झापाका एक युवकमा आरडीटी पोजिटिभ - प्रदेश १ - कान्तिपुर समाचार

झापाका एक युवकमा आरडीटी पोजिटिभ 

कोरोना भाइरसको लक्षण भने देखिएको छैन : चिकित्सक
अर्जुन राजवंशी

काठमाडौँ — र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ ।

बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको हो ।

आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिवसमेत रहेका चम्लागाईले बताए । परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ । पोजिटभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको चम्लागाईले जानकारी दिए ।

आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका हुन् । उनमा कोभिड–१९ को लक्षण भने केही नदेखिएको चम्लागाईले बताए । आरडीटी पोजिटिभ देखिए पनि ती युवकलाई भद्रपुरस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको छैन । उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ । जिल्लाका पालिकास्थित क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडीटी परीक्षण तीव्र पारिएको छ । परीक्षण गरिएकामध्ये अहिलेसम्म २ सय ३२ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

क्‍वारेन्टाइनमा बसेकालाई बस रिजर्भ गरी घर पठाइयो 

अर्जुन राजवंशी

बिर्तामोड — र्‍यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि झापाका दुइटा क्वारेन्टाइनमा १४ दिन बिताएकालाई घर पठाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसमार्फत मंगलबार बिहान १७ जनालाई विभिन्न जिल्लास्थित घर पठाएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जनाए । लकडाउनको समयमा भारतको विभिन्न स्थानबाट हिडेर पूर्वी नाका काँकडभिट्टा र भद्रपुर हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो ।

१७ जना सबैलाई भद्रपुर नगरपालिका १० कलवलगुडीस्थित क्वारेन्टाइनमा राखिएको थियो । घर पठाइएकामा सिरहाको धनगढी नगरपालिकाका ६, गोलबजार नगरपालिकाका २ र बरियापट्टी गाउँपालिकाका १ जना छन् । उदयपुरको चौदण्डी नगरपालिकाका ३, त्रियुगा नगरपालिकाका २ र ताप्ले नगरपालिकाका १ जना छन् ।

खोटाङको रुपाकोट नगरपालिका र सप्तरीको महुली नगरपालिकाका एक/एक जना छन् । उनीहरुलाई बसमार्फत सप्तरी, सिरहा र उदयपुरसम्म पुर्‍याउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युवराज कट्टेलले जनाए ।

मंगलबार नै थप १५ जनालाई क्वारेन्टाइनबाट घर पठाउने तयारी भइरहेको कट्टेलले जानकारी दिए । कलवलगुडी र झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा १४ दिन बिताएका सुर्खेतका १०, कैलालीका ३ र दैलेखका २ जनालाई घर पठाउने तयारी गरिएको हो । उनीहरु सबैको आरडीटी परीक्षणमा कोभिड–१९ नेगेटीभ देखिएको मेयर श्रेष्ठले बताए ।

उनीहरु सबैलाई ७ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने शर्तसहित घर पठाएको कट्टेलले बताए । जिल्ला प्रशासन झापाले घर फर्किएका सबै मानिसका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी घर फर्किएकाहरुको स्थानीय तहसंग समन्वयमा निगरानी गर्ने व्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।

प्रकाशित : वैशाख २, २०७७ १७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×