ओपनएआईले च्याटजीपीटीमा सार्वजनिक गर्‍यो ‘हेल्थ’ फिचर

अमेरिका, बेलायत र युरोपका केही देशमा सुरु भएको च्याटजीपीटी हेल्थले ल्याब रिपोर्ट बुझ्नदेखि स्वास्थ्य ट्र्याकिङसम्मका काममा सहयोग गर्ने ओपनएआईले जनाएको छ ।

पुस २५, २०८२

एजेन्सी

OpenAI launches 'Health' feature on ChatGPT

What you should know

काठमाडौँ — स्वास्थ्यसम्बन्धी व्यक्तिविशेष सेवा र जानकारी दिने गरी  ओपनएआईले च्याटजीपीटीभित्रै ‘हेल्थकेयर’ फिचर सुरु गरेको छ । ‘च्याटजीपीटी हेल्थ’ नाम दिइएको यो सेवा खासगरी स्वास्थ्य क्षेत्रका लागि बनाइएको प्रविधि भएको ओपनएआईले ब्लगमा उल्लेख गरेको छ । हाल यो अमेरिका, बेलायत, स्विट्जरल्यान्डसहित युरोपका केही देशमा उपलब्ध छ ।  

अस्पताल, डाक्टर र बिरामीहरूका लागि डिजाइन गरिएको च्याटजीपीटी हेल्थलाई अमेरिकाको मायो क्लिनिक, एड्भेन्ट हेल्थ, यूसीएसएफजस्ता ठूला अप्पतालहरूले प्रयोग गर्न थालिसकेको ओपनएआईले जनाएको छ । यसलाई अस्पतालको मेडिकल रेकर्ड प्रणाली (ईएचआर) सँग जोड्न मिल्ने र त्यसपछि यसले बिरामीको पुरानो ल्याब रिपोर्ट, औषधीको विवरण र हेल्थ हिस्ट्री विश्लेषण गर्न सक्ने भनिएको छ ।  

यसले डाक्टरहरूलाई बिरामीको ‘डिस्चार्ज समरी’ लेख्न, जटिल रिपोर्टहरू बुझ्न र प्रशासनिक कामको बोझ घटाउन मद्दत गर्ने दाबी गरिएको छ । बिरामीहरूले पनि आफ्नो ल्याब रिपोर्टको अर्थ बुझ्न, डाक्टरलाई सोध्नुपर्ने प्रश्नको सूची तयार गर्न र आफ्नो स्वास्थ्य अवस्था ट्र्याक गर्न यसलाई प्रयोग गर्न सक्ने ओपनएआईले जनाएको  छ । यसलाई एप्पल हेल्थ, माई फिटनेस पलजस्ता एपसँग जोडेर खानपान र व्यायामसम्बन्धी व्यक्तिगत सल्लाह लिन सकिने भनिएको छ ।

प्रयोगकर्ताले सेयर गरेका स्वास्थ्य विवरणहरू कुनै पनि मोडलको ट्रेन गर्न प्रयोग नहुने कम्पनीले स्पष्ट पारेको छ । साथै, च्याटजीपीटीभित्र ‘हेल्थ’ भन्ने छुट्टै स्पेस रहने र त्यसमा गरिएका कुराहरू अन्य च्याटसँग नमिसिने कम्पनीले आश्ववस्त पारेको छ । अमेरिकाको स्वास्थ्य गोपनीयतासम्बन्धी कानुन (हिप्पा)का मापदण्डअनुसार नै यो प्रविधि तयार पारिएको ओपनएआईले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार च्याटपीटीमा प्रत्येक हप्ता २३ करोडभन्दा धेरै प्रयोगकर्ताले स्वास्थसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् । च्याटजीपीटी हेल्थ फिचरको उद्देश्य रोग पत्ता लगाउन वा उपाचार गर्न नभई स्वास्थ सेवालाई सघाउनु रहेको ओपनएआईको स्पष्टोक्ति छ । ‘स्वास्थकर्मीलाई विस्थापित गर्न होइन, स्वास्थ सेवालाई सघाउन यो फिचर डिजाइन गरिएको हो,’ कम्पनीले भनेको छ, ‘यसले बिरामी भएपछि मात्रै होइन, तपाईंको दैनिक जीवनमा आउने सामान्य स्वास्थ्य जिज्ञासाहरू सुल्झाउन र समयसँगै तपाईंको स्वास्थ्यमा आइरहेका परिवर्तन वा प्याटर्न बुझ्न मद्दत गर्छ ।’ 

चिकित्सकहरूसँगको सहकार्यमा यो प्रविधि विकास गरिएको कम्पनीको दाबी छ । विगत दुई वर्षमा ६० देशका २६० फिजिसियन र दर्जनौँ विशेषज्ञहरूसँग सहकार्य गरिएको ओपनएआईले जनाएको छ । विज्ञहरूले यस्ता फिचरहरू डाक्टरको विकल्पका रूपमा होइन, डाक्टरलाई सोध्ने प्रश्नहरू तयार पार्न प्रयोग गर्न सकिने सुझाव दिएका छन् । गम्भीर वा आपतकालीन अवस्थामा सिधै अस्पताल जान र कुनै पनि नयाँ औषधि वा सप्लिमेन्ट सुरु गर्नुअघि आधिकारिक डाक्टरसँगै परामर्श लिन उनीहरूले सचेत गराएका छन् । 

एजेन्सी

Link copied successfully