अनधिकृत भीपीएन प्रयोगले व्यक्तिगत विवरण जोखिममा पर्ने प्रहरीको चेतावनी

अविश्वसनीय भीपीएन सेवाबाट व्यक्तिगत विवरण चुहावट र बैंकिङ एप ह्याक हुने भन्दै ब्युरोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Police warning that unauthorized VPN use could put personal details at risk

What you should know

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले जथाभावी भीपीएन प्रयोग गर्दा हुने जोखिमबारे सचेत गराएको छ। नेपालमा सूचीकृत नभई सञ्चालन हुने सामाजिक सञ्जाल प्लाटफर्मलाई निष्क्रिय बनाइने सरकारको चेतावनीमाझ ब्यूरोले बुधबार भीपीएनसम्बन्धी सूचना निकाल्दै यस्तो आग्रह गरेको हो।

अनधिकृत र अविश्वसनीय भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुन सक्ने ब्यूरोले औँल्याएको छ । साथै, बैंकिङ एप ह्याक भई आर्थिक क्षति हुनसक्ने सूचनामा भनिएको छ । योसँगै, मालवेयर/भाइरस आक्रमणको उच्च जोखिम हुने जनाएको छ ।

भीपीएन कति सुरक्षित र भरपर्दो हुन्छ भन्ने कुरा त्यस्तो सेवा दिने कम्पनी वा प्रदायक कति विश्वसनीय छ भन्नेमा भर पर्ने आशयको नारा पनि ब्यूरोले सूचनामा समावेश गरेको छ । सरकारले समामाजिक सञ्जाल बन्द गरे प्रयोगकर्ताले भीपीएनमार्फत चलाउने सम्भावना हुन्छ । यसअघि टिकटक प्रतिबन्धित हुँदा भीपीएन र ओपन डीएनएसको प्रयोग ह्वात्तै बढेको थियो । त्यसले अश्लील साइटलाई फाइदा पुगेको इन्टरनेट सेवा प्रदायकहरूको गुनासो थियो ।

भीपीएनको पूरा रूप भर्चुअल प्राइभेट नेटवर्क हो । यस्तो सेवा प्रयोग गर्दा डेटा सीधै वेबसाइटमा जानुको सट्टा, इन्क्रिप्ट भएर भीपीएन सर्भर हुँदै त्यहाँबाट मात्र वेबसाइटमा पुग्छ । यसले प्रयोगकर्ताको डेटालाई एउटा सुरक्षित सुरुङभित्रबाट पठाएजस्तै काम गर्छ । यसले प्रयोगकर्ताको इन्टरनेट ट्राफिकलाई अरू देशको सर्भरमार्फत घुमाएर चलाउने सुविधा दिने भएकाले नेपालमा प्रतिबन्धित वेबसाइट वा एप पनि चलाउन मिल्ने हुन्छ । 

भीपीएनले प्रयोगकर्ताको आईपी ठेगाना वा लोकेसन लुकाउने भएकाले यसको दुरुपयोग गरेर विभिन्न साइबर अपराध र गैरकानूनी कामहरू हुन सक्छन् । साइबर अपराध अनुसन्धानमा अपराधी पत्ता लगाउन प्रहरीलाई भीपीएन चुनौती बन्ने गरेका छन् ।  

कान्तिपुर

Link copied successfully