अहिलेसम्मको खेल हेर्दा फ्रान्स नै उपाधिको सबैभन्दा बलियो प्रत्याशी, फ्रान्सले जसरी खेलिरहेको छ, त्यसले सिर्जना गर्ने आक्रमण रोक्न सबैलाई गाह्रो हुनेछ।
What you should know
लस एन्जलस —
विश्वकप २०२६ सुरु हुनु अगाडि नै फ्रान्सको छवि सम्भावित च्याम्पियन टिमको थियो । अहिलेसम्मको प्रदर्शनमा आधारमा भन्दा फ्रान्सको परिचय त्योभन्दा माथिको बनेको छ । फ्रान्सको स्तर नै माथिल्लो स्तरमै देखिएको छ । फ्रान्सको अहिलेसम्मको यस्तो प्रदर्शन पछाडि कप्तान केलियन एमबाप्पेको सानदार गोल जति जिम्मेवार छ । माइकल ओलिसको सिर्जनात्मक खेलले पनि उत्तिकै ठूलो भूमिका खेलिरहेको छ ।
प्रशिक्षक डिडियर डेसच्याम्पले पछिल्ला केही वर्षमा अनेक प्रकारको परीक्षण गरेका छन् । अन्ततः यी प्रशिक्षक आफ्ना खास केही प्रमुख खेलाडीबारे ढुक्क छन् । तिनलाई उनले महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् । फ्रान्सको फेरि एकपल्ट उपाधि जित्ने धोको यिनै आक्रामक खेलाडीले पूरा गर्न सक्नेछन् । प्रतियोगिता जति–जति अगाडि बढ्ने छ, को कहाँ भन्ने समीकरण फेरिँदै जानेछ र नयाँ पनि बन्न सक्नेछ ।
अहिलेसम्म फ्रान्सको प्रदर्शन वास्तवमै अरूको तुलनामा धेरै अगाडि छ । यसमा ओलिसले गाढा छाप छोड्ने काम गरिरहेका छन् । न्यु जर्सीमा अन्तिम ३२ को बुधबार भएको खेलमा फ्रान्सले स्विडेनमाथि सजिलै ३–० ले विजय नतिजा निकाल्यो । फ्रान्सले प्रस्तुत गरेको फुटबल आफैंमा रोमाञ्चक रह्यो । अहिलेसम्म खेलेका चार खेलमा विजयी फ्रान्सले १३ गोल गरिसकेको छ ।
अब अन्तिम १६ मा फ्रान्सको भेट पाराग्वेसँग हुनेछ । फ्रान्सले अहिलेसम्म गरेका गोलमा ओलिसको नाम भने छैन, तर स्विडेनविरुद्ध गरेको दुई गोलपछि एमबाप्पेको यस विश्वकपमा कुल गोलसंख्या नै ६ पुगिसकेको छ । त्यस खेलमा एक अर्को गोल ब्राडली बार्कोलाले गरेका थिए । यस्तै बालोन डी’अर विजेता ओसमन डेम्बेलेले ४ र डिजायर डोउले एक गोल गरेका छन् ।
यति भन्दाभन्दै पनि स्विडेनविरुद्ध ओलिसको खेल अब्बल रह्यो । फ्रान्सका गोलमध्ये दुईमा उनको सहयोगी भूमिका रह्यो । उनी यस विश्वकपमा गोलका लागि अवसर सिर्जना गर्ने खेलाडी सूचीमा सबैभन्दा अगाडि छन् । यी बायर्न म्युनिख खेलाडी स्विडेनविरुद्ध आफ्नो लगभग निश्चित गोल नजिक भने पुगेका छन्, जतिबेला उनको बाइसाइकल किक पोस्टमा लागेको थियो ।
एमबाप्पे आफै ओलिसको खेलबाट प्रभावित छन् । उनी भन्छन्, ‘उनको खेल कौशलता आफैमा उत्कृष्ट छ । तर त्यस बाइसाइकल किकमा गोल भने भएन । खासमा दर्शक रंगशाला आउने भनेकै यस्ता खेल हेर्नका लागि हो ।’
अहिले फ्रान्सले जुन लोभलाग्दो फुटबल खेलिरहेको छ, त्यो प्रशिक्षकका रूपमा डेसच्याम्पको १४ वर्षको कार्यकालको अन्तिम मोड पनि हो । यस्तो शैलीको फुटबल धेरै हदसम्म गत वर्षको नेसन्स लिग क्वाटरफाइनलयता सुरु भएको हो, जतिबेला फ्रान्स क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध पहिलो लेगको खेलमा २–० ले पराजित रह्यो । त्यति बेला डेसच्याम्पले एउटा ठूलो बहादुरीपूर्ण निर्णय गरे, आफ्ना तीन डिफेन्सिभ मिडफिल्डरमध्ये एकलाई झिक्ने र त्यसको स्थानमा थप एक फरवार्डलाई खेलाउने ।
ओलम्पिक फुटबलमा राम्रो खेलेपछि ६ महिनाको अन्तरमा राष्ट्रिय टिममा परेका थिए । उनको भूमिका थियो, एमबाप्पेको पछाडि नम्बर १० खेलाडीका रूपमा खेल्ने । दोस्रो लेगमा ओलिसले फ्रिकिकमा उत्कृष्ट गोल पनि गरे र फ्रान्स पुनरागमन जित रच्न सफल रह्यो । त्यसपछि त के चाहियो र, उनी बायर्नमा जस्तै फ्रान्सेली टिमका नियमित खेलाडी बने ।
बायर्नले घरेलु लिग र कप जित्दा अनि च्याम्पियन्स लिग सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार्दा पनि उनले २२ गोल गरे । यो त पूरा सिजनको उत्कृष्ट खेल प्रदर्शन हो ।
विश्वकपको ठीक अगाडि उत्तरी आयरल्यान्डमाथि प्राप्त ३–१ जितमा ओलिसले ह्याट्रिक पनि गरेका थिए । डेसच्याम्प भन्छन्, ‘ओलिसका लागि पछिल्लो सिजन असाध्यै राम्रो रह्यो ।’ उनी थप्छन्, ‘उनलाई अझै केही समय चाहिने छ, आफूलाई विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गर्न । उल्लेखीय कुरा के छ भने जति बेला उनको नियन्त्रणमा बल हुनछ, केही हुन्छ जस्तो लाग्छ ।’
टिमका लागि यति महत्त्वपूर्ण खेलाडी भएता पनि डेसच्याम्पलाई के थाहा छ भने ओलिस कम बोल्ने खालका छन् । उनको जन्म लन्डनमा भएको हो, नाइजेरियाली बुबा र फ्रान्सेली–अल्जेरियाली आमाबाट ।
उनी आफैं फ्रान्सेली भाषा पनि बोल्न सक्दैनन् । डेसच्याम्पको अनुभव छ, ‘ओलिस केही अन्तरमुखी छन् । खुसी के तथ्यमा छ भने कम्तीमा मैदानमा भने उनी यस्ता छैनन् ।’ मिडियासामु बिरलै मात्र अन्तर्वार्ता दिने ओलिसको फ्रान्सेली भाषाको कमजोरीले पनि खासै अर्थ राखेको छैन ।
केही समय अगाडि मात्र फ्रान्सेली मिडियालाई उनले भनेका थिए ‘मेरो खेलले सबथोक बोले राम्रो, मैले किन मुख खोल्नुपर्छ र भने ?’
उनी चेल्सी एकेडेमीका पूर्व खेलाडी हुन् र हुर्केबढेको भने रिडिङमा हो । सन् २०२१ मा उनी क्रिस्टल प्यालेससँग आबद्ध भए । दक्षिण लन्डनमा रहेको बेला प्रिमियर लिगमा धेरैले उनको खेलमा हेक्का राख्न सुरु गरेको थियो ।
सन् १९९८ का फ्रान्सका लागि विश्वकप जित्दाकै खेलाडी प्याट्रिक भिएरा छँदै उनले प्यालेसका लागि डेब्युको अवसर पाए । भिएरा उनलाई भविष्यका बालोन डी’अर विजेता खेलाडीको रूपमा चित्रण गर्छन् । उनी भन्छन्, ‘यो विश्वकप नै उनका लागि ठूलो अवसर हुनेछ, अहिलेजस्तै राम्रो खेलिरहने हो भने ।’ यता एमबाप्पेका लागि भने यो प्रतियोगिता राम्रो गइरहेको छ । यसैक्रममा उनी विश्वकप इतिहासमा नटआउट चरणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले नकआउट चरणमा गरेको गोलसंख्या १० पुगेको छ । त्यो स्विडेनविरुद्ध गरेको दुई गोलसँगै हो । यसअघि उनी ८ गोलको कीर्तिमानको बराबरीमा थिए, जतिबेला यत्तिकै गोल ब्राजिलका दुई पुरानोखेलाडीको नाममा थियो । ती लियोन्डास डा सिल्भा र रोनाल्डो नाजारियो । पेलेले पनि विश्वकपको नकआउट चरणमा सात गोल मात्रै गरेका छन् । नकआउट चरणमा उनले सन् २०१८ मा ३ र सन् २०२२ मा ५ गोल गरेका थिए ।
रुसमा भएको विश्वकपमा एमबाप्पेले अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका थिए भने फाइनलमा क्रोएसियाविरुद्ध एक । कतारमा भने अन्तिम १६ को चरणमा पोल्यान्डविरुद्ध २ गोल गरेपछि उनले अजेन्टिनाविरुद्ध फाइनलमै अविश्वसनीय ह्याट्रिक गरेका थिए । तर त्यतिबेला फ्रान्सले उपाधि जित्न भने सकेन । टोली पेनाल्टी शुटआउटमा पराजित रह्यो । यसपल्ट एमबाप्पेसामु यस्तै हारको बदला लिने अवसर छ ।
प्रशिक्षक डेसच्याम्प टिमको समग्र प्रदर्शनमा उत्तिकै खुसी छन् । उनी भन्छन्, ‘यो टिमले अहिले एकजुट भएर खेलिरहेको छ । जति बेला टिमले एक ढिक्का भएर खेल्छ, प्रदर्शन नै अलग्गै स्तरमा पुग्ने गर्छ ।’
एमबाप्पेको यो विश्वकपमै पनि कुल गोल संख्या ६ पुगेको छ । उनी लियोनल मेसीसँगै सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा सबैभन्दा अगाडि छन् ।
भिएराको थप भनाइ छ, ‘अहिलेको विश्वकपमा कुनै एक टिमलाई हराउन कसैलाई पनि सबैभन्दा गाह्रो हुन्छ भने त्यो फ्रान्सविरुद्ध हुनेछ । यो प्रतियोगितामा अहिलेसम्मको खेल हेर्दा फ्रान्स नै उपाधिको सबैभन्दा बलियो प्रत्याशीका रूपमा अगाडि आएको छ । फ्रान्सले अहिले जसरी खेलिरहेको छ, त्यसले सिर्जना गर्ने आक्रमण रोक्न गाह्रो नै छ ।’
