सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षको बैठक बस्दै

देउवा पक्षका अधिकांश नेता अदालतको अन्तिम फैसलापछि पार्टी एकताको पक्षमा उभिन थालेका छन् ।

वैशाख ५, २०८३

कुलचन्द्र न्यौपाने

Deuba faction meeting at Khadka residence after Supreme Court verdict

What you should know

काठमाडौँ — विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक आज बस्दै छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्न लागेको बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने नेता प्रकाशशरण महतले बताए । 

देउवा पक्षका अधिकांश नेता अदालतको अन्तिम फैसलापछि पार्टी एकताको पक्षमा उभिन थालेका छन् । उनीहरुले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकारेर आगामी १५ औं नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् । नेता महतले पार्टी एकताका लागि एउटा संयन्त्र बनाएर साझा धारणा तय गर्न संवाद थाल्नुपर्ने बताए । उनले अदालतको फैसला अनपेक्षित रहे पनि बृहत् पार्टी एकताको पक्षमा आफू रहेको बताए ।

बहुसंख्यक मानिस विशेष महाधिवेशनमा सहभागी छैनन् । उनीहरु सबैलाई एकतामा ल्याउन संयन्त्रमार्फत साझा धारणा बनाउन सकिन्छ । - प्रकाशशरण महत, कांग्रेस नेता‘बहुसंख्यक मानिस विशेष महाधिवेशनमा सहभागी छैनन् । उनीहरु सबैलाई एकतामा ल्याउन संयन्त्रमार्फत साझा धारणा बनाउन सकिन्छ । तर, हामीले जितिहाल्यौं, आए आओ, नआए नआओ भन्ने स्थिति भयो भने त्यसले पार्टी झन् ध्वस्त हुन्छ,’ महतले भने, ‘अब कसरी जाने भन्नेबारेमा हामी आज बसेर एउटा धारणा तय गर्छौं ।’

देउवा पक्षभित्रै नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशमान सिंह, शशांक कोइरालासहितका नेता विशेष महाविधेशनलाई सहजै स्वीकार्ने पक्षमा देखिएका छैनन् । निधिले विशेष महाधिवेशनको नाममा स्वयं घोषणा गरिएको केन्द्रीय कार्यसमितिलाई आफूले स्वीकार नगर्ने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै शुक्रबार राति कान्तिपुरसँग कुरा गर्दै उनले आफ्नो धारणा राखेका थिए । उनले पनि समूहका सबै नेतासँग बसेर छलफल गरेपछि साझा धारणा तय हुने बताएका छन् । 

विशेष महाधिवेशनको पक्षमा नउभिएको नेता शेखर कोइराला पक्षको पनि आधिकारिक धारणा आइसकेको छैन । तर, उक्त समूहले केही समयअघिदेखि नै तत्कालीन कार्यबाहक सभापति खड्काले बोलाएको समानान्तर गतिविधिमा सहभागी हुन र विचारको स्वामित्व लिन छाडेको छ । 

अब फेरि पार्टी एकतालाई असर पर्ने छुट्टै गतिविधिमा सहभागी हुने र लाग्ने कुरा हुन्न । - जीवन परियार, कांग्रेस नेताफैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा नेता कोइरालासँग पनि छलफल हुने नेता महतले दाबी गरे । उनका अनुसार पहिलो चरणमा केही सीमित शीर्ष नेताहरुबीच छलफल हुनेछ र त्यसपछि नेता कोइरालासँग समेत अर्को बैठक गरेर साझा धारणा बनाइनेछ । 

कोइराला निकट नेता जीवन परियारले भने आफ्नो समूह तत्कालीन कार्यवाहक सभापति खड्का समूहको बैठकमा सहभागी नहुने बताए । संस्थापन पक्षसँग संवाद गरेर पार्टीको १५ औं महाधिवेशनमा एकताका साथ जानेबारेमा अब छलफल हुनुपर्ने उनको भनाइ छ । कोइरालाका तर्फबाट परियार र अर्का नेता बद्री पाण्डेले सभापति गगन थापासहित संस्थापन पक्षका पदाधिकारीसँग छलफल गरिरहेका छन् । 

‘अब सभापतिले ठूलो छाती बनाएर एकताका लागि पहल थाल्नुपर्छ, एक वर्षपछि हुने स्थानीय निर्वाचन आउँदै छ । त्यसलाई केन्द्रमा राखेर भए पनि सबै पक्ष र नेतासँग छलफल गर्नुहोस् भन्ने हाम्रो धारणा रहेकै छ,’ उनले भने, ‘अब फेरि पार्टी एकतलाई असर पर्ने छुट्टै गतिविधिमा सहभागी हुने र लाग्ने कुरा हुन्न ।’

सभापति थापाले भने शनिबारदेखि नै नेताहरुसँग संवादमा जुट्ने बताएका छन् । उनले राजधानीमा उपलब्ध नेतासँग भेटेर  र राजधानीबाहिर रहेका नेतासँग टेलिफोनबाट संवाद गर्ने जानकारी गराएका छन् । सर्वोच्चको फैसला आउनुअघि बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकताका लागि संवाद थाल्न थापालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । उनले विराटनगरमा रहेका कोइरालासँग फर्केलगत्तै कुराकानी गर्ने बताएका छन् ।

यता, खडका निकट नेता रामहरि खतिवडाले फैसलापछि पार्टी एकताकै पक्षमा उभिनुपर्ने बताए । ‘अदाललते अन्तिम फैसला दिइसकेको छ, अब दायाँबायाँ गरेर काम छैन, पार्टीलाई सबै मोर्चाबाट सबल बनाउन एकताको पक्षमा जानुपर्छ । एकताका लागि नेतृत्वले पहल सुरु गरोस् भन्ने नै मेरो धाराणा हो,’ खतिवडाले भने ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully