कोरिया पुग्ने सपनासँगै ढले शाह

पुस १३, २०८०

मेनुका ढुंगाना

अछाम — अछामको चौरपाटी गाउँपालिका-१, सिउडीका २३ वर्षीय वीरेन्द्र शाह दसैंमा घर आए । वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर गएका उनको शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर मृत्यु भएको छ ।

 शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं पुगेका थिए ।

सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेको उनका छिमेकी हजुरबुवा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहले बताए ।

‘यतै बसेर जागिर गर्ने भनेर नै भेटेनरी जेटिए पढेको थियो । मैले नै पढाएको विद्यार्थी हो, अरुभन्दा पढाइमा पनि राम्रै थियो,’ उनले भने ,‘ आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं गयो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था छैन ।’

उनका अनुसार वीरेन्द्रका दाई लामो समयदेखि सपरिवारसहित भारतमा छन् । ‘वीरेन्द्रका बुवालाई हातमा प्यारालाइसिस भएको धेरै भइसक्यो । दुःखै गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले सम्हाल्न सकिएको छैन’ उनले भने ,‘आमा घरमा बेहोस भएकी छन् । उनको बुवालाई लगेर म अछामबाट काठमाडौं जाँदैछु ।’

पढाइमासमेत अब्बल भएका शाहले विदेश जाने बेला बुवाआमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर गएका थिए ।

‘दसैंमा आउदा बुवाआमालाई केही चिन्ता नगर्नु म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो । तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका बुवाले जानु पर्ने समय आयो ।’

बालकुमारी घटना

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully