देउवाले समेत छाडिसकेको ‘गुट’ चलाउने अभ्यास गरेर निर्वाचनअगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा डेढ महिना बिताइदिनु खड्काको ठूलो राजनीतिक भुल थियो ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको इतिहासकै सबैभन्दा निर्णायक मोडमा आइपुग्दा पार्टीको बागडोर सम्हाल्ने अवसर पाएका नेतामध्ये एक हुन्, पूर्णबहादुर खड्का ।
खड्का पार्टीभित्र तुलनात्मक रुपमा विवादरहित, निष्ठावान्, वैचारिक रूपमा अनुशासित नेताको कोटीमा पर्छन् । विडम्बना ! कांग्रेसभित्र अहिले जुन खालको उथलपुथलका घटना भए, त्यस जिम्मेवारीबाट खड्का पूर्णत: अलग छैनन् ।
नवनिर्वाचित सभापति गगनकुमार थापाले शुक्रबार साँझ कान्तिपुरलाई दिएको अन्तर्वार्तामा भनेका छन्,‘पूर्ण दाइको पछिल्ला केही दिनयताको जोश र सक्रियता समयमै भएको भए यो अवस्था आउने थिएन ।’
थापाले यसो भन्नु सामान्य राजनीतिक टिप्पणी मात्र थिएन, तत्कालीन कार्यवाहक सभापतिको भूमिकामाथि गरिएको गम्भीर प्रश्न थियो ।
पार्टी विधानको धारा १७ (२) अनुसार आयोजना गरिएको विशेष महाधिवेशन कसैको अनुकूल र प्रतिकूलताको परिणाम थिएन । विधान कार्यान्वयनको बाध्यत्मक परिस्थिति थियो । असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता भयो । त्यो निवेदन खड्का आफैंले बुझेका थिए । नब्बे दिनभित्र बोलाउनुपर्ने विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको बाहुबलबाट टार्न खोजियो । परिणामत: तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बोलाए ।
त्यसपछि पनि त्यसको वैधानिकतामाथि प्रश्न उठाएर खड्काले निर्वाचन आयोगका निर्णयमाथि अहिले जुन आरोप लगाइरहेका छन्, त्यो उनको राजनीतिक जीवनकै सबैभन्दा बढी असन्तुलित, निष्ठा र नैतिक राजनीतिको आत्मद्वन्द्वको द्योतक हो ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि खड्काले अहिले जे जस्ता प्रतिक्रियाहरु दिइरहेका छन्, ती अस्वाभाविक छन् । उनले आयोगको निर्णयलाई कानुनविपरीत, विदेशी शक्तिको सेटिङ र षड्यन्त्र भनेर त्यसविरुद्ध आन्दोलन, अदालत र निर्वाचन बहिष्कारको चेतावनी दिएका छन् ।
अब प्रश्न उठ्छ- पार्टी विधानको गहिरो ज्ञान राख्ने लोकतान्त्रिक पार्टीको एक वरिष्ठ नेताले नै ५४ प्रतिशत हस्ताक्षरबाट विशेष महाधिवेशन माग भइसकेपछि त्यसले पार्टी विभाजन हुने भय देखाएर उम्कन मिल्थ्यो ? पार्टी विभाजन हुने भए विधानमा त्यस्तो धारा किन राखियो ?
नेतृत्वको क्षमता भनेको पद धारण गर्नु मात्र होइन, समयको संवेदनशीलता बुझ्नु, परिस्थिति चिन्नु र सही क्षणमा निर्णय लिन सक्नु पनि हो । सही क्षणमा निर्णय लिन नसक्दा कांग्रेस बदल्ने अभियानमा जुटेका शेखर कोइराला निर्णायक मोडमा आएर आफै बदलिए । खडकालाई त्यो अवसर मिलि नै सकेको थियो, तर उनले बदलिँदो समय र समाजको परिस्थितिलाई बुझ्न सकेनन् । केही भाइको राजनीतिक सुरक्षाका लागि उनले आफ्नो निष्ठा र इमानदारिताको खिल्ली उडाए ।
खड्का आफूलाई सन्तनेता किसनुजीका शिष्य मान्छन् । तर, यसबीचमा तिनै शिष्यले ०५१ सालको कमलादी घटनाबाट कति सिके भन्ने आम प्रश्न उव्जेको छ । त्यतिबेला बेला कृष्णप्रसाद भट्टराई पार्टीका सभापति थिए । गिरिजाप्रसाद कोइराला महामन्त्री । कोइरालाकै निर्देशनमा पार्टी विभाजनको उद्देश्यसहित कमालदीको एकेडमीमा एउटा भेला भएको थियो । त्यस भेलाको अध्यक्षता गरेका थिए भूविक्रम नेम्वाङले । किसनुजीका भतिजा विनोद भट्टराई त्यस क्षण स्मरण गर्दै भन्छन्, ‘आफ्नै सहयोगीहरुको घेरा तोडेर किसनुजी ट्याक्सी चढेर सिधै कमालदी पुग्नुभयो । उहाँलाई कसैले बोलाएको थिएन । हरियो चप्पल पड्काउँदै सिधै मञ्चमा जानुभयो । त्यहाँ कतिले अपमान गरे, त्यो अपमानको विष पिएर किसनुजी मञ्चमा बसेर पार्टी विभाजन हुनबाट रोक्नुभयो ।’
किसनुजीलाई राजनीतिक गुरु मान्ने खड्काले ३२ वर्षअघिको किसुनजीको त्यो साहस, विवेक र एकताको चेत किन अहिले देखाउन सकेनन् ? यदि उनी पनि भृकुटीमण्डपको पुस २७ को उद्घाटन सत्रमा त्यसैगरी उपस्थित भएको भएको भए अहिले सानेपामा छुट्टै बैठक गर्नुपर्ने अवस्था आउने थिएन ।
विशेष महाधिवेशको उद्घाटनको दिनसम्म स्वामित्व लिने माग मात्रै गगन–विश्व मुख्य एजेन्डा थियो । त्यो माग विधानविपरीत थिएन, अस्वाभाविक पनि थिएन । तर खड्का र तत्कालीन संस्थापन त्यसमा तयार भएन । परिणामस्वरूप माग बढ्दै गए, तनाव चुलिँदै गयो र अन्ततः नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने बाटोमा पुग्यो ।
एकछिन पछाडि फर्केर हेर्ने हो भने असोज २८ को केन्द्रीय कार्यसमिमित बैठकमा शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट अलग भएको सन्देश मात्रै दिएका थिएनन्, विधानले तोकिएको समयभित्रै महाधिवशेन गराउने अभिभारा पनि सुम्पेका थिए । त्यसैलाई टेकेर खड्काले नियमित महाधिवेशन गराउन सक्थे, यदि उनले समयमै त्यो नेतृत्वदायी निर्णय लिइदिएको भए । देउवाको दुखद बहिर्गमन पनि हुने थिएन । आफ्नै राजनीतिक असुरक्षाको यति विघ्न भय पनि हुने थिएन । तर, खड्का समय लिएर शक्ति सञ्चय गर्दै आफ्नो अनुकूलमा महाधिवेशन गर्ने रणनीतिमा गए ।
राजनीति सधैं सिधा रेखामा चल्दैन । परिस्थितिअनुसार बदलिरहन्छ । शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि ठिकठाक थियो । तर, फर्किएपछि पार्टीभित्रको शक्ति देउवा आफैले खिच्न थाले । अनि खड्का बैठक चलाउने र शक्ति अभ्यास देउवाले गर्ने क्रम सुरु भयो । पार्टीभित्रको शक्ति सन्तुलन पूर्णतः बदलियो । टिकटको चलखेल, एमालेसँगको हिमचिम, चुनावी महत्त्वाकांक्षा सबैले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा बोकेका युवाहरुमा असन्तुष्टि चुलियो ।
आज कांग्रेस जुन अवस्थामा छ, त्यसको सम्पूर्ण दोष खड्कामाथि मात्रै थोपर्नु न्यायसंगत नहोला । तर उनले पाएको ऐतिहासिक अवसर सदुपयोग गर्न नसकेको तथ्यबाट बिर्सन सकिन्न । पछिल्लो कार्यकाल देउवा आफैले छाडिसकेको देउवाले समेत छाडिसकेको ‘गुट’ चलाउन अभ्यास सुरु गरेर निर्वाचन अगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा डेढ महिनाको समय बिताइदिनु उनका ठूलो राजनीतिक भुल थियो ।
आज कांग्रेसको ड्राइभिङ सिटमा पुगेका गगन र विश्व कांग्रेसका कुनै अभिजात वर्ग होइनन् । भुइँ तहबाट विद्रोह गर्दागर्दै यहाँ आइपुगेका समकालीन राजनीतिमा सबैभन्दा बढी आशा गरिएका युवा हुन् । अझ भन्ने हो भने खड्काले नै राजनीतिक रूपमा अघि बढ्न अभिप्ररेणा गरेका पात्र हुन् । पार्टीभित्र मात्रै नभएर देशमै आशा जगाएका यी युवाले पार्टीको नेतृत्व सम्हाल्दै गर्दा खुसी भएर अभिभावकको नाताले मैरै भाइहरु हुन् भनेर स्वागत गर्नुपर्ने हो । तर उनीहरुविरुद्ध खड्काबाट अहिले जुन स्तरको प्रहार भइरहेको छ, जस्ता पात्रहरुलाई बोकेर अघि बढिरहेका छन्, त्यो उनको आफ्नै राजनीतिक संस्कार र चरित्रसँग पनि मिल्दो छैन ।
आफूले हुर्काएका, शिक्षित गरेका र अघि सारेका युवा आज पार्टी नेतृत्वमा पुग्दा पुलकित हुनुपर्ने हो । परिणामलाई स्वीकारेर देशको संक्रमणकालीन अवस्थालाई सही ‘ट्रायक’ मा लैजान फराकिलो छात्तीका साथ खुला हृदयले अँकमाल गर्नुपर्नेमा खड्का सडकबाट चुनौती दिइरहेका छन । उनकै अध्यक्षतामा शनिबार सानेपामा बसेको बैठकले निर्वाचन आयोगका निर्णयविरुद्ध अदालत र सडक संघर्षमा जाने जुन निर्णय भयो, यो दुर्भाग्यपूर्ण छ । त्यस निर्णयमा न पार्टीको हित छ, नत देशका नवयुवा पुस्ताको भविष्य जोडिएको छ । फगत आफ्नो राजनीतिक असुरक्षाको तुष्टिबाहेक त्यसमा केही देखिँदैन ।
आजको समकालीन राजनीतिमा पुस्तान्तरण अपरिहार्य थियो । लामो समयदेखि ठूला दलहरुमा नेतृत्वको विकास जमेको पोखरीजस्तो भएको थियो । त्यसबाट बाहिर निकाल्न गढेको किल्ला भत्काउन कुनै न कुनै विद्रोहको आवश्यकता थियो । जुन विद्रोह गगन–विश्वले गरे । जसले दुईतीन जना व्यक्ति वरिपरि गढेर बसेको सत्ताको ‘म्युजिकल चेयर’ भत्काए । यसले पूर्वसभापति शेरबहादुर देउवाको मात्रै होइन, राजनीतिमा 'डेट एक्सपायर' बन्दै गएका ठूलो संख्याका नेताहरुको अध्याय समाप्त भएको छ ।
नेतृत्वले जहिले पनि इतिहासको सही मोडमा सही दिशानिर्देशन गर्न सक्नुपर्छ । यदि खड्काले विगतका आफ्नै कमीकमजोरीलाई आत्ममूल्यांकन गर्न सके, इतिहास सम्झन सके र पुस्तान्तरणलाई आत्मसात गर्न सके भने अझै पनि उनी कांग्रेसका लागि मार्गदर्शक अभिभावक बन्न सक्छन् । नत्र भने उनीमाथि तमाम प्रश्नहरु रहिरहनेछन् ।
