काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरको बालकुमारीमा भएको प्रदर्शन, झडप र दुई युवाको मृत्यु भएकोसम्बन्धी घटनामा अनुगमन थालेको छ । कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै युवाहरूले गरिरहेको प्रदर्शनका क्रममा भएको घटनामा परी सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको छ भने अन्य केही घाइते छन् । आक्रोशित बनेका प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगजनीसमेत गरेका छन् ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले घटनाका सम्बन्धमा मानव अधिकार आयोगले अनुगमन थालेको बताए ।
‘इपिएस परीक्षाका सबै तर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘प्रदर्शनकै क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको, आगजनी गरिएको गाडीमा सवार सबैजना सकुसल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको भन्ने जानकारी आयोगलाई प्राप्त भएको छ ।’
आयोगले शुक्रबारै स्थलगत अनुगमनका लागि टोली पठाएको जनाएको छ ।
