रिल्सबाट मेटाको आम्दानी ५० अर्ब डलर

फेसबुक र इन्स्टाग्रामका ‘रिल्स’बाट मात्रै मेटाको वार्षिक आम्दानी ५० अर्ब डलर नाघेको छ । योसँगै मेटाका लागि रिल्स सबैभन्दा सफल फिचर बनेको छ । यति मात्र नभएर ‘क्रिएटर इकोनोमी’ क्षेत्रमा रिल्सले मेटालाई विश्वकै अग्रणी बनाएको भन्दै विश्लेषण भइरहेका छन् ।

पुस २३, २०८२

एजेन्सी

Meta's revenue from Reels is $50 billion

What you should know

काठमाडौँ — मेटाले सन् २०२० को अगस्टमा इन्स्टाग्राममा रिल्स फिचर समावेश गरेको थियो । टिकटकको नक्कलका रूपमा सुरु गरिएको यो सेवाबाट त्यो बेला कुनै पनि आम्दानी हुँदैन थियो । तर, अहिले यो कोकाकोला र नाइकी जत्तिकै आम्दानी ल्याउने प्लाटफर्मका रूपमा अघि बढिरहेको वाल स्ट्रिट जर्नलमा पत्रकार मेघन ब्रेवस्कीले उल्लेख गरेकी छन् ।

कम्पनीले सन् २०२६ मा रिल्सलाई अझ व्यापक बनाउने योजना सार्वजनिक गरिसकेको छ । त्यसअन्तर्गत टीभीमै इन्स्टाग्राम रिल्स हेर्न मिल्ने फिचर विकास भइरहेको छ । केही हप्ता अघि मात्रै मेटाले अमेजन फायर टीभी डिभाइसमा यसको परीक्षण सेवा सुरु गरेको थियो । धेरै प्रयोगकर्ताले मोबाइल स्क्रिन टीभीमा मिरर गरेर रिल्स हेर्ने गरेको पाइएपछि टीभीका लागि नै रिल्स ल्याउने तयारी गरिएको कम्पनीले जनाएको हो ।

मेटा प्लाटफर्म्सका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले अक्टोबरमा आर्थिक विवरण सार्वजनिक गर्ने क्रममा इन्स्टाग्राम र फेसबुक रिल्सबाट हुने आम्दानी वार्षिक ५० अर्ब डलर नाघेको बताएका थिए । विश्लेषकहरूका अनुसार युट्युबले यस वर्ष विज्ञापनबाट करिब ४६ अर्ब डलर आम्दानी गर्ने अनुमान छ । अनुसन्धान संस्था ईमार्केटरले टिकटकको आम्दानी १७ अर्ब डलर हुने प्रक्षेपण गरेको छ ।

जकरबर्गले रिल्सको सफलताको श्रेय कम्पनीको ‘एआई रिकमेन्डेसन प्रणाली’लाई दिएका छन् । उनका अनुसार उक्त प्रणालीले प्रयोगकर्तालाई उच्च गुणस्तरीय र सान्दर्भिक सामग्री देखाउन सहयोग गर्छ । ‘फेसबुक र इन्स्टाग्राममा भिडियोले सबैभन्दा राम्रो नतिजा दिइरहेको छ, यो सबैभन्दा उज्यालो पक्ष बनेको छ,’ जकरबर्गले भनेका छन्, ‘अघिल्लो वर्षको तुलनामा मानिसहरूले इन्स्टाग्राममा भिडियो हेर्न ३० प्रतिशत बढी समय खर्च गरिरहेका छन् ।’

रिल्सको विज्ञापनबाट मेटाजस्ता कम्पनीले वार्षिक अर्बौँ डलर कमाइ गरे पनि भिडियो बनाउन निरन्तर मेहनत गर्ने क्रिएटरहरूले भने त्यसको उचित हिस्सा नपाएको बिजनेस इनसाइडरका वरिष्ठ पत्रकार पिटर काफ्काले विश्लेषण गरेका छन् । उनका अनुसार कन्टेन्ट क्रिएटरहरूको श्रमबाट आउने आम्दानीको ठूलो हिस्सा प्लाटफर्महरू आफैँले राख्छन् । ‘प्लाटफर्महरूले क्रिएटरहरूको श्रमबाट आफ्नो साम्राज्य खडा गरिरहेका छन्,’ उनले लेखेका छन्, ‘संसारको कुनै पनि ठाउँमा कुनै पनि काम गरेर वर्षको ५० अर्ब डलर आम्दानी गर्न गाह्रो छ । तर अरूले बनाएको सामग्री प्रयोग गरेर, त्यो पनि झन्डै निःशुल्क पाएजस्तै गरेर, ५० अर्ब डलरको साम्राज्य खडा गर्नु चानचुने साहस होइन ।’

केही वर्षअघिसम्म मेटाका लागि अवस्था यति अनुकूल थिएन । त्यतिबेला मेटाको आन्तरिक अनुसन्धानले इन्स्टाग्राम टिकटकको नक्कल गर्न संघर्ष गरिरहेको देखाएको थियो । द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०२२ सम्म आइपुग्दा, इन्स्टाग्राम प्रयोगकर्ताहरूले रिल्समा जति समय बिताउँथे, त्यो टिकटकमा बिताउने समयको दश भागको एक भाग मात्रै थियो । 

इन्स्टाग्रामको प्रोडक्टतर्फकी उपाध्यक्ष टेसा लायन्सले द वाल स्ट्रिट जर्नललाई बताएअनुसार पहिलो चुनौती फोटो केन्द्रित प्लेटफर्ममा छोटा भिडियो कसरी समावेश गर्ने भन्नेमा थियो । त्यसपछि, प्रयोगकर्ताले फलो नगरेका खाताबाट पनि रिल्स फेला पार्न सक्ने व्यवस्था गर्नु अर्को चुनौती थियो । यसअघि इन्स्टाग्रामको अल्गोरिदम ‘फलोइङ ग्राफ’मा आधारित थियो । त्यसमा प्रयोगकर्ताले फलो गरेका साथी, सेलेब्रिटी वा क्रिएटरका पोस्ट मुख्य रूपमा देखिन्थे । टिकटकले यही अवधारणा उल्ट्यायो । उसले प्रयोगकर्ताले फलो नगरेका खाताका भिडियो देखाउँदै, प्रत्येक भिडियोमा कति समय बिताइयो भन्ने आधारमा रुचि बुझ्ने प्रणाली विकास गर्‍यो ।

इन्स्टाग्रामले पनि टिकटककै शैली अपनाउँदै मौलिक सामग्रीलाई प्राथमिकता दिन थाल्यो र क्रिएटरलाई केही मात्रामा पारिश्रमिक दिन सुरु गर्‍यो । प्रयोगकर्ताले रिल्स स्क्रोल गर्दा इन्स्टाग्रामको अल्गोरिदमले उनीहरू के हेर्न चाहन्छन् भन्ने कुरा अझ राम्रोसँग अनुमान गर्न थालेको छ ।

मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावरको अनुमानअनुसार हाल औसत इन्स्टाग्राम प्रयोगकर्ताले दिनमा करिब २७ मिनेट रिल्स हेर्छन् । यो समय युट्युब सर्ट्स प्रयोगकर्ताले त्यहाँ बिताउने औसत २१ मिनेटभन्दा बढी हो । यद्यपी, टिकटक अझै पनि अग्रस्थानमै छ, यसमा प्रयोगकर्ताले दिनमा औसत ४४ मिनेट समय बिताउँछन् ।

एजेन्सी

Link copied successfully