सामाजिक सन्देशले भरिएको डेभिडको 'ए चेलीबेटी' गीतमा दीपक शर्माको शब्द र संगीतले भावनात्मक गहिराइ थपेको छ।
What you should know
विराटनगर — नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर क्रियाशील गायक डेभिड शंकरले नयाँ गीत ‘ए चेलीबेटी’ सार्वजनिक गरेका छन् ।
आफ्नो जन्मदिनको विशेष दिन पारेर शनिबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो सामाजिक सन्देशले भरिएको छ ।
२०६० को दशकमा ‘पाँचथर तारा’ र ‘मेची तारा’ जस्ता प्रतिष्ठित रियालिटी शोहरूबाट उदाएका डेभिड दर्जनौं लोकप्रिय गीतका माध्यमबाट श्रोतामाझ परिचित छन् । छक्का पञ्जा–१ मा समावेश दर्शन सलाम र पहिलो नम्बरमा तथा ‘पञ्चेबाजा’को घिनघिन मादलजस्ता गीतहरू उनका सशक्त परिचय बनेका छन् ।
‘ए चेलीबेटी, सेवा गर्ने मौका देउ एक चोटी’ भन्ने मार्मिक बोलको यस गीतमा चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द र संगीतले भावनात्मक गहिराइ थपेको छ । गीतले चेलीबेटीप्रतिको समाजको सोच, सेवा गर्ने अवसरप्रतिको आग्रह र समानताको चाहनालाई उजागर गर्छ । डेभिडको भावपूर्ण गायनले यस गीतलाई झनै प्रभावशाली बनाएको छ ।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त छ । निर्देशक गम्भीर विष्ट र सम्पादक प्रवीण भट्टको संयोजनमा बनेको भिडियोलाई अभिनय पक्षले विशेष बनाएको छ । दीपाश्री निरौला, रीमा बिश्वकर्मा, मिस पवी, कुसुम शर्मा, राजेश घतानी, कुमारमणि गजुरेल, शुधिर श्रेष्ठ, निरा शंकर, मिरा शंकर र स्वयं डेभिड शंकरको अभिनयले भिडियोमा गहिरो जीवन्तता थपेको छ ।
तीज पर्वको सन्दर्भमा सार्वजनिक भएको यो गीत गायक डेभिडको सांगीतिक यात्राको अर्को महत्वपूर्ण खुट्किलो हो । सामाजिक चेतनामूलक सन्देशसहित प्रस्तुत यो गीतमार्फत उनले फेरि एकपटक प्रमाणित गरेका छन्, संगीत केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक रूपान्तरणको सशक्त हतियार पनि हो ।
‘ए चेलीबेटी गीत तीजका लागि मात्र नभई, समाजका चेलीबेटीप्रतिको दृष्टिकोण बदल्ने एउटा सन्देश पनि हो’, गायक डेभिड भन्छन् ।
