वेस्ट इन्डिज नै त्यस्तो एक मात्र टेस्ट टिम हो, जसले पहिलो पटक नेपालसँग दुई पक्षीय सिरिज खेलेको छ ।
मुम्बई — वेस्ट इन्डिज नै नेपाली क्रिकेटका लागि त्यस्तो विशेष प्रतिद्वन्द्वी रहेको छ, जसको सामना नेपालले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ अगाडि नै गरिसकेको छ ।
वेस्ट इन्डिज नै त्यस्तो एक मात्र टेस्ट टिम हो, जसले पहिलो पटक नेपालसँग दुई पक्षीय सिरिज खेलेको छ । त्यति मात्र होइन्, वेस्ट इन्डिजको ए टिम पनि काठमाडौं आएर खेलिसकेको छ ।
यही टिमविरुद्ध नेपालले आइतबार ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को समूह सी को खेलमा प्रतिस्पर्धा गर्दैछ । यस्तोमा डरेन सामीको प्रशिक्षणमा रहेका वर्तमान विश्वकप टिममा पाँच त्यस्ता खेलाडी छन्, जसको सामना नेपालले यसअघि नै गरिसकेको छ । सन् २०२४ को अप्रिल मे महिनामा वेस्ट इन्डिजको ए टिम पाँच ट्वान्टी ट्वान्टी खेल्न नेपाल आएको थियो ।
त्यसपछि नेपालले गत वर्षको सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टीको सिरिज खेलेको थियो । नेपालले सामना गरिसकेका पाँच खेलाडी हुन्, जेसन होल्डर, जोन्सन चार्ल्स, गुडकेस मोटी, रोस्टन चेज र अकिल हुसेन् । त्यसमध्ये हुसेन आफै शनिबार आयोजित प्रि म्याच कन्फ्रेन्समा आएका थिए र उनले नेपाली टिम राम्रो रहेको प्रतिक्रिया दिन बिर्सेनन्।
उनको तर्क थियो, वर्तमान नेपाली टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै यसका खेलाडीले सँगसँगै लामो समयदेखि खेल्दै आएका छन् । तर उनले यो तथ्य पनि खुलाउन चाहेका छन् कि सारहजामा उत्रको वेस्ट इन्डिज टिम वेग्लै हो, अहिले विश्वकप खेलिरहेको टिम त्यसको तुलनामा धेरै फरक छ । अहिलेको टिम पहिलो रोजाईका खेलाडीले भरिएको टिम हो, त्यसमध्ये केही नाम तिनै पाँच खेलाडीभित्र पनि पर्छ ।
