भारतसँग कूटनीतिक पहल नहुँदा महाकालीको पानी नेपालतर्फ छोडिएन : सांसद बोहरा

महाकाली सन्धिअनुसार पानी छोड्नका लागि परराष्ट्रमन्त्रालयमार्फत् भारतसँग कूटनीतिक पहल गर्नुपर्ने रास्वपा सांसद दीपकराज बोहराको माग ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

Mahakali water was not released towards Nepal due to lack of diplomatic initiative with India: MP Bohara

What you should know

काठमाडौँ — महाकाली सन्धि अनुसार नेपालले प्राप्त गर्ने पानी नपाएको भन्दै सत्तारुढ रास्वपाका सांसद दीपकराज बोहराले भारतसँग कूटनीतिक पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद बोहराले नेपालले भारतसँग आवश्यक पहल नगर्दा महाकालीको पानी नेपालतर्फ नछोडिएको र किसानले सिंचाइको सुविधा नपाएको बताएका हुन् । 

सांसद बोहराले परराष्ट्र मन्त्रालयले भारतसँग महाकालीको पानी नेपालतर्फ छोड्नेबारे पहल गर्नुपर्ने बताएका हुन् । 'सारदा ब्यारजेमा रहेको महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ पानी छोडिएको छैन । ४८ किलोमिटरको यो आयोजनामा करिब ३० किलोमिटर सम्पन्न भएको छ,' सांसद बोहराले भने, 'यो पानी छोड्नका लागि परराष्ट्रमन्त्रालयमार्फत् भारतसँग कूटनीतिक पहल गराउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदछु ।'

सांसद बोहराले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत महाकाली सिंचाइ आयोजनाको बाँकी काम सम्पन्न गराउन पनि आग्रह गरेका छन् । 

त्यस्तै, महाकाली सिंचाइ आयोजनाको अन्तिम बिन्दु कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ का जनताले विरोध जनाइरहेकाले सरकारले उनीहरूको आवाज सुन्नुपर्ने पनि सांसद बोहराको माग छ । दुई नदीको बीचमा रहेको यो क्षेत्रमा महाकाली सिंचाइ आयोजनाको सिमांकन गर्ने बेला नसोधिएको भन्दै आपत्ति जनाइरहेको पनि सांसद बोहराको भनाइ थियो । जनताका माग सुनेर आयोजनाका सम्बन्धमा निर्णय लिनुपर्ने उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully