यो खेलमा फेरि एकपल्ट विश्व स्टार क्रिस्टियानो रोनाल्डोको खेल जीवनको भविष्यबारे प्रश्न रहनेछ ।
What you should know
डालास — स्पेनले सोमबार विश्वकपमा पोर्चुगलको सामना गर्दै छ । यो खेललाई हेर्दा लाग्न सक्नेछ, अब भने विश्वकप सुरु भएको छ, त्यो पनि साँच्चै । यस खेलमा जितको अर्थ हुनेछ, क्वाटरफाइनल प्रवेश ।
यो खेलमा फेरि एकपल्ट विश्व स्टार क्रिस्टियानो रोनाल्डोको खेल जीवनको भविष्यबारे प्रश्न रहनेछ । खेल एनएफएलको डालास काउ ब्वाइजमा हुनेछ र यो यस विश्वकपकै दुई प्रतिभाशाली टिमबीचको भिडन्त हुनेछ ।
अहिलेका लागि युरोपेली च्याम्पियन स्पेन नै लयमा देखिन्छ । टोलीले नकआउट चरणको पहिलो खेलमा अस्ट्रियालाई हराएको थियो । त्यसमा मिकेल आयरजाबलले दुई गोल गरे । लस एन्जलसमा भएको त्यस खेलको अन्त्यतिर पेड्रो पोरोले हलिउड शैलीमा एक गोल पनि थपे । उपाधि जित्ने प्रयासका रूपमा मैदानमा उत्रेको स्पेनको सुरुआत भने राम्रो रहेन । केप भार्डे जत्तिको टिमसँग गोलरहित बराबरीमा रोकियो भनेर आलोचना पनि भएको थियो ।
अहिले भने सायद स्पेनले लय समातेको छ । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे भन्छन्, ‘मलाई लाग्छ, हामीले उत्कृष्ट फुटबल खेलिरहेका छौं । म टिमको प्रदर्शनमा खुसी छु र मलाई के पनि लाग्छ भने टिम आफ्नो उत्कृष्ट लय समात्ने छेउछाउमा छ ।’
उनी आफ्ना खेलाडीलाई के पनि चेतावनी दिन्छन् भने प्रदर्शनमा सुधार आएन भने अरू विकल्प टिममा मज्जाले उपलब्ध छ । ‘यो नै अहिले टिमको मन्त्र हो । टिमको विश्वास छ, हामीले अझ धेरै राम्रो खेल्न सक्छौं,’ ६५ वर्षीय प्रशिक्षक दाबी गर्छन् । दुई वर्षअगाडि उनकै नेतृत्वमा स्पेनले युरोपेली उपाधि पनि जितेको थियो । अस्ट्रियाविरुद्ध प्राप्त जितको एउटा अर्को विशेषता पनि छ । यो हो, त्यसमा ‘प्लेयर अफ द म्याच’ जित्ने खेलाडी लामिन यामल थिए । उनले सबैको मन जित्ने खालको खेल प्रदर्शन गरेका छन् ।
क्यालिफोर्नियामा बार्सिलोनाका १८ वर्षीय खेलाडीले ८५ मिनेट मैदानमा बिताए । चोटमुक्त भएर मैदानमा फर्केयता यामलले मैदानमा बिताएको यो नै सबैभन्दा बढी समय हो । यामलले त्यस खेलपछि भनेका थिए, ‘म हाम्रो टिम अझ अगाडि बढोस् भन्ने चाहन्छु र अन्तिम लक्ष्य त विश्वकप उपाधि नै हो । हामी कुनै पनि विपक्षी टिमसँग डराउँदैनौं किनभने हामी स्पेन हौं । म त भन्छु, विश्वकप अब सुरु भएको छ ।’
खेलको केन्द्रविन्दुमा ४१ वर्षीय रोनाल्डो पनि रहनेछन् । यी पोर्चुगाली कप्तानका लागि अहिले प्रत्येक खेल विश्वकपको अन्तिम खेल हुने डर छ । विश्व फुटबलमा आफ्नो देशका लागि सबैभन्दा बढी खेल खेलेका खेलाडीले भविष्यबाट यही हुन्छ भनेर अहिलेसम्म भनेका छैनन् । डीआर कंगोविरुद्धको खेलमा संघर्षरत देखिएका रोनाल्डोले उज्वेकिस्तानविरुद्धको जितमा भने दुई गोल गरेका थिए ।
त्यसपछि रियल म्याड्रिड, युभेन्ट्स र म्यानचेस्टर युनाइटेडका पूर्वस्टार खेलाडी रोनाल्डोले घोषणा गरेका थिए, ‘अब भने म खेलमा फर्कें ।’ लिग चरणमा कोलम्बियापछि दोस्रो भएको रोबर्टो मार्टिनेजको टिमले अन्तिम ३२ को खेलमा भने क्रोएसियाको चुनौती समाप्त पारेको थियो । त्यसमा एक गोल पेनाल्टीबाट रोनाल्डोले पनि गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएका बेला उनको स्थानमा रुबेन नाभेसलाई उतारिएको थियो ।
यसअघि प्रशिक्षक मार्टिनेजमाथि एउटा आरोप थियो, जस्तै स्थितिमा पनि रोनाल्डोलाई सब्स्टिच्युट गर्न नखोज्ने । तर क्रोएसियाविरुद्ध त्यो पनि भयो र अर्का सब्स्टिच्युट गोन्कालो रामोसले निर्णायक गोल गरे । यति हुँदाहुँदै स्पेनविरुद्ध मार्टिनेजले उतार्ने सुरुआती ११ मा रोनाल्डो पनि हुनेछन् । तर यसपल्ट उनीसामु क्रोएसिया होइन, स्पेन हुनेछ ।
यी दुई टिमबीचको पछिल्लो प्रदर्शन भने पोर्चुगलकै पक्षमा छ । पोर्चुगलले नेसन्स लिगको फाइनलमा स्पेनलाई दुईपल्ट पछाडि रहेको स्थितिबाट २–२ को बराबरीमा रोकेको थियो र अन्त्यमा खेल टाइब्रेकरमा जित्न पनि सफल रह्यो । त्यसैले मार्टिनेज भन्छन्, ‘स्पेनप्रति हाम्रो जहिल्यै सम्मान छ । तर हामीलाई स्पेनबारे सबथोक थाहा छ । हाम्रोबारे पनि स्पेनलाई सबै जानकारी छ । त्यसैले मलाई लाग्छ, यो खेल अब्बल दर्जाको हुनेछ, दुवै टिमले सक्दो राम्रो खेल्ने प्रयास गर्नेछन् ।’
