काठमाडौँ — नेपाली कांग्रेसले कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनमा उत्रिएका युवाहरुको मागमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । प्रदर्शनका क्रममा भएको झडप र दुई जनाको मृत्युसहित अन्य केही घाइते भएका विषयमा दु:ख व्यक्त गर्दै कांग्रेसले प्रदर्शनकारीहरुका मागमा गम्भीर बन्न र घाइतेहरुको उपचारको व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो ।
'कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर ललितपुरको बालकुमारीस्थित इपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात् प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,' प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।'
घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गर्दछौँ ।'
उनले हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न र संयमता अपनाउनसमेत आग्रह गरेका छन् ।
