एनपीएलका ८ टिमका मार्की खेलाडीबारे प्रधानमन्त्री ओलीले गरे यस्तो बखान

‘मेरो फेभरेट नै दीपेन्द्रसिंह ऐरी’

मंसिर ११, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli made such a statement about the marquee players of the 8 teams of NPL

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ट्रफी अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धरहरा परिसरमा एनपीएलका प्रतिस्पर्धी ८ ‘मार्की’ खेलाडीको उपस्थितिमा ट्रफीको अनावरण गरेका थिए । एनपीएल शनिबार सुरु हुँदै छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार ट्रफीमा सगरमाथा आधारसिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ ।

Prime Minister Oli made such a statement about the marquee players of the 8 teams of NPLखड्काका अनुसार पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याएका हुन् । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन उक्त कार्य गरिएको खड्काले बताए । 

वाचाल ओली

एनपीएल क्रिकेटको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली पूरै तयारीसाथ आएका देखिन्थे । सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न नसकेको स्वीकार्दै उनले नेपाली क्रिकेटको सर्वोच्च निकायलाई महिलाको पनि एनपीएल गर्न सुझाए । ओली यत्तिमै सीमित रहेनन् । उनले सबै टोलीका मार्की खेलाडीबारेमा बखान गरे । मार्कीले नै कप्तानी गर्ने अझै सम्बन्धित टोलीले घोषणा गरिसकेका छैनन् । प्रधानमन्त्री ओलीले भने सबै मार्कीलाई कप्तान भनेर सम्बोधन गर्दै उनीहरूका बारेमा गुदी कुरा निकाले । ८ मार्की खेलाडीबारे प्रधानमन्त्री ओलीको टिप्पणी यस्तो थियो :

जनकपुरझै शान्त आसिफ शेख

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोर्टसम्यानसिप देखाउँदै रनआउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । जनकपुरझै शान्त स्वभाव उहाँको कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कुल, शान्त भनेर नाम, उपनाम दिए पनि हुन्छ जस्तो लाग्छ । 

भ्यालेन्टाइन–ब्वाइ करण केसी

काठमाडौं गुर्खाजका कप्तान करण केसी भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । 

बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो कुशल भुर्तेल

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ । मैले मात्र होइन, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु, मेरो शुभकामना छ । 

ज्यानमा तागत बोकेर छक्का हान्ने कुशल मल्लको शैली

हाम्रो साथीहरूले चितवन राइनोज भन्नुभएको छ, मचाहिँ चितवन गैंडाज भन्ने गर्छु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान्, अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन । तपाईंहरू क्रिकेटको चाहिँ राम्रो खेलाडी हुनुस् । चितवन राइनोज अर्थात गैंडाजका कप्तान कुशल मल्ल हेर्दा अलिक अलिक सानो जस्तो लाग्ने, हाम्रो क्यानको सचिवभन्दा त निकै होचो हुनुहुन्छ होला । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ । आखिर उनी चितवन गैंडाजका कप्तान हुन् । 

रोहित पौडेलको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ । आखिर देशले जित्छ, नेपाली क्रिकेटको कप्तान भएको नाताले उनले जितेकै हुनेछन् । 

धेरै ब्याट्सम्यानलाई नचाएका सन्दीप लामिछाने

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भए । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो कि गर्छ ।

कर्णालीको चिसो पानीको तागत सोमपाल कामीले मैदानमा देखाउने

नेपाली (कर्णाली) याक्सका सोमपाल कामीका त्यो योर्करहरूलाई कसले भुल्न सक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउने छन् । अर्को टी–२० विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ । कर्णाली याक्सले भारतका ‘गब्बर’ शिखर धवनलाई अनुबन्ध गरेको सुनेको छु, जो आईपीएलका सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान रहेछन् । यसरी ठुला लिगहरू र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय हो । 

मेरो फेभरेट नै दीपेन्द्रसिंह ऐरी

अन्तिममा हिरोको पालो आउँछ । मेरो फेभरेट नै जस्तो भनौं । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । एनपीएलमा यस्ता थुप्रै कीतिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।

एनपीएल

कान्तिपुर

Link copied successfully