चेन्नई — रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी) इन्डियन प्रिमियर लिग क्रिकेटको यस सिजनमा लगातार दुई खेल जित्ने पहिलो टोली बनेको छ । आरसीबीले शुक्रबार चेन्नई सुपर किंग्सलाई उसैको मैदानमा ५० रनले हरायो । आरसीबीले सन् २००८ यता पहिलो पटक चेन्नईमाथि उसको मैदानमा जित पाएको हो ।
आईपीएलको यसअघिका १७ संस्करणमा कहिल्यै उपाधि जित्न नसकेको आरसीबीले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पनि उसकै मैदानमा ७ विकेटले पराजित गरेको थियो । आरसीबीले अब बुधबार पहिलो पटक गृहमैदान एम चिन्नास्वामी रंगशालामा गुजरात टाइटन्ससँग खेल्नेछ ।
टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको आरसीबीले २० ओभरमा ७ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । २ सय रनमुनिको स्कोर यस सिजनमा पहिलो पटक रक्षा गर्ने टोली बनेको आरसीबीले चेन्नईलाई १४६–८ को स्कोरमा रोकेको थियो ।
ओपनर फिल साल्टले १६ बलमा ३२ रन बनाई आरसीबीलाई आक्रामक सुरुआत दिलाए । सोक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे । तर त्यसअनुरुप आरसीबीको बाँकी इनिङ्स रहेन । अर्का ओपनर विराट
कोहलीले ३० बलमा २ चौका र १ छक्कासहित ३१ रनमात्र बनाउन सके । दुवैलाई देव्रेहाते स्पिनर नुर अहमदले आउट गरे । देवदत्त पाडिकलले १४ बल खेल्दै समान २ चौका र छक्कासहित २७ रन बनाए ।
कप्तान रजत पटिदारको अर्धशतकीय इनिङ्सले आरसीबीलाई चुनौतीपूर्ण लक्ष्यमा उभ्याएको थियो । उनले ३२ बल खेल्दै ४ चौका र ३ छक्कासहित ५१ रन जोडे । उनले पहिलो पटक १७ रनमा जीवनदान पाए भने त्यसपछि तीन पटक उनी आउट हुनबाट जोगिए ।
पोखराको बिजी बी रेस्टुरेन्टमा कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण गरिएको आईपीएलको खेल हेर्दै ग्राहक ।
लिम लिभिङस्टोन ९ बलमा १० रनमा बोल्ड गरेका अहमदले जियश शर्मालाई पनि आउट गरी खेलमा हाबी भए । शर्माले ६ बलमा १२ रन बनाए । पहिलो खेलमा ३ विकेट लिएका अहमद २ खेलमा ७ विकेट लिँदैं सर्वाधिक विकेट लिने सूचीमा अगाडि छन् । टिम डेबिडले इनिङ्सको अन्तिम ओभरमा साम करनको बलमा ३ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए । अहमदबाहेक चेन्नईबाट माथिसा पाथिरानाले ४ ओभरमा ३६ रन खर्चेर २ तथा खलिल अहमद र रविचन्द्रन अश्विनले १–१ विकेट लिए ।
जबाफमा आएको चेन्नईका पहिलो पाँच ब्याटरमध्ये राहुल त्रिपाठी ५, कप्तान ऋतुराज गायकवाड शून्य, दीपक हुडा ४ र करन ८ रनमा आउट भए । जेसल हेजलउडले आफ्नो पहिलो ओभरमै त्रिपाठी र गायकवाडलाई आउट गरे । ओपनर रचिन रवीन्द्रले ३१ बल खेल्दै ६ चौकासहित ४१ रन बनाए । यश दयालले १२ औं ओभरमा रवीन्द्र र ‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका शिवम दुवेलाई आउट गरी चेन्नईको खेलमा फर्किने आशा लगभग समाप्त गरे । दुबेले १५ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए ।
रवीन्द्र जडेजाले १९ बलमा २ चौका र १ छक्कासहित २५ र अश्विनले ११ रन बनाए । फेरि एक पटक नवौं नम्बरमा ब्याटिङमा आएर सवैलाई आश्चर्यमा पारेका महेन्द्रसिंह धोनीले १६ बलमा अविजित ३० रन बनाए । उनले अन्तिम ओभरमा क्रुनाल पाण्ड्येलाई २ छक्का र १ चौका प्रहार गरे । यस इनिङ्ससँगै धोनी ४
हजार ६ सय ९९ रनसहित सुरेश रैनालाई उछिन्दै आईपीएलमा चेन्नईबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।
ठूलो शट खेल्नेक्रममा रोयल च्यालेन्जर्सका कप्तान रजत पटिदार ।
