एजेन्डा छैनन्, आरोप–प्रत्यारोपमा उम्मेदवार

‘हामी मतदाताले नेतालाई असल मानेर होइन, खराबमध्येका कम खराबलाई रोज्नुपर्ने बाध्यता छ’
प्रदेश ब्युरो

पोखरा — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार अहिले मत माग्न व्यस्त छन् । घरदैलो, भेटघाट, छलफल, उम्मेदवार परिचय कार्यक्रम, शुभकामना आदानप्रदानलगायत कार्यक्रमसाथ गाउँ छिरेका छन् । तर उनीहरूसँग सर्वसाधारणका दैनिक सरोकारका विषयसँग जोडिएका एजेन्डा खासै छैनन् । पुरानै शैली र एजेन्डामा गाउँ छिरेका उम्मेदवार बरु एकअर्कामा आरोपप्रत्यारोपमै सीमित छन् ।

लमजुङका मतदाताले दुईछाक खान, राम्ररी सुत्न र शरीर ढाक्ने वातावरण मिलाइदिन बाहेक ठूलो आशामा छैनन् । उम्मेदवार भने विपक्षी दललाई गाली गरेरै समय खर्चिरहेका छन् । जनताका आवश्यकताप्रति उनीहरूको खासै चासो छैन ।

बेंसीसहर–२ भकुन्डेका काजी बस्नेत उम्मेदवार जनतालाई झुक्याएर भोट मात्रै खोजेको ठान्छन् । ‘जनजीविकाका कुरा उम्मेदवारले सम्बोधन गरेका छैनन्,’ उनले भने, ‘हामीले नेतालाई असल मानेर होइन, खराबमध्येबाट रोज्नुपर्ने बाध्यता छ ।’

बेंसीसहर–११ रामचोकबेंसीका वासुदेव सेढार्इँका अनुसार उम्मेदवार र नेताले जनतालाई भोटबैंक मात्रै सोचिरहेका छन् । जनताको पक्षमा काम गर्न नसकेको उनले आरोप लगाए । भने, ‘पहिले, अहिले र भोली पनि त्यही आश्वासनले असन्तुष्टि बढाएको छ ।’ सत्ता गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङ, प्रदेश (१) का उम्मेदवार कांग्रेसका टकराज गुरुङ र प्रदेश (२) का उम्मेदवार कांग्रेसका भेषबहादुर पौडेलले भाषणमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेलाई गाली नगरेको कुनै दिन छैन ।

एमाले उम्मेदवार भने एमाले सरकारलाई परमादेशले फालेको भन्दै प्रतिवादमा छन् । उनी ‘परमादेश’ सरकारले महँगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसको गाली गरिरहेका छन् । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, प्रदेश (१) का उम्मेदवार एमालेका जमीन्द्रमान घले र प्रदेश (२) का एमाले उम्मेदवार कृष्णप्रसाद अधिकारीले पनि दिनकै कांग्रेस–माओवादी र सत्ता गठबन्धनको सरकारलाई गाली गरिरहेका छन् । नेताका पछि हिँडेका कार्यकर्ताले पनि एकले अर्कालाई गाली गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक अहिले आरोपप्रत्यारोपले रंगिएको छ ।

बागलुङमा ५ वर्षअघिको निर्वाचनमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र गर्ने नारा दिएर चुनाव जितेपनि दुवै सडक उस्तै विजोग छन् । आसन्न निर्वाचनमा उम्मेदवारले फेरि यी सडक बनाउने नारा लगाएका छन् । उत्तरगंगा जलविद्युत् आयोजना र ढोरपाटन सालझन्डी सडक सम्पन्न गर्ने एजेन्डा पनि नारामै सीमित भयो । बागलुङ (१) का गठबन्धन उमेदवार चित्रबहादुर केसी र एमालेका सूर्य पाठक दुवै पुरानै अनुहार हुन् । क्षेत्र नं. २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल पुरानै हुन् । क्षेत्र नं २ मा एमालेकी उमेदवार मञ्जु शर्मा भने नयाँ हुन् । प्रदेशतर्फ धेरै नयाँ छन् । उनीहरूले भने पूर्वाधारसँगै सुशासनका नारा लगाएका छन् । पौडेल यसअघि एमाले, राजमोसहितको वाम गठबन्धनबाट विजयी भएका थिए । केसी भने अघिल्लो निर्वाचनमा एमालेका सूर्य पाठकलाई जिताउन लागेका थिए । केसीकै सर्मथनमा जितेका एमालेका पाठक यो पटक केसीका प्रतिस्पर्धी हुन् । उनीहरू आफ्ना एजेन्डाको दममा भन्दा आरोप लगाएरै जित्ने ध्याउन्नमा छन् ।

‘दलले यो राम्रो एजेन्डा बोकेका छन्, त्यसैले भोट हाल्नुपर्छ भन्ने केही देखिँदैन,’ वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले भने, ‘हाम्रो नीति यो हो, हामीले जितेपछि यो नीतिमा परिवर्तन गर्छौं र राष्ट्रियताको विषयमा यो काम गर्छौं भनेको सुनिएन ।’ परराष्ट्रनीति, गणतन्त्र र जनताले पाएका अधिकार रक्षामा के गर्ने भन्ने नबोलेको उनले बताए । पूर्वाधारको नारा लगाउन सजिलो भएको उनको टिप्पणी छ । ‘प्रदेशमा लडेका उम्मेदवारले प्रदेशको अवस्था र अबको गन्तव्यबारे प्रस्टाउनुपर्नेमा त्यो पनि भएको छैन,’ श्रेष्ठ भन्छन्, ‘पार्टी र नेतालाई गाली गरेपछि चुनाव जितिन्छ भन्ने मनोविज्ञान बनेको छ ।’ केसीले गणतन्त्र, धर्म निरपेक्षता जोगाउने, राष्ट्रियताको पक्षमा वकालत गर्ने तथा जनताको जनजीविकाको विषयमा काम गर्ने एजेन्डा लिएको बताए । ‘हामीले धेरै समय विकृति विसंगतिविरुद्ध भन्डाफोर गर्ने नीति लियौं, चुनावी एजेन्डा पनि त्यही बनायौं,’ केसीले भने, ‘यसपटक भने जनजीविकालाई पनि सुधार गर्न पहल गर्ने नीति बनाएर चुनावमा लागेका छौं ।’ पाठकले बसाइँसराइ रोक्न ‘कनेक्टिभिटी’, उत्तरगंगा जलविद्युत्मा पहल, अस्पतालको सुधार गरी विशेषज्ञ सेवा दिने तथा शिक्षाको गुणस्तर सुधार्ने नाराबाट मत मागेको बताए । बागलुङ क्षेत्र नं २ की एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेले सानो काममा सदरमुकाम आउनुपर्ने बाध्यता हटाउनुपर्ने भन्दै मत मागेकी छन । पश्चिम क्षेत्रको स्वास्थ्य समस्या र लोकमार्गको स्तरोन्नतिबाट मात्र जिल्लाको मेरुदण्ड खुल्ने शर्माले बताइन् ।

पर्वतमा पुराना उम्मेदवारहरू आफूले विगतमा गरेका वाचा र अपुरा काम पूरा गर्ने तथा नयाँनयाँ आश्वासन लिएर पुगेका छन् भने नयाँ उम्मेदवार अवसर नपाएको र पाएकाले पनि वाचा पूरा नगरेकोले आफूहरूले काम गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् । एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको पर्वतमा संघीय सांसदका उम्मेदवार भने पुरानै अनुहारका छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका अर्जुनप्रसाद जोशीले आफूले पाँच वर्षअघि चुनाव जित्न नसकेका कारण सडक, खानेपानी, सिँचाइ, शिक्षालगायतका पूर्वाधारका काम अघि बढ्न नसकेको भन्दै ती काम पूरा गर्ने वाचा मतदातासँग गरेका छन् । जोशीले अघिल्लो पटक जनताले बहुमत दिएको पार्टीले जनभावनाअनुरूपका काम गर्नुको सट्टा संसद नै विगठन गरेकाले यसपालि आफूलाई जिताउन आग्रह गरेका छन् । प्रदेशतर्फ (१) र (२) का उम्मेदवार सबै नयाँ अनुहारका छन् । प्रदेशमा प्रतिस्पर्धा गरिरहेका दुवै क्षेत्रका उम्मेदवारले मतदातासमक्ष यसअघिका जनप्रतिनिधिले जनगुनासो नसुनेको, भोट माग्न मात्रै मतदाताकामा पुग्ने गरेको आरोप लगाउँदै आफूहरूले चुनाव जितेमा त्यसो नगर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् । तर, हालसम्म कुनै पनि राजनीतिक दलका उम्मेदवारले आफ्नो व्यक्तिगत तथा पार्टीको घोषणापत्र तथा प्रतिबद्धतापत्र लिपिबद्ध गरेर मतदाताकामा पुर्‍याउन भने सकेका छैनन् ।

तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आ–आफ्ना चुनावी नारा र प्रतिबद्धतासहित मतदातासमक्ष मत मागेका छन् । तनहुँ–१ का उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै बसौंबसौं बनाउन आफू राजनीति रहिरहेको बताउँदै आएका छन् ।

गोरखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उमेदवारले स्थानीयस्तरका साना विषयदेखि समृद्धिको मोडल नै गोरखाबाट सुरु गर्ने प्रतिबद्धतासहित चुनावी गतिविधि सुरु गरेका छन् । प्रतिनिधिसभा गोरखा (२) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिको नमुनाका रूपमा विकास गर्न आफ्ना पहल हुने बताउँदै आएका छन् । ‘हिजो राजनीतिक क्रान्तिमा गोरखा, आज समृद्धिको क्रान्तिका लागि गोरखा’ भन्दै उनले सामाजिक सञ्जालबाट पनि घोषणा गरेका छन् ।

चुनावी अभियानमा गठबन्धन दलको संयुक्त जिल्लास्तरीय प्रतिबद्धतापत्र बनाउन कांग्रेस, माओवादी, नेपाल समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधि रहेको समिति पनि बनेको छ । गठबन्धनभित्रका दलले आ–आफ्नो प्रतिबद्धता पत्र बनाउने र त्यसपश्चात् गठबन्धन दलभित्र छलफल गरेर साझा प्रतिबद्धता पत्र बनाउने काग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । एमाले उम्मेदवाले भने प्रतिबद्धता पत्रसहित मतदाताकामा गएको जिल्ला सचिव काजिराम रोकाले बताए । शिक्षा स्वास्थ्य, रोजगार, पूर्वाधारलगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै उनले उत्तरी गोरखाको नाका खोल्न पहल गर्ने, बुढीगण्डकी परियोजना जस्ता विषय समेटेर मत मागिएको सुनाए ।

आश गुरुङ (लमजुङ), प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत), सम्झना रसाइली (तनहुँ) र हरिराम उप्रेती (गोरखा)

प्रकाशित : कार्तिक ६, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

संग्रहालयमा महाकवि जन्मजयन्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, जीवनी र उनको सिर्जनात्मक आयामबारे परिचर्चा गर्दै उनको जन्मजयन्ती मनाइएको छ । देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा प्रज्ञाप्रतिष्ठानले मैतीदेवीस्थित देवकोटा संग्रहालयमा गरेको कार्यक्रममा व्यक्तित्व चर्चासँगै रचना वाचनसमेत गरिएको छ ।

प्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गरुङ, पूर्वकुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला, निवर्तमान सदस्यसचिव जगत्प्रसाद उपाध्यायलगायतले देवकोटाको स्मरण गर्दै नेपाली भाषा साहित्यमा उनको योगदान चर्चा गर्दै संग्रहालयका बारे चर्चा गरे ।

पूर्वकुलपति काइँलाले नेपाली वाङ्मयका क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै संग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको बताए । संग्रहालयलाई पूर्ण गराउनुपर्नेमा उनले जोड दिए । त्यस्तै निमित्त कुलपति गुरुङले पहिलो पटक महाकवि देवकोटा संग्रहालयमा देवकोटाको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव लागेको सुनाए । देवकोटा संग्र्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको उषा ठाकुरले बताइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्की, महाकवि देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमाल लगायतले देवकोटा र संग्रहालयका विभिन्न पक्षमाथि प्रकाश पारे । कार्यक्रममा रामेश्वर राउत मातृदास, रेजिना आपगाईं, बलराम दाहाललगायतले देवकोटाका रचना वाचन गरेका थिए । गत असोज १४ मा उद्घाटन गरिएको संग्रहालयमा पहिलोपल्ट सार्वजनिक कार्यक्रम आयोजना गरिएको हो । यसअघि कवि, साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम प्रतिष्ठानमै गरिँदै आएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७९ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×