कीर्तिपुर रंगशाला : फुटबल मैदानदेखि फ्लडलाइट क्रिकेटसम्म

दुई दशकभन्दा बढी समय त्रिवि मैदानले थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलको आयोजना गरेको छ । सोमबारको दृश्य भने फरक थियो, नेपालमै पहिलो पटक फ्लडलाइटमा आधिकारिक क्रिकेट खेल सञ्चालन भएको छ ।

मंसिर २, २०८२

हिमेश, विनोद पाण्डे

Kirtipur Stadium: From football field to floodlit cricket

What you should know

काठमाडौँ — नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्दा कीर्तिपुर रंगशालाले पनि अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो । तर, त्यो खेल क्रिकेट नभई फुटबल थियो । पछिसम्म यो मैदान फुटबल रंगशालाकै रूपमा चिनियो ।

१९९७ मा भारतीय टेलिभिजन जी नेटवर्कले नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा कीर्तिपुर क्रिकेट रंगशाला बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । तर, ५ वर्ष नबित्दै जी नेटवर्क पन्छिएपछि यो एउटा सामान्य खेल मैदानमै सीमित रह्यो । दुई दशकभन्दा बढी समय त्रिवि मैदानले थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलको आयोजना गरेको छ ।

सोमबारको दृश्य भने फरक थियो । त्रिवि खेल मैदान फ्लडलाइटले झलमल्ल थियो । खेल हेर्न चौरमा बस्नुपर्ने बाध्यता हटेको छ । त्यहाँ कुर्सीसहितको आकर्षक प्यारापिट बनाइएको छ । नेपालमै पहिलो पटक फ्लडलाइटमा आधिकारिक क्रिकेट खेल सञ्चालन भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको पहिलो खेल आयोजना भयो । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारका प्रतिस्पर्धी दुई टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएल–२ को औपचारिक सुरुआत गरिन् । सोमबारको खेलसँगै नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गरेको छ, किनभने अब नेपालमा पनि फ्लडलाइटमा क्रिकेट सम्भव भएको छ । यसले रातिको समय पारेर पनि खेल हुन सक्ने वातावरण निर्माण गरेको छ । साथै कीर्तिपुर रंगशालामा पर्याप्त प्रकाशका कारण खेल हुने/नहुने अन्योल पनि अब हटेको छ ।

Kirtipur Stadium: From football field to floodlit cricket

क्यानका सचिव पारस खड्काले कीर्तिपुर मैदानमा फ्लडलाइट बलिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘हाम्रो क्रिकेट इतिहास अर्को नयाँ अध्यायमा अगाडि बढ्दै गर्दा एउटा सपना, एउटा वास्तविकता र एउटा सम्भावना, जसको ठूलो महत्त्व छ, त्यो अगाडि बढेको छ । यस कथाको हिस्सा भएका हामी सबै अगाडि बढ्नेछौं ।’

साविक विजेता जनकपुरलाई पहिलो खेलमै काठमान्डुले ५ विकेटले हरायो । विजेता टिमले कृत्रिम प्रकाशमा खेल्दा हुने फाइदाको भरपूर उपयोग गर्‍यो । काठमान्डुले टस जितेर पहिले बलिङ रोज्यो, जुन जितका लागि निर्णायक साबित भयो । फ्लडलाइटमा बलिङ गर्न कठिन हुने भएकाले सामान्यतयाः टस जित्ने टिमले पहिले फिल्डिङ रोज्ने गर्छन् । सम्भवतः अबदेखि यस प्रतियोगितामा यही ‘ट्रेन्ड’ बस्नेछ, दिवा–रात्रि खेलमा जसले टस जित्नेछ, उसले पहिले बलिङ गर्ने निर्णय गर्नेछ ।

Kirtipur Stadium: From football field to floodlit cricket

काठमान्डुका कप्तान करण केसीले यस्तै निर्णय गर्न दुईपल्ट सोचेनन् । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन मात्रै सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लडलाइटसँगै प्यारापिट औपचारिक रूपमा हस्तान्तरण गरेको थियो । केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकारले ०८१ सालमा प्यारापिटसहित फ्लडलाइटको आधुनिक क्रिकेट रंगशालाका रूपमा स्तरोन्नतिको निर्णय गरेको थियो । अहिलेका लागि रंगशालाको क्षमता १० हजार रहेकामा दोस्रो चरणको स्तरोन्नतिपछि यसको क्षमता २५ हजार पुग्नेछ ।

हिमेश

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully