कांग्रेस फुट्न लागेकै हो ?

महाधिवेशन आयोजक समिति बनाउने र नवीकरण गरेका सदस्यले महाधिवेशनमा भाग लिन पाउनुपर्ने संस्थापन इतरपक्षको माग, केन्द्रीय कार्यसमितिको समानान्तर हुने गरी कुनै पनि समिति वा संयन्त्र बनाउन संस्थापन पक्ष असहमत

असार १, २०८३

कुलचन्द्र न्यौपाने

Is Congress about to split?

What you should know

काठमाडौँ —  

संवादहीनता, बढ्दो अविश्वास र सहमतिका प्रयास निष्कर्षविहीन बन्दै जाँदा कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित कांग्रेसमा सहमतिभन्दा टकराव बढेपछि पार्टी विभाजनसम्म पुग्ने जोखिम देखिएको नेताहरूले बताएका छन् ।

तर पनि नेता शेखर कोइराला जस्तोसुकै अवस्थामा पनि पार्टी फुट्न नदिने बताउँछन् । इतरपक्षले आइतबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘तपाई‌ंहरू ढुक्क हुनुहोस् पार्टी फुट्दैन, म कुनै हालतमा फुट्न दिन्नँ ।’ पार्टी एकताका लागि इतरपक्षले दिएको जेठ मसान्तको अल्टिमेटम आइतबार नै सकिएको छ । नेता विमलेन्द्र निधिले विराटनगरको भेलापछि राजधानीमा शीर्ष नेताहरूको बैठक बसेर आगामी कार्यदिशाबारे निर्णय लिइने बताए । लुम्बिनीबाहेक सबै प्रदेशमा इतरपक्षको भेला भइसकेको छ । मधेशमा शनिबार भएको थियो ।

निधिले सम्पर्क कार्यालयको खोजी भइरहेको बताए । इतरपक्षकै केही युवाले अनामनगरमा यसअघि नै सम्पर्क कार्यालय खोलिसकेका छन् । नेताहरूले छुट्टै सम्पर्क कार्यालयको खोजी गरिरहेकाले त्यो पार्टी विभाजनकै लागि हो कि भन्ने प्रश्नमा निधिले अहिल्यै त्यसो भन्न नमिल्ने बताए । तर, एकता हुन नसके इतरपक्षले १५ औं महाधिवेशन छुट्टै गर्ने निधिको भनाइ थियो ।

‘मिलेरै गर्ने हाम्रो चाहना हो, तर मिलेर जान संस्थापन पक्षले पहल गरिरहेको छैन । यस्तो अवस्थामा १५ औं महाधिवेशन कसरी गर्ने, मिलेर गर्ने सम्भावना छ कि छुट्टै महाधिवेशन गर्ने भन्नेबारेमा बैठक बसेर निर्णय गर्छौं’ उनले कान्तिपुरसँग भने ।

मिलेर जान संस्थापन पक्षले पहल गरिरहेको छैन, यस्तो अवस्थामा १५ औं महाधिवेशन कसरी गर्ने, मिलेर गर्ने सम्भावना छ कि छुट्टै महाधिवेशन गर्ने भन्नेबारेमा बैठक बसेर निर्णय गर्छौं । –विमलेन्द्र निधि, कांग्रेस नेता विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिले १६–१९ मा राजधानीमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरिसकेको छ । १५ औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने प्रयास सफल नभएपछि पार्टी विभाजनको जोखिम बढेको हो ।

उपसभापति विश्वप्रकाश शर्माले इतरपक्षका नेताहरूले आफूहरूले पठाएको एकताको सातबुँदे प्रस्तावबारे कुनै जवाफ नआएपछि त्यसलाई आइतबार सार्वजनिक गरेका छन् । शर्माले १६ जेठमा उक्त प्रस्ताव तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएका थिए । एक सातासम्म पनि जवाफ नआएपछि शर्माले २२ जेठमा खड्कालाई भेटेर पुनः स्मरण गराएका थिए । त्यसको ९ दिनसम्म पनि जवाफ नआएपछि शर्माले सोमबार इतर खेमाका शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालाई समेत सात बुँदाको प्रस्ताव पठाएका थिए ।

‘श्रद्धेय नेताहरूलाई मेरो नम्र आग्रह छ, शान्त चित्तले ७ बुँदे पढ्नुहोस्, हामीले निवर्तमान कार्यवाहकलाई पठाएको १६ दिन भयो, बाँकीलाई पठाएको सात दिन नाघ्यो’ शर्माले कान्तिपुरसँग भने, ‘उहाँहरूले कारबाही गरेर हामी दुई जना (गगन थापा र विश्वप्रकाश शर्मा) लाई साधारण सदस्यबाट नै बिदा गर्नुभएको थियो । हामी उपयुक्त जिम्मेवारीमा उहाँहरूलाई समेट्न र स्वागत गर्न चाहन्छौं ।’

शर्माले सार्वजनिक गरेको सात बुँदामा इतरपक्षमा रहेका केही नेतालाई वरिष्ठ नेता बनाउनेदेखि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिमा समेट्ने विषय समावेश छ ।

त्यस्तै असन्तुष्ट पक्षले महाधिवेशनको निष्पक्षतामाथि उठाउँदै आएको प्रश्नको समाधान गर्न दुवै पक्षको सहभागितामा महाधिवेशन व्यवस्थापन समिति बनाउनेदेखि निर्वाचन, क्रियाशील सदस्यता छानबिन र अनुशासन समितिमा सम्मानपूर्वक सहभागिता र सहकार्यको प्रस्ताव छ । विशेष अधिवेशनको प्रक्रिया र परिणामउपरको विमतिलाई आगामी १५ औं महाधिवेशनको बन्द सत्रमा मौखिक वा लिखित एजेन्डा बनाउन सकिने विषय पनि त्यसमा समावेश छ ।

इतरपक्षका नेता निधिले भने वाट्सएपबाट पठाइएको उक्त सात बुँदा नयाँ नभएर पुरानै कुरा भएको बताए । ‘यो प्रस्ताव नयाँ होइन, पुरानै कुरा हुन्, यसमा सहमत हुने अवस्था छैन’ उनले भने । खड्कानिकट अर्का एक नेताले २२ जेठमा उपसभापति शर्मासँगको भेटमा नै उक्त बुँदामा सहमति हुन नसक्ने जनाउ दिइसकेको दाबी गरे । ‘लिखित रूपमा केही भन्दिन भनेर नोटमा टिप्न लगाएरै त्यसलाई अस्वीकार गरिसकिएको हो’ उनले भने ।

इतरपक्षले पार्टीमा सहमति हुनका लागि तत्कालीन केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिबीच समायोजन हुनुपर्ने विषय उठाएको छ । नेता प्रकाशशरण महतका अनुसार त्यसमा सहमत हुन नसकेमा अर्को विकल्प पनि दिइएको छ । उनका अनुसार १५ औं महाधिवेशनलाई निष्पक्ष रूपमा सम्पन्न गर्ने दुवै पक्ष सम्मिलित महाधिवेशन आयोजक समितिको प्रस्ताव छ । अर्को, क्रियाशील सदस्यताको अद्यावधिक अनिवार्य नगरी यसअघि नवीकरण गरेकालाई मान्यता दिइनुपर्ने विषय समावेश छ ।

मेरो आग्रह छ, शान्त चित्तले ७ बुँदे पढ्नुहोस्, हामीले निवर्तमान कार्यवाहकलाई पठाएको १६ दिन र बाँकीलाई पठाएको ७ दिन नाघ्यो, उपयुक्त जिम्मेवारीमा उहाँहरूलाई समेट्न चाहन्छौं । -विश्वप्रकाश शर्मा, कांग्रेस उपसभापति‘हामीले खोजेको जम्माजम्मी यति हो’ महतले भने,‘यति पनि नगर्ने हो भने जे पनि हुन सक्ने स्थिति छ ।’ १५ औं महाधिवेशनकै लागि भनेर १० पुस २०८२ भित्र नवीकरण गरिएका सदस्यतालाई मान्यता दिनुपर्ने इतरपक्षले माग गर्दै आएको छ ।

इतरपक्षका यी मुख्य मुद्दालाई संस्थापन पक्ष मान्न तयार छैन । महामन्त्री गुरुराज घिमिरेले केन्द्रीय कार्यसमितिको समानान्तर हुने कुनै पनि समिति वा संयन्त्र अस्वीकार्य हुने बताए । सदस्यताका विषयमा पनि अद्यावधिक गरेकाले मात्र १५ औं महाधिवेशनमा भाग लिन पाउने पार्टीको संस्थागत निर्णय रहेको बताए ।

‘पार्टीका हरेक गतिविधिलाई पारदर्शिता बनाउने र १५ औं महाधिवेशनको विश्वसनीयता कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीय कार्यसमितिअन्तर्गतका संयन्त्रहरूमा सम्मानजनक सहभागिता गराएर जान सकिन्छ, तर आयोजक समिति बनाउने वा केन्द्रीय कार्यसमिति समानान्तर हुने गरी कुनै संयन्त्र बनाउने कुरा असम्भव छ । यो विधानले पनि दिँदैन, कांग्रेसको परम्परा पनि होइन ।’

यसमा लचक नहुने हो भने पार्टी विभाजन हुन सक्ने जोखिम देखिएको खड्कानिकट केन्द्रीय सदस्य श्याम घिमिरे बताउँछन् । उपसभापति विश्वप्रकाश शर्माले पठाएका सात बुँदामा एकताको दिशामा ठोस प्रस्ताव नभएकाले बसेर नै सहमति खोज्नुपर्ने उनको भनाइ छ ।

‘पूर्ण दाइले २२ वैशाखमा भेट हुँदा भोलिपल्टै आएर सबै कुरा मिलाउँछु भनेर हिँड्नुभएका सभापति गगन थापा त्यसपछि टेलिफोन सम्पर्कमा पनि आउनुभएको छैन र म्यासेजको रेस्पोन्स पनि गर्नुभएको छैन भन्ने कुरा छ’ घिमिरेले भने, ‘वाट्सएपमा म्यासेज पठाएर संवाद हुन्न । आपसमा बसेर कुराकानी गर्नुपर्छ । बिरालोलाई पनि ठाउँ राखेर कुट्नुपर्छ भन्ने चलन छ । छलफल नै नहुने हो भने बाध्य भएर पार्टी विभाजनतिर जाने जोखिम देखिँदै छ ।’

अहिलेसम्म नेता खड्का र कोइराला दुवै पार्टी विभाजन गर्ने पक्षमा नउभिएको उनको भनाइ छ । ‘इतिहासै मेटाएर अघि बढ्ने काम भयो भने समस्या आउँछ’ उनले भने,‘पार्टी नमिलाउने हो भने कि त कांग्रेसबाट संन्यास लिनुपर्ने अवस्था हुन्छ, नत्र बाध्य भएर अर्को बाटोमा जाने अवस्था बन्न सक्छ ।’

महामन्त्री घिमिरेले भने पार्टी एकतामा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारीबाट पहल भइरहेको बताए । केन्द्रीय कार्यसमितिको समानान्तर हुने गरी समिति बनाउने र अद्यावधिकलाई रोक्ने कामबाहेक अरू सबै विषय मिलाएर लैजान सकिने उनले बताए ।

‘गर्ने कुरामा जिम्मेवारी लिन इच्छुक साथीहरूलाई ढोका खुला छ । काम गर्न अवसर दिने कुरामा रोकिँदैन’ घिमिरेले भने, ‘एकताका बारेमा सभापतिसहित पदाधिकारीहरूले गम्भीरतापूर्वक परामर्श जारी राखेकै अवस्था छ । काम गर्न अवसर दिने कुरामा रोकिँदैन । तर, १४ औं महाधिवेशन र विशेष महाविधेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गर्ने वा समानान्तर समिति बनाउने कुरा निरर्थक छ । यसमा मिल्दैन ।’

संस्थापन इतरपक्षमा रहेका नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा दुवै पक्षमा रहेका अतिवादीहरूका कारण पार्टी विभाजनको डिलमा पुगेको दाबी गर्छन् । विभाजन रोक्न सभापति थापाले ठूलो छाती बनाउनुपर्ने उनको भनाइ छ ।

‘विशेष महाधिवेशनदेखि नै अतिवादीहरूले पार्टीलाई मिल्न दिएका छैनन्, उनीहरू विभाजन होस् भन्ने चाहन्छन् । यस्ता अतिवादी स्वार्थ समूह संस्थापन र इतरपक्ष दुवैतिर हाबी छन् । आफ्नो स्वार्थ पूरा गर्न वरिपरि रहेकाहरूबाटै सभापतिलाई गलत सल्लाह दिने गरिएको छ’ शेर्पाले भने, ‘बरु विष पिउँछु, पार्टी फुटाउँदिन भनेर सभापतिले भन्दै आउनुभएको थियो । अब त्यो क्षण आएको मैले महसुस गरेको छु ।’

नेता शेखर कोइरालानिकट युवा नेता भूपेन्द्र शाहीले अद्यावधिक गरेकाले मात्रै महाधिवेशनमा भाग लिन पाउने निर्णय हुनुले महाधिवेशन निष्पक्ष हुनेमा शंका उव्जेको बताए ।

यता संस्थापन पक्षका नेताहरूले एकताका लागि आफूहरूबाट मात्रै पहल भएको तर इतरपक्षका नेताहरूबाट कुनै सक्रियता नभएको बताउने गरेका छन् । ‘पार्टी सभापति र उपसभापतिले निरन्तर भेटेर र फोनबाट संवाद गर्नुभएको छ । सुरुमा गगन थापाले भेटेरै कुरा गर्नुभयो । त्यसपछि फेरि गगन थापा र विश्वप्रकाशले संयुक्त रूपमा भेट गर्नुभयो । दुई नेता मिलेरै सात बुँदा प्रस्ताव पठाउनुभयो । त्यसको रेस्पोन्स नआएपछि फेरि उपसभापति शर्मा आफैंले तत्कालीन कार्यवाहक खड्कालाई भेट्नुभयो’ एक पदाधिकारीले भने, ‘इतरपक्षका नेताहरू घरमा कुरेर मात्रै बस्नुभएको छ । कुनै सक्रियता देखाउनुभएको छैन । हामीलाई शंका छ, हङकङमा रहनुभएका पूर्वसभापति शेरबहादुर देउवाकै परामर्शमा यो भइरहेको त होइन ?’

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully