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको छ । अस्ट्रेलियामा रहेका ह्यांक्सले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका हुन् ।
‘अहिले विश्वलाई नै आवश्यक देखिएको सही कदमस्वरुप हामीले कोरोना भाइरसको परीक्षण गरायौं र हामीमा पोजिटिभ देखियो,’ अभिनेता ह्यांक्सले भनेका छन् । आफूहरु परीक्षणपछि चिकित्सकको निगरानी र अलग्गै(आइसोलेसन) मा रहेको पनि ह्यांक्सले जानकारी दिएका छन् । ह्यांक्स दम्पती कोभिड–१९ बाट संक्रमित हुने पहिलो अमेरिकी सेलिब्रिटी हुन् ।
— Tom Hanks (@tomhanks) March 12, 2020
ह्यांक्स एल्भिस प्रिस्लेको जीवनीमा आधारित चलचित्रको छायांकनका लागि अस्ट्रेलियामा रहेका थिए । वार्नर ब्रस कम्पनीको ब्यानरमा बन्न लागेको ‘बायोपिक’ मा टम ह्यांक्स प्रिस्लेका म्यानेजर टम पार्करको भूमिकामा देखिँदैछन् । चलचित्रलाई प्रख्यात निर्देशक ब्यान लहरम्यानले निर्देशन गर्दैछन् ।
बिहीबार बिहानसम्म अस्ट्रेलियामा १३९ जनामा कोभिड–को संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ ।
टम ह्यांक्सले सन् १९९४ मा ‘फिलाडेल्फिया’ र सन् १९९५ मा ‘फरेस्ट गम्प’ बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनी ‘सेभिङ प्राइभेट र्यान’, ‘बिग’, ‘कास्ट अवे’, ‘अ ब्युटिफुल डे इन द नेइबरहूड’, ‘क्याप्टेन फिलिप्स’ ‘क्याच मि इफ यु क्यान’, ‘द टर्मिनल’ लगायतका चलचित्रमा प्रमुख भूमिकामा देखिएका छन् ।
