सबैले चाहन्छन् : प्रशंसा । राम्रो फोटो, लाइक, फलो । अहिले जीवन पूर्ण रूपमा डिजिटल बनेको छ । खेलाडीहरू धेरै फलोअर चाहन्छन् । यो सबै व्यक्तिमा भर पर्ने कुरा पनि हो, उसले के लिन्छ ? - सोमपाल कामी
What you should know
काठमाडौँ — पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगबारे बहस त हुने गरेकै हो । तर नेपाली क्रिकेट टिममै सामाजिक सञ्जालले गम्भीर असर पुर्याएकोबारे भने सम्भवत: पहिलो पटक चर्चा भएको छ ।
इटालीसँग १० विकेटले पराजित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक स्टुआर्ट लले सामाजिक सञ्जालले खेलाडीको ध्यान भंग भएको प्रतिक्रिया दिएका थिए । उनले सामाजिक सञ्जालले नेपालको हकमा ठूलो भूमिका खेले पनि प्रभाव पारेको टिप्पणी गरेका थिए ।
टिमको आवश्यकता, सहकर्मीको माग वा खेलमा ध्यान नदिएर सामाजिक सञ्जालमा आफूबारे कसले के भनिरहेछ भन्ने कुरामा चासो दिँदा विचलित हुन सक्ने उनको भनाइ थियो ।
आइतबार वेस्ट इन्डिजसँगको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली क्रिकेटर सोमपाले कामीले पनि यस कुरालाई प्राथमिकताका साथ उठाए । उनले खेलाडी सामाजिक सञ्जालबाट टाढै रहनु उत्तम रहेको बताए ।
के भने सोमपालले ?
प्रशिक्षकले भनेको सही नै हो । धेरै युवा खेलाडी जब उनीहरूले राम्रो खेल्छन् उनीहरू इन्स्टाग्राम र फेसबुकमा आफूबारे लेखिएका प्रशंसामा मख्ख पर्छन् । क्रिकेट खेलाडी मात्र होइन, हरेक खेलाडीका लागि हरेक दिन राम्रो नहुन सक्छ । जब तिमीलाई राम्रो लाग्दैन, सामाजिक सञ्जाल नचलाऊ भन्न चाहन्छु । जब म खेलिरहेको हुन्छु, म सामाजिक सञ्जालबाटै टाढा रहन्छु । राम्रो त सामाजिक सञ्जालबाटै टाढा रहनु हो ।
तर सबैले चाहन्छन् : प्रशंसा । राम्रो फोटो, लाइक, फलो । अहिले जीवन पूर्ण रूपमा डिजिटल बनेको छ । खेलाडीहरू धेरै फलोअर चाहन्छन् । यो सबै व्यक्तिमा भर पर्ने कुरा पनि हो, उसले के लिन्छ । खेलाडीका लागि हरेक दिन नयाँ हो । टिमको कुरा गर्ने हो भने हामी योभन्दा त निकै राम्रो टिम हो ।
हामीले शतप्रतिशत दिन सकेनौँ । त्यसैले हामीलाई नराम्रो पनि लागेको छ । हामीले दक्षिण अफ्रिका र बंगलादेशजस्ता देशसँग हारेका छौँ । तर इटालीसँग हार्दा म निकै दु:खी छु । तर खेलमा यस्तै हो, जब तपाईं जित्नुहुन्छ तपाईंलाई राम्रो लाग्छ । हामी यसैबाट सिकेर अगाडि बढ्नुपर्छ ।
