नेपालमा बनेको ‘मुनाल’ स्याटलाइट सोमबार अन्तरिक्षमा पठाइने भएको छ ।
What you should know
काठमाडौँ — भारतको श्रीहरीकोटास्थित सतिश धवन स्पेस केन्द्रबाट भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ‘पोलार स्याटलाइट लन्च भेहिकल’ (पीएसएलभी-सी६२) रकेटमार्फत मुनालसहित १६ वटा स्याटलाइट प्रक्षेपण गर्न लागेको हो । नेपाली समयअनुसार बिहान १०:३२ बजे प्रक्षेपण हुने तय भएको छ ।
कुल १० घन सेन्टिमिटर आकार र करिब एक किलो तौल भएको मुनाल ‘वान यु’ क्युब स्याटलाइट माध्यमिक तहका विद्यार्थीहरूको सहभागितामा निर्माण गरिएको हो । काभ्रेको बनेपा, धुलिखेल र पनौतीका विद्यार्थीहरूले काठमाडौँ विश्वविद्यालय हाइस्कुल (केयूएचएस) को स्पेस सिस्टम ल्याबोरेटरीमा मुनाल तयार पारेका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको विशेष पहल तथा सहकार्यमा मुनाल तयार भएको हो ।
यो स्याटेलाइटमा १.३ मेगापिक्सेलका आरजीबी र इन्फ्रारेड गरी दुईवटा क्यामेराहरू जडान गरिएका छन् । यसले पृथ्वीको हरियाली नक्सांकन र घनत्वको अध्ययन गर्न मद्दत गर्नेछ । यसमा प्रयोग गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको मद्दतले स्याटलाइटले उपयुक्त तस्बिरहरू छनोट गरी खिच्ने क्षमता राख्छ ।
डा. आभास मास्केको नेतृत्वमा तयार पारिएको यस परियोजनामा स्टोर एन्ड फरवार्ड (एस एन्ड एफ) मिसन र नेपाली कला एवं संस्कृति झल्काउने एउटा छुट्टै ‘आर्ट बोर्ड’ राखिएको छ । करिब दुई करोड रुपैयाँ लागतमा तयार भएको मुनाल स्याटलाइटलाई पृथ्वीबाट करिब ५ सय ५० किलोमिटर माथिको ‘सन-सिन्क्रोनस अर्बिट’ (एसएसओ) मा राखिने तयारी छ ।
अन्तरिक्षमा पुगेपछि यसले संकलन गरेका तथ्यांकहरू नाष्टमा रहेको ग्राउन्ड स्टेसनलाई पठाउनेछ । यसअघि नेपालले नेपाली स्याट-१ मार्फत अन्तरिक्ष यात्रा सुरु गरेको थियो । तथापी, मुनाल स्याटलाइट भने स्वदेशमै बसेर विद्यालय स्तरका विद्यार्थीहरूले विकास गरेका हुन् । भारतीय अन्तरिक्ष केन्द्रबाट हुने यो प्रक्षेपणलाई नेपालको अन्तरिक्ष इतिहासमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
भोलि हुने रकेट प्रक्षेपणमा नेपालको मुनाल स्याटलाइटसँगै अन्य विभिन्न देशका पेलोड (उपकरणहरू) अन्तरिक्षमा पठाइँदै छन् । इसरोले २५ वर्षको अवधिमा ४३४ वटा विदेशी उपग्रहहरू प्रक्षेपण गरिसकेको अर्बिटल टुडेको समाचारमा उल्लेख छ । जनवरी १२ को मिसनमा आठवटा विदेशी पेलोडसहित कुल १६ वटा स्याटलाइटलाई अर्बिट (पृथ्वीको कक्ष)मा पुर्याएपछि यो संख्या ४४२ पुग्नेछ ।
अन्य पेलोडहरूमध्ये स्पेनको स्पेस स्टार्टअप ‘अर्बिटल प्याराडाइम’ ले विकास गरेको ‘केआईडी’, ब्राजिलले बनाएको ‘अर्बिटल टेम्पल’, बेलायतको ‘थियस-२’ जस्ता भूउपग्रहहरू छन् । टाइम्स अफ इन्डियाका अनुसार भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ)ले विकास गरेको ‘अन्वेष’ वा ‘ईओएस-एन१’ नामक स्याटलाइट पनि अन्तरिक्षमा पठाइँदै छ । भारतीय सेनाका लागि बनाइएको यो स्याटलाइट निगरानी प्रयोजनका लागि हो । यसमा रहेको ‘हाइपरस्पेक्ट्रल इमेजिङ पेलोड’ ले प्रकाशलाई मिहिन रूपमा विश्लेषण गरेर कुनै पनि वस्तु कुन पदार्थले बनेको हो भनी पहिचान गर्न सक्छ ।
यसै मिसनमार्फत बेंगलुरुको 'अर्बिटएड एरोस्पेस' ले निर्माण गरेको ‘आयुस्याट’ पनि प्रक्षेपण गरिँदै छ । यो सफल भएमा, भारतका लागि ‘अन-अर्बिट रिफ्युलिङ’ वा अन्तरिक्षमै इन्धन भर्ने प्रविधिको प्रदर्शन गर्ने पहिलो कदम हुनेछ । अर्बिटएडका संस्थापक र सीईओ शक्ति कुमार रामचन्द्रन आयुस्याटलाई मिसन मात्र नभई ‘अन-अर्बिट अर्थतन्त्रको जग’ का रूपमा व्याख्या गर्छन् ।
