बेल्जियमले विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को खेलमा बिहीबार बिहान ०१:४५ बजे सेनेगलको सामना गर्दैछ ।
सियाटल — बेल्जियमले विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को खेलमा बिहीबार बिहान ०१:४५ बजे सेनेगलको सामना गर्दैछ । सियाटलमा हुने यस खेल जित्ने टोलीले अमेरिका र बोस्निया हर्जगोभिना बीचको विजेतासँग अन्तिम १६ मा खेल्ने छ ।
बेल्जियम समूह ‘जी’ को विजेता बनेर नकआउट चरणमा पुगेको हो । पहिलो खेलमा इजिप्टसँग १–१ र दोस्रो खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिए पनि बेल्जियमले अन्तिम खेलमा न्युजिल्यान्डलाई ५–१ ले पराजित गरेको थियो ।
सेनेगल पहिलो दुई खेलमा क्रमशः फ्रान्ससँग ३–१ ले नर्वेसँग ३–२ ले पराजित भएको थियो । तर अन्तिम खेलमा इराकलाई ५–० ले पराजित गरी सेनेगल समूहबाट तेस्रो टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।
थिबाउट कर्टिस, केभिन डी ब्रुएना, रोमेलु लुकाकुसहितको बेल्जियमका स्वर्णिम पुस्ता सम्भवत आफ्नो अन्तिम प्रतियोगिता खेलिरहेका छन् । उमेर ढल्कँदै गएका उनीहरुलाई सेनेगलले कडा चुनौती पस्कने सक्ने छ । लुकाकुले बेन्चबाट खेलको सुरुआत गर्नेछन् ।
सेनेगलका साडियो माने पनि सम्भवत आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्मरणीय बनाउने प्रयासमा छन् । उनले सेनेगलबाट १ सय ३१ खेल खेल्दै ५५ गोल गरेका छन् । त्यसमा जापानविरुद्ध २०१८ को विश्वकपमा गरेको गोल पनि रहेको छ । तर उनले चोटका कारण २०२२ को विश्वकप गुमाएका थिए भने यस विश्वकपमा गोल गर्न सकेका छैनन ।
