चितवनमा थपिए २७ काेराेना संक्रमित, भरतपुरका मात्रै २१ जना

श्रावण ३२, २०७७

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमितको संख्या लगातार बढ्ने क्रममा शनिबार चितवनमा अहिलेसम्मकै सर्वाधिक २७ जना संक्रमित भेटिएका छन् । योसँगै चितवनमा संक्रमितको कुल संख्या दुई सय आसपास पुगेको छ । शनिबार थपिएकामध्ये २१ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएर शनिबार मध्यराति नतिजा आएका ४४६ नमुनामध्ये कुल २८ जनामा संक्रमण भेटिएको हो ।

ती २८ मध्ये चितवन बाहिर सर्लाहीकी २९ वर्षीया एकजना महिलामा संक्रमण भेटिएको हो । उनी उपचारका लागि भरतपुर अस्पताल आएका बेलामा भएको परीक्षणमा कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । शनिबारसम्मको विवरण अनुसार चितवनमा कुल संक्रमितको संख्या १९९ पुगेको छ । चितवनमा साउन २१ गतेयता संक्रमण निकै तिव्र बनेको छ ।

चितवनमा साउन नौ गतेसम्म संक्रमितको संख्या ११६ थियो । त्यसपछि कुनै पनि संक्रमित नभेटिएका चितवनमा एकै पटक साउन २१ गते एकजना संक्रमित भेटिए । त्यसयता ८३ जना संक्रमित थपिएका छन् । भरतपुर महानरपालिका क्षेत्रका बैंक, अस्पताल र प्रहरी युनिटहरुमा पनि संक्रमितहरु भेटिएका छन् । संक्रमण रोक्न भन्दै महानगरपालिकाभित्र हिजो शनिबारदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully