नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेल शनिबारदेखि सुरु हुँदै छन् । यी तिनै खेल हुनेछ, जसले प्रतियोगितााको प्ले–अफमा पुग्ने टिमको समीकरण तयार पार्नेछ । अहिलेसम्म तीन टिम यो समीकरणबाट बाहिरिसकेका छन्, चेन्नाई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइज हैदराबाद ।
त्यसको अर्थ शीर्ष चार स्थानका लागि सात टिमबीच प्रतिस्पर्धा चल्नेछ । भारत र पाकिस्तानबीचको तनाव चरम उत्कर्षमा हुँदा लिग चरणका १४ खेल बाँकी थिए । अब यी खेल छ स्थानमा हुनेछन् । त्यसको अर्थ केही टिमसामु घरमा खेल्दा जस्तो फाइदा हुने छैन । अहिले शीर्ष दुई स्थानमा रहेका गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु प्ले–अफका लागि छनोट हुने संघारमा छन् ।
दुवैको ११ खेलबाट समान १६ अंक रहेको छ । त्यसको एक अंक पछाडि पञ्जाव किंग्स रहेको छ । मुम्बई इन्डियन्स भने १४ अंकमा चौथो स्थानमा छ । गुजरातलाई अझै तीन खेल खेल्नुछ र त्यसमध्ये एकैमा मात्र विजयी रहे पनि त्यो प्ले–अफ पुग्नका लागि पर्याप्त हुनेछ । शुभमन गिलको नेतृत्वमा रहेको गुजरातले दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र चेन्नाईविरुद्ध खेल्नेछ ।
बेंगलुरुसामु पनि तीनै खेल छन्, कोलकाता नाइट राइडर्स, हैदराबाद र लखनउविरुद्ध । यदि बेंगलुरुले सबै खेल जित्छ र गुजरातले अंक गुमाउँछ भने शीर्ष स्थान उसको हुन सक्नेछ, २२ अंकसाथ । पञ्जाबसामु पनि २१ अंकमा लिग टुंग्याउने अवसर छ । यसका लागि उसले राजस्थान, दिल्ली र मुम्बईलाई हराउनुपर्नेछ ।
त्यसमध्ये दुई जितले पञ्जाबलाई प्ले–अफ पुर्याउनेछ । पञ्जाब प्ले–अफ नपुगेको पनि लगभग एक दशक भइसकेको छ । मुम्बईका लागि स्थिति अलिकति नाजुक छ । आफ्नो अन्तिम खेलमा मुम्बई गुजरातसँग हारेपछि यो स्थिति बनेको थियो । पाँचपल्टको च्याम्पियन मुम्बईले प्ले–अफ सम्भावना कायम राख्न आफ्ना अन्तिम दुई खेल जित्नुपर्नेछ, दिल्ली र पञ्जाबविरुद्ध ।
दिल्लीका तीन खेल बाँकी छन् र ती सबैमा उसलाई निश्चित जित आवश्यक छ । यी खेल गुजरात, मुम्बई र पञ्जाबविरुद्ध छन् । दिल्ली एकै खेलमा मात्र पराजित हुन्छ भने त्यो अक्षर पटेलको टिमका लागि घातक सावित हुनेछ । कोलकाताले बाँकी दुई खेल जित्ने हो भने पनि १५ अंक मात्र हुनेछ ।
यतिले पनि उसलाई पुग्ने छैन । डिफेन्डिङ च्याम्पियनका लागि पञ्जाबले कुनै खेल जित्नु हुँदैन भने दिल्ली कम्तीमा दुई खेलमा पराजित हुनुपर्नेछ । लखनउको सम्भावना पनि यस्तै रहेको छ, अरूको प्रदर्शनमा निर्भर । ऋषव पन्तको टिमलाई बाँकी खेलबाट छ अंक चाहिएको छ । अनि उसका लागि मुम्बई र दिल्लीले कुनै खेल जित्नु हुन्न ।
