आफू दलको नेताका लागि प्रतिस्पर्धा नगर्ने पनि केसीले पार्टी पदाधिकारीलाई औपचारिक रूपमा जानकारी गराएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दैलेख–१ बाट निर्वाचित सांसद बासना थापालाई अघि सार्न पार्टी पदाधिकारीहरुलाई सुझाएका छन् ।
दलको नेतामा सर्वसम्मति खोज्न आफूसँग छलफल गर्न आएका पदाधिकारी टोलीलाई युवा, नयाँ अनुहार, महिला र दुर्गम क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकाले थापालाई दलको नेता बनाउन सुझाएको केसीले बताए ।
आफू दलको नेताका लागि प्रतिस्पर्धा नगर्ने पनि उनले औपचारिक रुपमा जानकारी गराएका छन् । निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्र आन्तरिक व्यवस्थापन गरेर दलको नेता चयन गर्न नसकेको भन्दै चौतर्फी पार्टी नेतृत्वको क्षमतामाथि प्रश्न उठिरहेका छन् ।
‘हाम्रा पदाधिकारीहरु लोकप्रिय हुन खोजिरहनुभएकाले मैले युवा, महिला, दुर्गम क्षेत्र र प्रत्यक्ष निर्वाचित समेत भएकाले बासना थापालाई किन नगर्ने भनेर सु्झाएको हो,’ केसीले भने, ‘यो कुरा पदाधिकारीसँग मात्रै नभएर पार्टीको बैठकमा समेत राख्दै आएको छु ।’ उनले युवाबाटै दलको नेता बनाए विकल्पमा मुस्ताङबाट दुई पटक निर्वाचित भइसकेका योगेश गौचन थकाली हुन सक्ने बताए । नभए मधेशबाट प्रतिनिधित्व गर्ने कुनै एक सांसदलाई दलको नेता बनाउनुपर्ने केसीको भनाइ छ ।
दलको नेता चयन गर्न शुक्रबार सार्वजनिक भइसकेको निर्वाचन कार्यक्रम स्थगित गराएर पुनः सहमतिका लागि पहल थालिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुख्य रुपमा आंकाक्षी तीन जना केसी, भीष्म आङदेम्बे र मोहन आचार्यमध्ये एक जनालाई दलको नेता सर्वसम्मत गराउन उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
पदाधिकारीले तीन मध्ये एकजनालाई दलको नेता बनाउने मोटामोटी समझदारी गरेको दाबी गरेका छन् । त्यसलाई सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेर औपचारिक प्रक्रिया अघि बढाइने एक पदाधिकारीले बताए ।
