गत साउनमा जहाज निर्माणको क्षेत्रमा फाराम भरेका ३२ हजार जनाले उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी हुन पाएनन् । कोरियाको नीति अनुसार एक वर्षभित्र एउटा क्षेत्रको मात्रै परीक्षार्थीलाई भाषा परीक्षा रोज्न पाउने विकल्प दिइएको छ ।
काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाले १६ वटा देशमा एउटै भाषा परीक्षा प्रणाली बमोजिम कामदार भर्ना गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
‘कोरियाले १६ वटा श्रोत देशबाट भाषा परीक्षामा छनोट गरी कामदार भर्ना गर्दै आएको छ । नेपालको लागि मात्रै अलग होइन’, श्रम मन्त्रालयको रोजगार ब्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले इकान्तिपुरसँग भने,‘नेपालले भाषा परीक्षाको लागि सहजीकरण गर्ने मात्रै हो ।’
कोरियाले एउटा क्षेत्र रोजेर भाषा परीक्षामा सहभागी भएकालाई एक वर्षभित्रै अर्को भाषा परीक्षामा सहभागी नगराउने नीति छ । जहाज निर्माणको क्षेत्र रोजेर भाषा परीक्षा दिएकाहरुलाई उत्पादन क्षेत्रको लागि खुलाइएको भाषा परीक्षामा सहभागी गराइएको थिएन ।
उनीहरुले आफूहरुलाई पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी गराउनुपर्ने भन्दै शुक्रबर वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली शाखा (इपीएस)को कार्यालयमा प्रर्दशन गरेका थिए । आक्रोशित प्रर्दशनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ को गाडीमा आगजनी गरेका हुन् । गाडी जलेर नष्ट भएको छ । काठमाडौंको बालकुमारीमा भएको प्रदर्शनमा एक जनाको मृत्यु समेत भएको छ । अर्का एक जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।
इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले साउनमा जहाज निर्माणको लागि ३२ हजार जनाले भाषा परीक्षामा सहभागी भएको बताए । त्यसमध्ये शुक्रबार ३९ सय ८९ जना मात्रै उतिर्ण भएका थिए ।
‘कोरियाको मानव संशाधन विभागको नीतिअनुसार उत्पादन क्षेत्रमा काम गर्न इच्छुकको लागि पुस २ गते देखि ६ गतेसम्मको लागि भाषा परीक्षा खुलाइएको थियो । त्यसमा साउनमा जहाज निर्माण क्षेत्र रोज्ने ३२ हजार जनाले उत्पादन क्षेत्रको परीक्षामा सहभागी गराउन सकिएन’, उनले भने,‘यो प्रावधानबारे पहिला नै परीक्षार्थीलाई थाहा थियो ।’
जहाज निर्माण क्षेत्र रोजेर उत्पादन क्षेत्रमा भाषा परीक्षाको फाराम भर्न पाउँ भन्दै गत मंसिर १९ देखि नै इपिएस शाखामा नियमित धर्ना दिँदै आएका थिए । उनीहरु मध्ये १८ जना उच्च अदालत, पाटनमा परीक्षामा सहभागी पाउँ भन्दै रिट निवेदन दिएका थिए । रिट निवेदन दिएका निवेदकहरुलाई मात्रै उत्पादन क्षेत्रका भाषा परीक्षामा सहभागी गराउनको लागि उच्च अदालतले पुस ५ गते अन्तरीम आदेश दिएको थियो । त्यो आदेश अनुसार इपिएसले १८ जना निवेदकलाई परीक्षाको फाराम भर्नको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो ।
‘अदालतामा रिट दिने निवेदक बाहेक पनि भाषा परीक्षामा सहभागी गराउनु भन्दै भेला भए । अदालतले निवेदकलाई मात्रै किटान गरेकोले अरुलाई सकिने अवस्था भएन’, निर्देशक सुवेदीले भने । उत्पादन क्षेत्रको भाषा परीक्षामा एकलाख ४३ हजार ८ सय १२ जनाले फाराम भरेका छन् । उनीहरुलाई फागुन पहिलो साताबाट दैनिक ८ सय जनालाई परीक्षामा सहभागी गराइनेछ ।
‘हामीले सबै क्षेत्रको एकैपटक परीक्षा गराउन कोरियालाई अनुरोध गर्दै आइरहेका छौं । त्यसबेला नै परीक्षार्थीले क्षेत्र रोज्न पाउने सुविधा दिनुपर्छ भनिरहेका छौं’, उनले भने,‘यो प्रस्तावमाथि कोरियासँग छलफल भइरहेको छ । कोरियाबाट सकारात्मक जवाफ आउने अपेक्षा छ ।’
यसअघि कोरियाले उत्पादन र कृषि क्षेत्रमा मात्रै नेपाली कामदारलाई लैजाने गरेको थियो । त्यसबेला पनि भाषा परीक्षाको फाराम बुझाउने बेला नै उत्पादन र कृषि क्षेत्रमध्ये एक रोज्नुपर्दथ्यो । अब कोरियाले उत्पादन, कृषिसँगै जहाज निर्माण, सेवा र निर्माण क्षेत्रमा पनि नेपालीलाई लैजान लागेको हो । त्यसमध्ये जहाज निर्माणको क्षेत्र भने परिक्षा नै भइसकेको छ ।
