महाधिवेशनका लागि सदस्यता अद्यावधिक अभियान आजदेखि सुरू
काठमाडौँ — कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गरेर मंगलबारदेखि देशव्यापी रूपमा क्रियाशील सदस्यताको अद्यावधिक अभियान थालेको छ । सभापति गगन थापाले काठमाडौंको-३० को वडा कार्यसमितिको कार्यालयमा गएर सदस्यता अद्यवाधिक गराएका छन् । थापाले आफ्नो सदस्यता अद्यावधिक गराएर देशव्यापी रूपमा अभियान सुरू भएको घोषणा गरेका छन् ।
कांग्रेसले सम्वन्धित वडामै गएर सदस्यता अद्यावधिक गर्ने कार्यलाई 'जरा अभियान' नाम दिएको छ । विशेष कारणबाहेक सम्बन्धित वडामै गएर सदस्यता अद्यावधिक गर्न लागेको महामन्त्री गुरुराज घिमिरेले बताए । यसअघि कांग्रेसका करिब ९ लाख सदस्यता थिए । २१ फागुनको निर्वाचनमा १६ भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको संख्याभन्दा पनि कम मत प्राप्त भएपछि सदस्यता अद्यावधिक गरेर वास्तविक सदस्यताको पहिचान गर्न खोजिएको बताए ।
भविष्यमा सबै तहका निर्वाचनमा पार्टीका तर्फबाट छनोट हुने उम्मेदवार प्राइमरी इलेक्सनबाट गर्ने नीति गत पुसको महासमितिबाट पारित भएकाले त्यसलाई व्यवस्थित गर्न कांग्रेस आइडी बनाउन खोजिएको हो । त्यसका लागि सम्बन्धित सदस्यले वडामै गएर ‘बायोमेट्रिक’ नै गराउनुपर्नेछ ।
विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व स्वीकार नगरेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पुराना सदस्यता खारेज गरेर नयाँ अद्यावधिक गर्न खोजिनुलाई षडयन्त्र भन्दै बिरोध गरेको छ । देउवा समूहको नेतृत्व गरेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खडकाले उक्त अभियानको विरोध गर्दै सोमबार कार्यवाहक सभापतिकै हैसियतमा ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यलय, बीपी स्मृति भवन, ललितपुर, नेपाल’ भएको लेटरहेड प्रयोग गरी विज्ञप्ति निकालेका थिए ।
उनले यसअघि वैशाख २८–३१ गते १५ औं महाधिवेशन हुने भनेर पुरानो नवीकरण र नयाँ क्रियाशील सदस्यताको वितरण भइसकेकाले त्यसलाई नवीकरण गर्ने भन्ने कुरा पूर्वाग्रही र आपत्तिजनक रहेको बताएका छन् ।
महामन्त्री घिमिरेले भने पुराना सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न खोजिएको मात्रै बताए । ‘जो स्वेच्छाले सदस्यता हुन चाहनुहुन्न उहाँहरू सक्रिय हुनुहुन्न, अभिलेखमा रेकर्ड राख्ने काम हुन्छ । जे हुन चाहनुहुन्छ, उहाँहरूको व्यवहारिक समस्या छ भने पनि हामी हेरेर हदैसम्मको लचक हुन्छौं,’ उनले भने,‘पुराना नेताहरू भनेका हाम्रो धरोहर र सम्पत्ति हुनुहुन्छ । उहाँहरूलाई विशेष अनुरोध पनि गर्छौं । लामो समय योगदान गर्नुभएका नेताहरूलाई व्यवहारिक रूपमा सदस्यता नवीकरणका लागि सजिलो पनि बनाइदिन्छौं ।’
सदस्यता अद्यावधिक गर्ने अभियान वैशाख मसान्तसम्म चल्नेछ । योसँगै पार्टीका अरू गतिविधि पनि सञ्चालन हुनेछन् । त्यसका लागि पार्टीले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा नै प्रतिनिधि खटाइसकेको छ ।
सदस्यता नवीकरण अभियान सकिएपछि भाद्र २ मा वडा अधिवेशन सुरू हुनेछ । भदौ ७ मा गाउँ-नगर, भदौ १७ मा प्रदेशसभा क्षेत्रीय, भदौ २४ मा प्रतिनिधिसभा क्षेत्रीय, एक निर्वाचन क्षेत्र मात्रै रहेको हकमा जिल्लाको समेत त्यसै दिन अधिवेशन हुनेछ । त्यसैगरी असोज २ र ३ मा जिल्ला, असोज ७ र ८ मा प्रदेश हुँदै असोज १६–१९ मा केन्द्रीय महाधिवेशन हुने तालिका आएको छ ।
