रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

भेटमा दुवै जनाले भारत–नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

Meeting between RSP President Lamichhane and Indian Home Minister Shah

काठमाडौँ — भारत भ्रमणमा रहेका सत्तारूढ दल रास्वपा सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री शाहसँग सभापति लामिछाने मंगलबार नयाँ दिल्लीमा भेटेका हुन् ।

भेटवार्तामा गृहमन्त्री शाहले गत फागुन २१ को आम निर्वाचनमा रास्वपाको जितका लागि लामिछानेलाई बधाई दिएका थिए । साथै, उनले नयाँ सरकारको सफलताका लागि भारत सरकारको तर्फबाट शुभकामना व्यक्त गरेको शाहको सचिवालयले जानकारी दिएको छ ।

भेटमा दुवै पक्षले भारत–नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको शाहको सचिवालयले एक्समा जानकारी दिएको छ ।

सभापति लामिछाने पाँच दिने भ्रमणका क्रममा पार्टीका केही नेतासहित सोमबार अपराह्न नयाँदिल्ली गएका थिए । भारतको सत्तारूढ दल भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन् ।

उनीहरुले मंगलबार भारतीय सत्तारुढ दल भाजपाका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका छन् । आजै भाजपा मुख्यालयमा सभापति लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । दुवै नेताले भेटमा राजनीतिमा जेन-जीको बढ्दो भूमिकाका बारेमा कुराकानी गरेका थिए । लोकतान्त्रिक सहभागिता र भविष्यको नेतृत्वमा जेन-जीहरूको भूमिकाबारे पनि उनीहरूबीच कुराकानी भएको थियो । 

सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन् । भेटमा विकास साझेदारी र नागरिक-नागरिक सम्बन्धमा छलफल भएको विदेशमन्त्री जयंशकरले एक्समा जानकारी दिएका छन् । 

भ्रमण टोलीमा पार्टी लामिछाने पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् । 

कान्तिपुर

Link copied successfully