साउन शुक्ल तृतीयामा मनाइने तीजले भाइ भतिजाको दीर्घायुको कामना गर्दै दिदीबहिनीलाई जोड्छ।
What you should know
कञ्चनपुर — प्रायः अङ्गिया र घघरियासहितको परम्परागत पहिरनमा सजिएका छन् । कसैले धोती र ब्लाउज पनि लगाएका छन् । सबै जना गीत गाउँदै पिङ (साउनको डोला) मा रमाउँदै छन् । पिङ छेउमै बसेका महिलाहरू पनि साउनको डोलामा गाइने गीत गाइरहेका छन् ।
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएको राना थारू समुदायले आइतबार धूमधाम साथ तीज मनाए । उनीहरूले दुई सातासम्म साउनको डोलामा पिङ खेल्दै आइतबार तीजको समापन गरेका हुन् । राना थारू समुदायले साउन शुक्ल तृतीयाका दिन तीज मनाउँछन् । तीजभन्दा १५ दिन अघिनै साउनको डोला राखिन्छ । प्रायः सालको बल्ली र त्यसकै अन्य काठलाई बाबियो वा मालुको डोरीले बाँधेर साउनको डोला मनाइन्छ । त्यही डोलामा हरेक दिन साँझ महिलाहरू पिङ खेल्छन् । विभिन्न गीतहरू पनि गाउँछन् ।
‘भाइ भतिजाको दीर्घायुका लागि यो पर्व मनाउने गरिन्छ, त्यस्तै गीत पनि गाउँछौँ,’ भीमदत्त नगरपालिका–१६ नयाँ कटानकी कैलाशु रानाले भनिन्, ‘रोपाइँ सकिएपछि थकाइ मार्ने र दिदीबहिनीबीच भेट हुने माध्यम पनि यही तीज हो ।’ उनका अनुसार तीजका दिन महिलाहरू व्रत बस्छन् । विभिन्न किसिमका खानाका परिकार बनाइन्छ । दिउँसोको समयमा सिरु (एक प्रकारको घाँस) मा गाँठा पारिन्छ । विवाहित महिलाले ७ वटा र अविवाहितले ५ वटा गाँठा पार्छन् । उक्त गाँठो पारिएको घाँस चाँदीको सिक्काले काटिन्छ । त्यसपछि सबै एकपटक पिङमा रमाउँछन् ।
साँझपख महिलाहरू खानाका परिकार र गाँठो पारिएको घाँस नजिकको नदी वा खोलामा बगाउँछन् । त्यसपछि घर फर्केर खाना खान्छन् । ‘अरूले मनाउने तीजभन्दा हाम्रो तीज एक महिना अघि हुन्छ,’ किस्मती रानाले भनिन्, ‘यो एक महिनासम्म मनाउँछौँ ।’
तर पछिल्लो समय तीज मनाउने चलन भने घट्दै गएको छ । विगतमा एक महिनासम्म साउनको डोलामा रमाउँदै तीज मनाउने चलन भए पनि अहिले भने १०/१५ दिन मात्रै मनाइन्छ । साउनको डोलामा खेल्नेहरू पनि निकै कम छन् । ‘पहिले जस्तो सबै फुर्सदिला पनि छैनन्, फेरि सबैले मनाउँदैनन् पनि,’ किस्मतीले भनिन्, ‘पहिले जस्तो सामग्री समेत पाइँदैन ।’
साउनको डोला बनाउनेदेखि पूजा गर्नेसम्मका काममा प्राकृतिक सामग्रीको प्रयोग हुन्छ । कमिलाको पूजा गरेर साउनको डोलाको प्रारम्भ गरिन्छ । त्यसमा पनि काठ र बाबियो वा मालुको डोरीको प्रयोग गरिन्छ । ‘तर अहिले काठ पनि पाइँदैन, जंगलमा बाबियो र मालु पनि पाइन छाड्यो,’ राना थारु समुदायका अगुवा चेतराम रानाले भने, ‘विगतमा घरघरबाट काठ ल्याउँथे, डोरीका लागि सबै जना युवा जंगलमा जान्थ्यौँ, दुईचार दिन लगाएर डोरी बनाइन्थ्यो ।’
तर अहिले गाउँमा कसैसँग पनि सालको काठ छैन । त्यसपछि बाबियो र मालु पनि जंगलमा पाइँदैन । रानाले फलामको पाइपमा डोला बनाएका छन् । उनले डोरी पनि बजारबाटै ल्याएका हुन् । डोला सजाउन बजारबाटै प्लास्टिकका फूलहरू पनि ल्याएका छन् । ‘अब पहिले जस्तो डोलामा खेल्ने पनि छैनन्, सामग्री पनि छैन,’ रानाले भने, ‘नयाँ पुस्तासम्म पुर्याउन पनि यसलाई निरन्तरता दिनु आवश्यक छ ।’
