कांग्रेसमा देउवा–कोइराला पक्षधरले गरेनन् सदस्यता अद्यावधिक

गत पुससम्म नवीकरण गरेका सबैलाई आसन्न महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा–कोइराला पक्षको अडान कायमै।

जेष्ठ ३१, २०८३

कुलचन्द्र न्यौपाने

Deuba-Koirala supporters in Congress did not update their membership

What you should know

काठमाडौँ — कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्वसभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतका नेताहरूले म्याद सकिँदासम्म पनि सदस्यता अद्यावधिक गरेका छैनन् । सदस्यता अद्यावधिक गर्ने म्याद भने बिहीबार नै सकिएको छ । 

सदस्यता अद्यावधिक प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वतः निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ । सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकालाई अद्यावधिकमा समावेश गरिने बताउँछन् । 

नयाँ सदस्यता वितरणको समयसीमा २० असारसम्म तोकिएको छ । ‘त्यस अवधिसम्म छुटेका कसैले अद्यावधिक गर्न चाहे केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यसपछि मिलाउँछौं,’ उनले भने, ‘नेताहरूका हकमा अझै सहज वातावरण बनाउँछौं ।’ 

पूर्वसभापति देउवा पत्नी आरजु राणासहित विदेशमै छन् । २१ फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर गएका थिए । आरजु पनि दिल्ली हुँदै सिंगापुर गएकी थिइन् । यसबीचमा उनीहरू हङकङ पुगेका थिए । अहिले उनीहरू कहाँ छन् भन्ने सार्वजनिक गरिएको छैन । 

प्रत्यक्ष सम्पर्क हुन नसके पनि देउवालाई सदस्यता अद्यावधिकका लागि आग्रह गर्दै आएको महामन्त्री पौडेलले बताए । ‘सबै प्रक्रिया अनलाइनमार्फत भएकाले विदेशबाट पनि सदस्यता अद्यावधिक गर्न सकिन्छ,’ उनले भने । 

नेताहरू देउवा, खड्का, कोइरालासँगै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजयकुमार गच्छदार, प्रकाशशरण महत, धनराज गुरुङ, बद्री पाण्डे, ज्ञानेन्द्रबहादुर कार्कीले पनि अद्यावधिक गरेका छैनन् । यस्तै, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी र जितजंग बस्नेतलगायत पनि यस प्रक्रियाबाट बाहिरै छन् । 

कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य क्रियाशील सदस्यको संख्या ७ लाख ८२ हजार २ सय ९ छ । तीमध्ये ५ लाख ३८ हजार ६ सय २२ जनाले अद्यावधिक गरिसकेका कांग्रेस केन्द्रीय कार्यालयको भनाइ छ । केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार १ लाख ४८ हजार ३ सय ९ जना अद्यावधिक प्रक्रियामा छन् । 

देउवा र कोइराला पक्षधर नेताहरू अहिलेको अद्यावधिकका आधारमा नभएर पुरानै नवीकरणका आधारमा महाधिवेशनमा भाग लिन पाउनुपर्ने अडानमा छन् । तर सभापति गगन थापाले अद्यावधिक गराएका सदस्यहरूले मात्रै आगामी १५ औं महाधिवेशनमा भाग लिन पाउने बताउँदै आएका छन् । पार्टीका अरू पदाधिकारीको भनाइ पनि यही छ । पार्टीको १५ औं महाधिवेशन १४–१९ असोजमा हुने कार्यतालिका छ । सुरुवात भने २ भदौको वडा अधिवेशनबाट हुनेछ । 

१५ औं महाधिवेशनको संघारमा उठेको सदस्यता अद्यावधिकसम्बन्धी विषय नेताहरूको व्यवस्थापनबारे मात्रै नभएर भाबी नेतृत्वको प्रतिस्पर्धासमेतलाई जोडेर हेर्ने गरिएको छ । महाधिवेशन प्रतिनिधि छनोट र मताधिकारको आधार क्रियाशील सदस्यता रहेकाले अद्यावधिक संस्थापन इतरपक्षले प्राविधिकभन्दा पनि राजनीतिक मुद्दा बनाउँदै आएको छ । 

गत २४ जेठमा पूर्वकार्यवाहक सभापति खड्का र ११ जेठमा नेता शेखर कोइरालाले १० पुस २०८२ सम्म नवीकरण गरेका सबैलाई १५ औं महाधिवेशनमा भाग लिने वातावरण बनाइने बताएका थिए ।

कोइरालाले महाधिवेशनमा भाग लिन अद्यावधिकलाई बाध्य बनाउन नहुने विचार राख्दै आएका छन् । खड्काले महाधिवेशनमा भाग लिन पाउने सुनिश्चितता दिलाएरै छाड्ने दृढता जनाएका छन् । 

‘हामी १५ औं महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न, गराउन सक्दैन,’ २८ जेठमा सामाजिक सञ्जालमा खड्काले लेखेका थिए ।

महामन्त्री पौडेलले अद्यावधिकको समयसीमा अगाडि सबै नेताहरूलाई टेलिफोनमार्फत विशेष आग्रह गरिएको बताए । उनका अनुसार खड्का र कोइराला सम्पर्कमा आएनन् । सम्पर्कमा आएका अरू दर्जनभन्दा बढी नेताले भने आग्रहका बाबजुद पनि अद्यावधिक नगरेको पौडेलको भनाइ छ । ‘जीवनभर कांग्रेसमै लागेर जीवन बिताउनुभएका अग्रज नेताहरूलाई पार्टीको पक्षमा भएका काममा संलग्न भइदिन आग्रह गर्छु । छोटै समयमा धेरै सदस्य जोडिएका छन् । डिजिटल प्लाटफर्म बनेको छ । पार्टीका गतिविधि सबै अनलाइनमार्फत हुन थालेका छन् । यसमा सबै नेता खुसी भएर हौसला दिनुपर्ने हो, सहयोग गर्नुपर्ने हो तर आफैंले समेत अद्यावधिक नगरिदिनु उचित भएन,’ उनले भने, ‘अझै केही बिग्रिएको छैन । अब पनि इच्छा व्यक्त गर्नुभयो भने सहजतापूर्वक अद्यावधिक गर्नेछौं ।’ 

महामन्त्री पौडेलले समय बाँकी नै रहेको र एकताको प्रयाससमेत जारी रहेको हुनाले अहिल्यै अद्यावधिक नगरे के गर्ने भन्नेबारेमा पार्टीबाट निर्णय भने भइनसकेको बताए । महाधिवेशनमा भने अद्यावधिक गरेका सदस्यहरू मात्रै सहभागी हुन पाउने उनको भनाइ छ । 

कांग्रेस नेता विमलेन्द्र निधि अद्यावधिक गर्ने विषय नै ‘बेइमानी’ रहेको बताउँछन् । उनले गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएकै बेला १० पुस २०८२ सम्म नवीकरण भएका करिब ६ लाख सदस्य नै कायम राखिनुपर्ने बताए । उनका अनुसार पार्टी एकताका लागि यो नै मुख्य र पहिलो सर्त हो । ‘त्यतिबेला करिब ६ लाखले नवीकरण गरेको तथ्यांक छ । त्यसैलाई कायम गरिनुपर्छ । केही जिल्ला र क्षेत्रमा छुट भएको थियो, त्यसलाई समावेश गरिनुपर्छ । निर्वाचनका मुखमा अरू पार्टीबाट आएकालाई सदस्यता दिनुपर्छ,’ उनले भने, ‘नवीकरण गरिसकेकाले फेरि किन अद्यावधिक गर्ने ? यो आवश्यक छैन ।’

इतरपक्षकै अर्का नेताले अद्यावधिक गरेका सदस्यले मात्रै महाधिवेशनमा भाग लिन पाउनुपर्ने निर्णयका कारण महाधिवेशनको निष्पक्षतामाथि नै आशंका उब्जेको बताए । ‘एकपक्षीय रूपमा अद्यावधिक भइरहेको छ । आफूसँग असहमत राख्ने पुराना सदस्यलाई बाहिर राखेर महाधिवेशन गराउन खोजिएको रूपमा हामीले बुझिरहेका छौं,’ उनले भने, ‘त्यसैले पनि यसअघि नवीकरण भएका सबैलाई मान्यता दिनुपर्छ ।’ 

नेता एनपी साउदले एकताका लागि सदस्यताको विषय पेचिलो बनिरहेको बताए । गतपुसमा नवीकरण भएका सबैलाई महाधिवेशनमा मान्यता दिनुपर्ने इतरपक्षको र अद्यावधिक नगरे सदस्यता नै नरहने भन्ने संस्थापन पक्षको अडानले एकतामा अप्ठ्यारो पारेको उनी बताउँछन् । ‘विशेष महाधिवेशनको कानुनी विवाद निरूपण भए पनि त्यहाँ सहभागी नभएका आधा हिस्साको राजनीतिक विषय अझै बाँकी छ, राजनीतिक एकता कायम गर्न १४ औं महाधिवेशन र विशेष महाधिवेशन मिलाएर एउटा संयन्त्र बन्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने, ‘यसमा सहमति भएपछि प्रक्रियाका विषयमा ठूलो समस्या छैन ।’ 

कोइरालानिकट नेता बद्री पाण्डे एकताको साँचो सभापति थापाकै हातमा रहेको बताउँछन् । उनी यसअघि १५ औं महाधिवेशनकै लागि भएको नवीकरणलाई कायम राखेर महाधिवेशनमा जानुपर्ने बताउँछन् । नवीकरण गरेका सबैलाई महाधिवेशनमा भाग लिन पाउने वातावरण निर्माण गराउन पनि आफूहरूले अद्यावधिक नगरेको उनको भनाइ छ । ‘विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेट्ने प्रयास सभापतिबाट हुने अपेक्षा छ । सर्वोपरि हात नै उहाँको छ । सिंगो पार्टीलाई एक बनाएर महाधिवेशनमा पुर्‍याउनुभयो भने एकताको ठूलो सन्देश जान्छ,’ उनले भने, ‘हिजोको दिनमा गिरिजाप्रसाद कोइरालाले पनि आवश्यकता ठानेरै शेरबहादुर देउवासँग एकता गर्नुभएको हो । आजको गिरिजाप्रसाद भनेको गगन थापा हो । हाम्रो अपेक्षा पनि चाँडै एकता होस् भन्ने हो ।’ 

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक र आन्तरिक असमझदारीको विषय अलग्गै रहेको बताए । पार्टी सदस्यको विवरणलाई डिजिटल नेटवर्कमा लैजाने विषय पार्टी हितमा नै रहेको उनी बताउँछन् । ‘अद्यावधिक भनेको राजनीतिक विवादको विषय होइन । पार्टीलाई डिजिटल नेटवर्कमा लगिएको हो । यसले कसैको पनि अहित गर्दैन,’ उनले भने, ‘यसले समग्र पार्टीलाई नै बलियो बनाउने हो ।’

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully