अन्ततः अन्तरिक्ष पुग्यो ‘मुनाल’, सञ्चार सम्पर्कमा भने प्राविधिक अवरोध

आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन स्पेस केन्द्रबाट नेपाली समयअनुसार बिहान १०:३२ मा प्रक्षेपण गरिएको रकेट २० मिनेटमै पृथ्वीबाट ५ सय १२ किलोमिटर माथि रहेको ‘सन–सिन्क्रोनस अर्बिट’ मा पुर्‍याउने लक्ष्य भए पनि पूरा भएन ।

माघ १, २०८२

सजना बराल

'Moonal' finally reaches space, but communication is hampered by technical difficulties

What you should know

काठमाडौँ — नेपालमा दुई वर्ष लगाएर माध्यमिक तहका विद्यार्थीले निर्माण गरेको ‘मुनाल’ स्याटलाइट अन्तरिक्षमा पुगे पनि प्राविधिक समस्याका कारण सञ्चार सम्पर्क नहुने देखिएको छ । सोमबार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले मुनालसहित विभिन्न देशका १६ वटा स्याटलाइट बोकेको ‘पोलार स्याटलाइट लन्च भेहिकल’ (पीएसएलभी–सी६२) प्रक्षेपण गरेको थियो ।

आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन स्पेस केन्द्रबाट नेपाली समयअनुसार बिहान १०:३२ बजे प्रक्षेपण गरिएको रकेट २० मिनेटमै पृथ्वीबाट ५१२ किलोमिटर माथि रहेको ‘सन–सिन्क्रोनस अर्बिट’ मा पुर्‍याउने लक्ष्य भए पनि त्यो पूरा भएन ।

रकेट अन्तरिक्षमा त पुग्यो तर प्राविधिक समस्याका कारण त्यसमा रहेका मुनालसहितका भूउपग्रसँग सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन । रकेटको पहिलो र दोस्रो चरणको उडान सफल भए पनि तेस्रो चरणमा पुगेपछि केही विचलन (एनोमली) देखिएको सोही अभियानका लागि हाल भारतमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का अन्तरिक्ष विज्ञान प्रमुख हरिराम श्रेष्ठले जनाए । 

रकेटले पृथ्वीबाट ४ सय ६० किलोमिटरको उचाइ पार गरिसकेपछि अन्तिम चरणमा पुग्नुअघि मार्गमा अवरोध आएको उनले बताए । ‘रकेट स्पेसमा त पुग्यो तर कम्प्लिट सक्सेस (पूर्ण सफलता) चाहिँ हासिल भएन । किनभने अहिलेको अवस्थामा हामीले हाम्रो स्याटलाइटसँग कम्युनिकेट (सञ्चार) गर्न सक्दैनौं,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘मुनालसहितका स्याटलाइट अहिले रकेटको क्यारियर (पड) भित्रै अड्किएको जस्तो अवस्थामा छन् । अन्तिम स्टेजमा पुग्न नपाउनुको अर्थ भूउपग्रहहरू घरभित्र बसेजस्तो भइदियो, पडबाहिर निस्कन पाएनन् ।’ इन्डिया टुडेलगायत भारतीय सञ्चारमाध्यमका अनुसार इसरोको यो मिसनमा रहेका भूउपग्रह अब काम नलाग्ने भएका छन् ।

मुनाल उपग्रह काभ्रेका बनेपा, धुलिखेल र पनौतीका ९ जना विद्यार्थीले इन्जिनियरको सहयोगमा बनाएका हुन् । करिब एक किलो तौल भएको यो ‘वान यू’ क्युब स्याटलाइटमा १.३ मेगापिक्सेलका दुई क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जडान गरिएको थियो । त्यसले पृथ्वीको हरियाली नक्सांकन गर्ने लक्ष्य राखेको थियो । यस पटक पूर्ण सफलता हासिल नभए पनि नास्टले यसलाई क्षमता विकासका रूपमा महत्त्वपूर्ण उपलब्धि मानेको छ ।

'Moonal' finally reaches space, but communication is hampered by technical difficulties

श्रेष्ठका अनुसार यस मिसनबाट प्राप्त अनुभवले भविष्यका लागि सहज बनाउनेछ । नास्टले अब ‘मुनाल–२’ वा ‘नेपाली स्याट–२’ निर्माणको तयारी गर्ने योजना बनाएको छ । नास्टले यस मिसनमा सहयोग गर्ने नेपाल सरकार, भारत सरकार, इसरो, एनएसआईएल, नेपालस्थित भारतीय दूतावास, विद्यार्थी, संलग्न विद्यालयप्रति आभार व्यक्त गरेको छ ।

यस परियोजनामा करिब दुई करोड रुपैयाँ खर्च भएको थियो । भारत सरकारको सहयोगका कारण यसको प्रक्षेपण खर्च भने नेपालले बेहोर्नुपरेन । १९ पुस २०८० मा काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारतको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो । साउन २०८१ मा भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडले मुनाल प्रक्षेपणका लागि सहयोग गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

विदेश मन्त्रालयका तर्फबाट सहसचिव अनुराग श्रीवास्तव र न्यु स्पेस इन्डिया लिमिटेडका निर्देशक अरुनाचलम ए बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त कार्यक्रममा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, भारतका लागि तत्कालीन कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डाक्टर अभास मास्के सहभागी थिए ।

यसअघि नेपालले नेपाली स्याट–१ मार्फत अन्तरिक्ष यात्रा सुरु गरेको थियो । मुनाल स्याटलाइट भने स्वदेशमै बसेर विद्यालय स्तरका विद्यार्थीहरूले विकास गरेका हुन् । इसरोको यस मिसनमा नेपालको मुनालसँगै स्पेन, थाइल्यान्ड, ब्राजिल र भारतका विभिन्न स्टार्टअप कम्पनीका भूउपग्रह पनि प्रक्षेपण गरिएको थियो ।

इसरोले २५ वर्षको अवधिमा ४ सय ३४ विदेशी उपग्रह प्रक्षेपण गरिसकेको अर्बिटल टुडेको समाचारमा उल्लेख छ । सोमबारको मिसनमा आठ वटा विदेशी पेलोडसहित कुल १६ वटा स्याटलाइटलाई अर्बिट (पृथ्वीको कक्ष) मा पुर्‍याएपछि यो संख्या ४ सय ४२ पुगेको छ ।

अन्य पेलोडहरूमध्ये स्पेनको स्पेस स्टार्टअप ‘अर्बिटल प्याराडाइम’ ले विकास गरेको ‘केआईडी’, ब्राजिलले बनाएको ‘अर्बिटल टेम्पल’, बेलायतको ‘थियस–२’ जस्ता भूउपग्रह छन् । टाइम्स अफ इन्डियाका अनुसार भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘अन्वेष’ वा ‘ईओएस–एन१’ स्याटलाइट पनि अन्तरिक्षमा पुगेको छ । भारतीय सेनाका लागि बनाइएको यो स्याटलाइट निगरानी प्रयोजनका लागि हो । यसमा रहेको ‘हाइपरस्पेक्ट्रल इमेजिङ पेलोड’ ले प्रकाशलाई मिहिन रूपमा विश्लेषण गरेर कुनै पनि वस्तु कुन पदार्थले बनेको हो भनी पहिचान गर्न सक्छ ।

इन्डिया टुडेका अनुसार रकेट उडेको ८ मिनेटसम्म सबै कुरा योजना मुताविक भइरहेको थियो । इसरोको प्रत्यक्ष प्रसारणमा रकेटको पहिलो र दोस्रो चरणमा ठीकठाक देखिएको थियो, रकेटको तेस्रो भाग पनि समयमै इग्नाइट (चालु) भयो । रकेटहरू तह–तहमा छुट्दै जान्छन् र तेस्रो तहसम्म पुग्दा सबै सामान्य नै थियो । तेस्रो चरणको काम सकिन लागेका बेला भने इन्जिनियरहरूले रकेटको गति वा दिशामा अस्वाभाविक गतिविधि पहिल्याएका थिए । पोलार स्याटलाइट लन्च भेहिकल (पीएसएलभी–सी६२) को यो ६२ औं मिसन थियो ।

सम्बन्धित अन्य समाचार 

अन्तरिक्षमा ‘मुनाल’ मिसन

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully