दुई दशकभन्दा बढी समय त्रिवि मैदानले थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलको आयोजना गरेको छ । सोमबारको दृश्य भने फरक थियो, नेपालमै पहिलो पटक फ्लडलाइटमा आधिकारिक क्रिकेट खेल सञ्चालन भएको छ ।
What you should know
काठमाडौँ — नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्दा कीर्तिपुर रंगशालाले पनि अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो । तर, त्यो खेल क्रिकेट नभई फुटबल थियो । पछिसम्म यो मैदान फुटबल रंगशालाकै रूपमा चिनियो ।
१९९७ मा भारतीय टेलिभिजन जी नेटवर्कले नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा कीर्तिपुर क्रिकेट रंगशाला बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । तर, ५ वर्ष नबित्दै जी नेटवर्क पन्छिएपछि यो एउटा सामान्य खेल मैदानमै सीमित रह्यो । दुई दशकभन्दा बढी समय त्रिवि मैदानले थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलको आयोजना गरेको छ ।
सोमबारको दृश्य भने फरक थियो । त्रिवि खेल मैदान फ्लडलाइटले झलमल्ल थियो । खेल हेर्न चौरमा बस्नुपर्ने बाध्यता हटेको छ । त्यहाँ कुर्सीसहितको आकर्षक प्यारापिट बनाइएको छ । नेपालमै पहिलो पटक फ्लडलाइटमा आधिकारिक क्रिकेट खेल सञ्चालन भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको पहिलो खेल आयोजना भयो । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारका प्रतिस्पर्धी दुई टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएल–२ को औपचारिक सुरुआत गरिन् । सोमबारको खेलसँगै नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गरेको छ, किनभने अब नेपालमा पनि फ्लडलाइटमा क्रिकेट सम्भव भएको छ । यसले रातिको समय पारेर पनि खेल हुन सक्ने वातावरण निर्माण गरेको छ । साथै कीर्तिपुर रंगशालामा पर्याप्त प्रकाशका कारण खेल हुने/नहुने अन्योल पनि अब हटेको छ ।
क्यानका सचिव पारस खड्काले कीर्तिपुर मैदानमा फ्लडलाइट बलिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘हाम्रो क्रिकेट इतिहास अर्को नयाँ अध्यायमा अगाडि बढ्दै गर्दा एउटा सपना, एउटा वास्तविकता र एउटा सम्भावना, जसको ठूलो महत्त्व छ, त्यो अगाडि बढेको छ । यस कथाको हिस्सा भएका हामी सबै अगाडि बढ्नेछौं ।’
साविक विजेता जनकपुरलाई पहिलो खेलमै काठमान्डुले ५ विकेटले हरायो । विजेता टिमले कृत्रिम प्रकाशमा खेल्दा हुने फाइदाको भरपूर उपयोग गर्यो । काठमान्डुले टस जितेर पहिले बलिङ रोज्यो, जुन जितका लागि निर्णायक साबित भयो । फ्लडलाइटमा बलिङ गर्न कठिन हुने भएकाले सामान्यतयाः टस जित्ने टिमले पहिले फिल्डिङ रोज्ने गर्छन् । सम्भवतः अबदेखि यस प्रतियोगितामा यही ‘ट्रेन्ड’ बस्नेछ, दिवा–रात्रि खेलमा जसले टस जित्नेछ, उसले पहिले बलिङ गर्ने निर्णय गर्नेछ ।
काठमान्डुका कप्तान करण केसीले यस्तै निर्णय गर्न दुईपल्ट सोचेनन् । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन मात्रै सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लडलाइटसँगै प्यारापिट औपचारिक रूपमा हस्तान्तरण गरेको थियो । केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकारले ०८१ सालमा प्यारापिटसहित फ्लडलाइटको आधुनिक क्रिकेट रंगशालाका रूपमा स्तरोन्नतिको निर्णय गरेको थियो । अहिलेका लागि रंगशालाको क्षमता १० हजार रहेकामा दोस्रो चरणको स्तरोन्नतिपछि यसको क्षमता २५ हजार पुग्नेछ ।
