अभिषेक शर्माको २० बलमै अर्धशतक बनाएपछि सनराइजर्स हैदराबाद ६ विकेटले विजयी
लखनउ — अभिषेक शर्माले २० बलमै ५९ रन बनाएपछि सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । हैदराबाद यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो । लखनउको पनि यो हारले नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।
शर्माले ४ चौका र ६ छक्का प्रहार गरेपछि हैदराबादले २ सय ६ रनको लक्ष्य १० बलअगाडि नै पूरा गरेको थियो । अथर्व तायडे १३ रन बनाएर आउट भएपछि शर्माले इशान किशनसँग दोस्रो विकेटमा ८२ रनको साझेदारी गरे । किशनले २८ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए ।
हेनरिक क्लासेन २८ बलमा ४ चौका र १ छक्कासहित ४७ रनमा आउट भए । कामिन्दु मेन्डिस ३२ रनमा रिटायर्ड हर्ट भए । उनले २१ बलमा ३ चौका प्रहार गरे । लखनउका दिग्वेश राठीले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्त्याइएको लखनउले २०५–७ को स्कोर बनाएको थियो । ओपनरद्वय मिचेल मार्स ६५ र एडेन मारक्रमले ६१ रन बनाएका थिए । यी दुईले ११ ओभरभित्र पहिलो विकेटमा १ सय १५ रन जोडे । मार्सले ३९ बलमा ६ चौका र ४ छक्का तथा मारक्रमले ३८ बलमा समान ४ चौका र छक्का प्रहार गरे । ऋषभ पन्तले टोलीलाई पुनः एक पटक निराश पारे । उनी ७ रनमै आउट भए । निकोलस पुरनले २६ बलमा ६ चौका र १ छक्कासहित ४५ रन बनाए ।
