रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नवीनबीच के-के कुराकानी भयो ?

दुवै नेताले भेटमा राजनीतिमा जेन-जीको बढ्दो भूमिका, उनीहरूको लोकतान्त्रिक सहभागिता र भविष्यको नेतृत्वबारे पनि कुराकानी गरेका छन् ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

What was the conversation between RSP President Lamichhane and BJP President Naveen?

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय सत्तारुढ दल भाजपाका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेको छ । मंगलबार भाजपा मुख्यालयमा लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरेको हो । 

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रेस विज्ञप्ति जारी गर्दै भेटघाटबारे जानकारी दिएका हुन् । 'भाजपालाई चिनौँ' कार्यक्रमअन्तर्गत रास्वपा नेतृत्व नयाँदिल्ली भ्रमणमा रहेको उनले बताएका छन् । 

प्रतिनिधिमण्डललाई स्वागत गर्दै भाजपा अध्यक्ष नवीनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनले दुई देशबीच नागरिकस्तरमा मात्र नभई सभ्यताको विरासत उस्तै रहेको बताए । साथै यस्ता भेटघाट र अन्तरक्रियाले रास्वपा र भाजपाबीच पार्टी-पार्टी सम्बन्ध बलियो बनाउने नवीनको भनाइ थियो । भेटमा अध्यक्ष नवीनले भाजपाको इतिहास, विचारधारा र संगठनात्मक संरचना र नागरिककेन्द्रित राजनीतिक सहभागिताबारे पनि चर्चा गरेका थिए । 

भेटमा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र कार्यकर्तास्तरमा पार्टीको समन्वयका बारेमा बुझेको थियो । 

चौथाइवालेका अनुसार नवीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले विकासकेन्द्रित शासनमा ध्यान दिएको बताएका थिए ।  

दुवै नेताले भेटमा राजनीतिमा जेन-जीको बढ्दो भूमिकाका बारेमा कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक सहभागिता र भविष्यको नेतृत्वमा जेन-जीहरूको भूमिकाबारे पनि उनीहरूबीच कुराकानी भएको थियो । 

What was the conversation between RSP President Lamichhane and BJP President Naveen?

भेटमा नवीनसँगै भाजपाका महासचिव अरुण सिंह र नेताहरू बाँसुरी स्वराज, विजय चौथाइवालेलगायत उपस्थित थिए । 

कान्तिपुर

Link copied successfully