एप्पलका डिभाइसमा अब गुगलको एआई हुने

दुई ठूला प्रविधि कम्पनीको सहकार्यले डेटा र प्रविधिमा एकाधिकारको अवस्था आउनसक्ने जानकारहरूको चेतावनी छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Apple devices will now have Google's AI

What you should know

काठमाडौँ — सूचना प्रविधि कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अर्बौँ डलर लगानी गरिरहेको बेला एप्पल भने यसमा पछाडी परेको भन्दै प्रश्न उठिरहेको थियो । अब भने एप्पलले अर्को ठूलो प्रविधि कम्पनी गुगलसँग मिलेर आफ्ना प्रोडक्टहरूमा एआई फिचर विकास र समावेश गर्ने गरी सम्झौता गरेको छ ।

यसै वर्ष गुगलको एआई प्रविधि राखेर एप्पलको सिरी (भ्वाइस एसिस्टेन्ट) अपग्रेड गरिने भएको छ । सोमबार गुगल र एप्पलले संयुक्त वक्तव्य जारी गर्दै गुगलको जेमिनाइ र क्लाउड प्रविधिमा आधारित बहु-वर्षीय सहकार्यको घोषणा गरेका थिए । योसँगै आगामी दिनमा एप्पल इन्टेलिजेन्स गुगलको एआई मोडलमा आधारित हुने भएको हो ।

‘हाम्रो मिहिन मूल्यांकनले एप्पलका फाउन्डेसन मोडलहरूका लागि गुगलको एआई प्रविधि सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस सहकार्यले एप्पल प्रयोगकर्ताहरूका प्रदान गर्ने नवीन अनुभवलाई लिएर हामी उत्साहित छौँ ।’ आइफोन, म्याक, वाचजस्ता एप्पलका उत्पादन र ‘प्राइभेट क्लाउड कम्प्युट’मा एप्पल इन्टेलिजेन्स रहनेछ । तथापी, गोपनीयता नीति भने कायम रहेको दाबी गरिएको छ ।

गुगलले विज्ञापनबाट सन् २०२३ मा २३५.८६ अर्ब डलर वा कम्पनीको कुल आम्दानीको ७७ प्रतिशत हिस्सा ओगटेको थियो । एआई प्रविधिमा एप्पल र गुगलको यस सहकार्यलाई लिएर प्रविधि क्षेत्रमा आबद्ध र डिजिटल अधिकारकर्मीहरूले प्रश्न उठाएका छन् । टेस्ला र एक्सएआईका प्रमुखसमेत रहेका टेक-अर्बपती इलन मस्कले गुगलसँग पहिले नै एन्ड्रोइड र क्रोम ब्राउजर भएको अवस्थामा, यो सहकार्य गुगलका लागि अनुचित शक्ति केन्द्रिकरणजस्तो देखिने प्रतिकृया दिएका छन् । 

मस्कको टिप्पणीले मोबाइल अपरेटिङ सिस्टम र वेब ब्राउजरदेखि एआई पूर्वाधारमा समेत गुगलको विस्तार भइरहेको र अब एप्पलका डिभाइसहरूमा पनि गुगलकै एआई प्रविधि प्रयोग हुने भएपछि विश्वभरको ‘डेटा’ र  ‘प्रविधि’मा गुगल एकाधिकार हुनसक्ने औँल्याएको छ । गुगलले विज्ञापनबाट सन् २०२३ मा २३५.८६ अर्ब डलर वा कम्पनीको कुल आम्दानीको ७७ प्रतिशत हिस्सा ओगटेको थियो । गुगलको बजार पूँजिकरण २ ट्रिलियन डलरभन्दा धेरै पुगेको छ । 

एप्पलसँग आईओएस अपरेटिङ सिस्टम छ । सन् २०२४ मा विश्वव्यापी स्मार्टफोन बजारमा करिब २८ प्रतिशत आईओएस डिभाइस थिए । दुई ठूला कम्पनीको साझेदारीले एआई मोडलको विकास यस्तै केही ठूला कम्पनीमा सिमित रहने जोखिम उत्पन्न गराएको विश्लेषकहरूको टिप्पणी छ । एप्पल र गुगलजस्ता विशाल कम्पनीहरू एकै ठाउँमा आउँदा, साना एआई स्टार्टअपहरूलाई बजार प्रवेश गर्नै गाह्रो हुने जर्मनीको ‘पीपीसी ल्यान्ड’ पोर्टलमा लुइस रिजोले लेखेका छन् ।

सन् २०२४ मा एप्पलले ओपेनएआईसँग सहकार्य गर्दै आइफोन लगायत डिभाइसमा च्याटजीपीटी सुविधा सार्वजनिक गरेको थियो । एप्पलको सीरीले जटिल प्रश्नको उत्तर नआए च्याटजीपीटीलाई सोध्ने सुविधा दिँदै आएको थियो । रोयटर्सका अनुसार ओपेनएआईसँगको साझेदारीमा कुनै परिवर्तन नभएको एप्पलले जनाएको छ ।     

सम्बन्धित समाचार

ओपनएआईले च्याटजीपीटीमा सार्वजनिक गर्‍यो ‘हेल्थ’ फिचर

रिल्सबाट मेटाको आम्दानी ५० अर्ब डलर

कान्तिपुर संवाददाता

Link copied successfully