१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इराकमा १ को मृत्यु 

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २८ पुगेको छ । यसअघि ६ जनामा मात्रै देखिएको कोभिड-१९ बुधबार थप २२ जनामा भेटिएको भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले बताएका छन् । यीमध्ये केरला राज्यका ३ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।

भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इराकमा १ को मृत्यु 

भेटिएका नयाँ संक्रमितमध्ये १६ जना राजस्थानको जयपुरमा भेटिएका हुन् । ती मध्ये १५ जना इटालियन र एक भारतीय रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त समूह भारतमा छुट्टी मनाउन आएको र संक्रमित ती भारतीय बसका ड्राइभर रहेको स्वास्थ्यमन्त्री वर्द्धनले बताए ।


अन्य ६ जना नयाँ दिल्लीको एकै परिवारमा भेटिएको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ६६ जनाको स्वास्थ्य परीक्षण गराइएको छ । उनीहरु सबैलाई नयाँ दिल्लीस्थित सफदरजङ अस्पतालको आइसोलेसनमा राखिएको छ ।


यसैबीच,इराकमा कोभिड-१९को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ६३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । इराकमा ३२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । इराकको राजधानी बगदादमा रहेका सबै विद्यालय र विश्‍वविद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ ।

वुहानबाट सुरु भएको कोभिड–१९ का कारण बुधबार दिउँसोसम्म ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बुधबारसम्म चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ जनामा संक्रमण देखिएको छ ।


चीनबाहिर सबैभन्दा बढी इटालीमा ७९ जनाको मृत्यु भएको छ । इटालीमा २ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ । त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनाको संक्रमण देखिएको छ ।

त्यस्तै दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ९, जापानमा १२, फ्रान्समा ४, हङकङमा २ तथा स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, इराक, सान मारिनो तथा फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?