रियान पराग आईपीएलमा लगातार ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी
अहमदाबाद — पञ्जाब किंग्सले सशक्त प्रदर्शन गर्दै आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गरेको छ । प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको पञ्जाबले २३६–५ को स्कोर बनाएको थियो ।
जवाफमा आएको लखनउले ७ विकेट गुमाई १ सय ९९ रन मात्र बनाउन सक्यो । आयुष बदोनीले ४० बलमा ७४ रन बनाए । उनले समान ५ चौका र छक्का प्रहार गरे । अब्दुल समादले २४ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । अभेष खान १० बल खेली ३ चौका र १ छक्का प्रहार गरी १९ रनमा अविजित रहे ।
मिचेल मार्श शून्य, एडेन माक्रम १३ र निकोलस पुरन ६ रनमै आउट भएपछि लखनउले सुरुआतदेखि नै दबाबमा खेलेको थियो । कप्तान ऋसव पन्त १७ बलमा १८ रनमै आउट भए । पञ्जाबबाट अर्शदीप सिंहले ४ ओभरमा १६ रन खर्चेर ३, अज्मातुल्लाह ओमराजईले ४ ओभरमा ३३ रन खर्चेर २ तथा मार्को यान्सेन र युजभेन्दर चाहलले १–१ विकेट लिए ।
महत्त्वपूर्ण यस जितपछि पञ्जाब ११ खेलमा १५ अंक बटुल्दै दोस्रो स्थानमा उक्लेको छ । रोयल च्यालेन्जर्स बेङलुरु १६ अंकसहित शीर्ष स्थानमा छ । मुम्बई इन्डियन्स र गुजरात टाइटन्स समान १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स १२, कोलकाता ११ र लखनउ १० अंकसहित क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् ।
पञ्जाबले खेलमा १६ चौका र १८ छक्का प्रहार गरेको थियो, जसका कारण टोली ११ औं पटक २ सय रनमाथिको स्कोर बनाउन सफल भयो । मुम्बईले मात्र पञ्जाबले भन्दा बढी एक खेलमा २ सय माथिको स्कोरमा रन बनाएको छ । प्रभसिमरन एक्लैले ६ चौका र ७ छक्का प्रहार गरे ।
पियांश अर्यालाई १ रनमै गुमाए पनि जोस इङ्लिसले १४ बलमा १ चौका र ४ छक्कासहित ३०, कप्तान श्रेयस ऐरले २५ बलमा ४ चौका र २ छक्कासहित ४५, नेहल वाधेराले ९ बलमा १६ रन बनाए । शशांक सिंहले १५ बलमा ४ चौका र १ छक्कासहित ३३ र मार्कुस स्टोनिसले ५ बलमा १५ रन बनाए । लखनउका आकाश सिंह र दिग्वेश राठीले २–२ विकेट लिए ।
जोगियो कोलकाता
राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ छक्का प्रहार गरे पनि डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले रोमाञ्चक खेलमा १ रनको जित हात पारेको छ । २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले ७१ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।
परागले कोलकाताको इडेन गार्डेनमा ४५ बलमा ९५ रन बनाए, जसमा दुई फरक ओभरमा गरी आफूले सामना गरेको योग्य बलमा लगातार ६ छक्का प्रहार गरे । आईपीएलमा यो पहिलो पटक सम्भव भएको हो । यसअघि क्रिस गेलले २०१२, राहुल टेवाटियाले २०२०, रवीन्द्र जडेजाले २०२१ र रिंकु सिंहले २०२३ मा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए ।
२३ वर्षे पराग पनि यो सूचीमा आएका छन् । मोइन अलीले फालेको खेलको १३ औं ओभरको पहिलो बलमा सिमरन हेटमायरले १ रन प्रहार गरेका थिए । त्यसपछि परागले लगातार चार छक्का प्रहार गरे । छैटौं बलमा मोइनले वाइड फालेपछिको अर्को बलमा पनि परागले छक्का प्रहार गरेका थिए । १४ औं ओभरको पहिलो बलमा स्ट्राइकमा आएका हेटमायरले पुनः १ रन प्रहार गरेपछि वरुण चक्रवर्तीको दोस्रो बलमा पुनः परागले छक्का प्रहार गरे ।
वैभव सूर्यवंशी ४, क्रुनालसिंह राठोर, ध्रुव जिरेल, वानिन्दु हसरंगा समान शून्यमा आउट भए । ओपनर यशस्वी जैसवालले २१ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाई आउट भएपछि नियमित कप्तान सञ्जु सामसन घाइते भएको अवस्थामा टोलीको नेतृत्व गरिरहेका परागले हेटमायरसँग छैटौं विकेटमा ९२ रनको साझेदारी गरे । त्यसका बाबजुद राजस्थानले २०५–८ को स्कोर मात्र बनाउन सक्यो ।
राजस्थानलाई अन्तिम ओभरमा जितका लागि २२ रन चाहिन्थ्यो । शिवम दुवेले २ छक्का र १ चौका प्रहार गरे पनि वैभव अरोराले अन्तिम बलमा १ रन मात्र दिएर कोलकातालाई रोमाञ्चक विजय दिलाए । अन्तिम बलमा २ रन लिने क्रममा जोफ्रा आर्चर नन स्ट्राइकमा रनआउट भए ।
यसअघि एन्ड्रे रसेलले २५ बलमा अविजित ५७ रन बनाएपछि पहिला ब्याटिङ गरेको कोलकाताले २०६–४ को स्कोर बनाएको थियो । प्लेयर अफ द म्याच रसेलले ४ चौका र ६ छक्का प्रहार गरे । कोलकाताले अन्तिम २ ओभरमा ३४ र अन्तिम ५ ओभरमा ८५ रन जोडेको थियो । अर्का अविजित ब्याटर रिंकुले ६ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए ।
ओपनर सुनील नारिन ११ रनमै आउट भए । रहमनुल्लाह गुरबाजले २५ बलमा ४ चौका र १ छक्कासहित ३५, कप्तान अजिन्क्या रहानेले २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अंकृश रघुवंशीले ३१ बल खेली ५ चौकासहित ४४ रन बनाए । यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको राजस्थानको १२ खेलमा यो नवौं पराजय हो ।
