समानान्तर महाधिवेशनको तयारी मात्रै गर्ने कि पार्टी नै विभाजन गर्ने भन्नेबारेमा इतर पक्ष अहिल्यै निर्णयमा पुगेको छैन । तर, कार्यालयको नाम ‘१५ औं महाधिवेशन तयारी सम्पर्क कार्यालय’ भनेर राखिने भएको छ ।
What you should know
काठमाडौँ — कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । पार्टी संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट इतर पक्षका नेताहरु छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुट्न लागेका हुन् ।
सम्पर्क कार्यालयका लागि घर लिएर रङ लगाउने काम भइरहेकाले त्यहाँबाट काम सुरु हुन दुईतीन दिन लाग्ने नेता विमलेन्द्र निधिले बताए । कार्यलयको नाम ‘१५ औं महाधिवेशन तयारी सम्पर्क कार्यालय’ भनेर राखिनेसमेत उनले बताए ।
समानान्तर महाधिवेशनको तयारी मात्रै गर्ने कि पार्टी नै विभाजन गर्ने भन्नेबारेमा इतर पक्ष अहिल्यै निर्णयमा पुगेको छैन । निधिले आफूहरु पार्टी एकताकै पक्षमा रहेको तर संस्थापन पक्षबाटै गम्भीरता नदेखाइएको बताए ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कामार्फत इतर पक्षले यसअघि नै संस्थापन पक्षलाई विभिन्न माग राखेर लिखत प्रस्ताव पठाइसकेको छ । त्यसमध्ये १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति ‘गाभ्ने’ विषय नै मुख्य पेचिलो बनेको छ । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेकामध्ये १ सय १४ जना हाल केन्द्रीय कार्यसमितिमा नभएकाले ती सबैको समायोजन हुनुपर्ने माग खड्काले गरेका छन् ।
त्यसपछि निर्वाचन, सदस्यता छानबिन, अनुशासन र विधान संशोधन समिति दुवै पक्षको सहभागितामा बनाउने विषय छ । दुवै पक्षको साझा प्रतिनिधित्वको विषयमा खास समस्या देखिएको छैन ।
‘हामी चाहन्छौं यी माग पूरा गरेर चाँडै एकता होस् । १५औंलाई एकता महाधिवेशन बनाउन सकियोस् । १५औं महाधिवेशन उनीहरुले (संस्थापन) पनि चाहेको छ, हामीहरूले पनि चाहेका छौं, त्यसको महत्वपूर्ण कुरा क्रियाशील सदस्यताको हो,’ निधिले भने, ‘गगन थापा महामन्त्री भएकै बेला नवीकरण गरिसकेका सदस्यहरूले नै महाधिवेशनमा भाग लिन पाउनुपर्ने विषय छ । अर्को मुख्य विषय १४औं महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति गाभ्ने नै हो ।’
दुवै पक्षबीचको सबैभन्दा ठूलो विवाद पनि यही बनेको छ ।
संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरे भने तत्कालीन देउवा नेतृत्वको कार्यसमितिलाई वर्तमान संरचनामा समायोजन गर्न नसकिने बताउँछन् । उनका अनुसार विशेष महाधिवेशनबाट पारित विधानअनुसार सभापतिलाई ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ । त्यसमध्ये १९ जनाको मनोनयन भइसकेकाले बाँकी ४२ स्थानमध्ये केहीमा इतर पक्षलाई समेट्न सकिने सम्भावना रहेको उनले बताए । साथै शेखर कोइराला र पूर्णबहादुर खड्कालाई वरिष्ठ नेताको जिम्मेवारी दिन संस्थापन तयार सकारात्मक रहेको छ ।
यही सहमतिको खोजीमा घिमिरेले सोमबार एकै दिन पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए । त्यसअघि विराटनगरमा शेखर कोइरालासँग पनि उनको लामो संवाद भएको थियो ।
घिमिरेका अनुसार शेखर कोइरालाले सबैलाई केन्द्रीय कार्यसमितिमा समेट्न सम्भव नभए महाधिवेशन तयारीका लागि छुट्टै राजनीतिक संयन्त्र बनाउन सकिने विकल्प प्रस्ताव अघि सारेका छन् ।
‘एक सय ११ जनालाई केन्द्रीय कार्यसमितिमा ल्याउन बाधा हुने हो भने महाधिवेशनको तयारी गर्ने एउटा संयन्त्र र निर्वाचन, सदस्यता छानबिन तथा अनुशासन समिति दुवै पक्षको प्रतिनिधित्व हुने गरी बनाउन सकिन्छ भन्ने शेखर दाइको कुरा छ,’ घिमिरेले भने, ‘पूर्णबहादुर दाइ भने सबैलाई समायोजन गरेपछि मात्रै सहमति हुन्छ भन्नुहुन्छ । सबैलाई समायोजन गर्न विधानले कठिन बनाउँछ । तर राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ ।’
यद्यपि समानान्तर तयारी चलिरहेकै बेला इतर पक्षभित्रै कसरी अघि बढ्ने भन्नेमा मतैक्यता देखिएको छैन । गगन थापाकै समर्थनमा गत फागुनमा भएको निर्वाचन लडेका तर अहिले देउवा समूहमा रहेका नेता किशोरसिंह राठौरले सोमबार लुम्बिनी प्रदेश भेलामा आफू कुनै पनि हालतमा पार्टी विभाजनको पक्षमा नभएको स्पष्ट पारे। आफू चारतारे झन्डा र रुख चिह्न छोड्ने पक्षमा नभएको र सदस्यता अद्यावधिक गर्ने उनको भनाइ थियो । उनले केही नेताले दोहोरो भूमिका खेलेको पनि बताए । ‘जसलाई नयाँ पार्टी खोल्ने जाँगर छ, खोले हुन्छ तर म कांग्रेस छाड्दिनँ । कांग्रेसको चारतारे झन्डा र रुख चिह्न छाड्दिनँ । हिजो पनि पार्टीभित्रै संघर्ष गरेका हौं, आज पनि त्यही गर्छौं,’ उनले भने ।
राठौरको यो अभिव्यक्तिलाई इतर पक्षभित्र पनि विभाजनभन्दा पार्टीभित्रै संघर्ष गरेर समाधान खोज्नुपर्ने धारणा बलियो बन्दै गएको संकेतका केही नेताहरुले हेरको छन् । इतर पक्षकै नेता श्याम घिमिरे पनि लामो समयको अनिर्णयले कार्यकर्तामा अन्योल बढाएको स्वीकार गर्छन् । उनका अनुसार अहिले इतर पक्षसँग तीनवटा विकल्प मात्रै बाँकी छ- पार्टी विभाजन गर्ने, कुनै पूर्वसर्तबिना १५औं महाधिवेशनमा सहभागी हुने वा राजनीतिबाट विश्राम लिने ।
‘यी तीन विकल्पबाहेक अर्को विकल्प छैन । तर के गर्ने भन्नेमा लामो समय अनिर्णयको बन्दी हुँदा कार्यकर्तामा ठूलो अलमल भएको छ । यसले समस्या बढाएको छ,’ उनले भने, ‘पूर्णबहादुर खड्का र शेखर कोइराला दुवै पार्टी विभाजन गर्ने मनस्थितिमा हुनुहुन्न । त्यसैले अरू नेताले पनि त्यो हिम्मत गरेका छैनन् । तर जे गर्ने हो, छिट्टै निर्णय गर्नुपर्छ भन्ने कुरा हो ।’
